काठमाण्डौं । ‘भ्वाइस अफ नेपाल सिजन–३’ को आज भएको प्रतिस्पर्धामा कोचहरु आफूबिरुद्द पूर्वाग्रही भएको एक जना प्रतियोगीले आरोप लगाएका छन् ।
आज शुक्रबार राजधानीमा भएको ब्याटल राउण्डको पाँचौं दिनमा टीम दीप श्रेष्ठबाट अरमान लामा र जेनिस राईले गायक शिव परियारको ‘आँसुको अर्थ के थाहा रुवाई जानेलाई’ भन्ने गीतमा प्रतिस्पर्धा गरे । तर आआफ्नो प्रस्तुतिमा अरमानले भन्दा जेनिसले उच्च नोटहरुमा स्वर घुमाएर बहुमुखी प्रतिभा देखाएको भनी सबै कोचहरुले तारिफ गरेपछि अरमान निराश देखिएका थिए । अझ अन्तमा कोच दीपले पनि जेनिशलाई चुनेपछि अरमान लामा प्रतियोगिताबाट बाहिरिन पर्यो ।
आफू नकआउट चरणमा जान नपाएपछि पर्दापछाडि आएर अरमानले भने, “जेनिशले गरेको हरकत [उच्च नोट र अप्ठ्यारो ठाउँमा पनि स्वर तान्ने र घुमाउन सक्ने कला] सुरुमा मैले गरेको हुँ । जेनिशले मेरो नक्कल गरेको हो।”, उनले तर ‘जजेज’ हरु उल्टो जेनिशप्रति उदार भएको कारण बाहिरिन परेको गुनासो पोखे ।
आजको भएको अर्को प्रतिस्पर्धामा टीम राजुबाट एउटै ‘जनरा’ मा गीत गाउनेहरु अभिषेक खड्की र सोनाम शेर्पाले सबिन राईको ‘कोमल त्यो तिम्रो मनमा’ आ-आफ्नो प्रतिभा प्रदर्शन गरे । कोचहरु प्रमोदले सोनामलाई र दीप र तृष्णाले अभिषेकलाई छाने पनि अन्तमा राजुले राम्रो नोटको आधारमा भन्दै सोनामलाई छाने । अतः अभिषेक खड्की प्रतियोगिताबाट बाहिरिएका छन् ।
उता टीम प्रमोदबाट मेलिना मैनाली र प्रभु बिक्रम थापाले चलचित्र अंगरक्षकको उदित नारायण र साधना सरगमको युगल गीत ‘तिमीलाई माया गर्छु’ मा प्रतिस्पर्धा गरे । कोच दीपले प्रतिस्पर्धामा प्रभु खरो उत्रिएको भन्दै उनको तारिफ गरेपनि कोच राजु र कोच तृष्णाले मेलिनाको ‘कन्फिडेन्स’ र ‘परफर्मेन्स’ को तारिफ गरे । तर अन्तमा कोच प्रमोदले मेलिनालाई छानेपछि प्रतियोगिताबाट प्रभुको बहिर्गमन भएको छ ।
आज भएको अन्तिम प्रतिस्पर्धामा टीम तृष्णाबाट श्रीया नेपाल र सन्तोष कुमार परियारले ‘कान्छी हे कान्छी’ गीतमा कोच र दर्शकहरु सबैलाई नचाए । कोच राजु र कोच दीपले सन्तोषको निकै प्रशंसा गरेपनि अन्तमा कोच तृष्णाले भविष्यको बहुमुखी संभावनाको रुपमा श्रीयालाई छानेपछि सशस्त्र प्रहरी सन्तोष कुमार परियार नकआउट चरण प्रवेश हुन नपाई ‘नकआउट’ भए ।
प्रतियोगिताको ब्याटल राउण्डको छैठौं दिन, अर्थात एपिसोड १४, भोली शनिवार हुँदैछ ।