काठमाण्डौं – भ्वाइस अफ नेपाल–सीजन ३, ब्याटल राउण्डको आज सातौं दिन टीम प्रमोदबाट सुदिता राई र टीम तृष्णाबाट अभिषेक गिरी नकआउट चरणमा प्रवेश गरेका छन् ।
“मान्छेको मायाँ यहाँ खोलाको पानी जस्तो …” प्रतियोगिताको सुरुमा नारायण गोपाल र ज्ञानु राणाले गाएको यो गीतमा सुदिता राई र अभिषेश बराइलीको जोडदार भिडन्त भयो । तर अभिषेकले राम्रो गर्दागर्दै पनि अन्तरामा गीतको बोल नै बिर्सेको भन्दै प्रमोदले सुदितालाई छानेका हुन् ।
उता टीम तृष्णाबाट भने “आज हाम्रो भेट भाको दिन” भन्ने चीरपरिचित गीतमा कर्णराज गिरी र समीरा थपलिया प्रतिस्पर्धा गरे । युगल गीतमा दुवै जोडी गाउँदै नाचे, नाच्दै गाए, र दर्शकलाई निकै मनोरञ्जन दिलाए । तर कर्णराजको स्वर, गायकी र शरीरको भाव मात्र नभएर सबै प्रस्तुति राम्रो भएको भन्दै कोच तृष्णाले कर्णराज गिरीलाई अर्को चरणमा भित्र्याएकी छन् ।
आजको ब्याटल राउण्डको तेस्रो प्रतियोगिता थियो टीम राजुबाट कुशल श्रेष्ठ र सन्दीप राईले दि एज ब्याण्डको शब्द रचनामा जीवन गुरुङले गाएको “नचाहेको होइन तिमीलाई” भन्ने गीतमा आआफ्नो प्रतिभा देखाउने मौका पाए । तर उक्त गीत सन्दीपको आफ्नो जनराको नपरेको हुँदा उनलाई निकै गाह्रो परेको भएपनि त्यसलाई कोच राजुले अर्को चरणको लागि कुशललाई नलिएर सन्दीपलाई नै छानेका छन् ।
आजको प्रतियोगिताको ‘सरप्राइज वीनर’ बनेका छन् वीनर कुशल श्रेष्ठ । निकै कठिन निर्णयको घडीबाट उनी टीम राजुबाट बाहिरिए पनि अर्का कोच दीप श्रेष्ठले ‘स्टिल गर्न पाउने प्रावधान’ बाट कुशललाई छानेपछि प्रतियोगिताबाट बाहिरिएका कुशल अब अर्को चरणमा जान पाउन भएका छन् ।
प्रतियोगिताको अन्तमा टीम दीपबाट शोभा तामाङ र सूर्य थापा मगरले कमल खत्री र बुनू राईको “कोरेर प्रेम पत्र मायालूलाई दिन किन किन सकिन: भन्ने गीत कडा प्रतिस्पर्धा गरे । अन्य तीन जना कोचहरु राजु, तृष्णा र प्रमोदले शोभालाई नै बढी तारिफ गरेको भएपनि अन्तमा कोच दीपले शोभालाई लिएपछि सूर्य थापा मगर अर्को चरणका लागि छानिएका छन् ।
प्रतियोगितको १८औं श्रृङखला, अर्थात ब्याटल राउण्डको आठौं दिन आइतबार हुँदैछ ।