April 19, 2025, Saturday
२०८२ बैशाख ६
1:37:26 pm

भ्वाइस अफ नेपाल सिजन ३ को ब्याटल राउण्ड सुरुः टीम राजुका दुवै प्रतिस्पर्धी बचे 

11.1K

काठमाण्डौं । भ्वाइस अफ नेपाल सीजन ३ प्रतियोगिताको ‘ब्याटल राउण्ट’ आज शुक्रबारदेखि राजधानीमा सुरु भएको छ । ‘ब्लाइण्ड अडिसन राउण्ड’ बाट टीम दीप श्रेष्ठ, टीम प्रमोद खरेल, टीम राजु लामा र टीम तृष्णा गुरुङले आ-आफ्नो समूहमा १६/१६ जनालाई अनुवन्ध गरेपछि यस हप्ताबाट ‘सिङ्गिङ ट्यालेण्ट हण्ट’ प्रतियोगिता ब्याटल राउण्डमा प्रवेश गरेको हो । 

ब्याटल राउण्डमा एकै समुहका दुई जनाले एउटै गीत गाएर आफूलाई अर्को चरणका लागि सुरक्षित पार्नु पर्ने हुन्छ । ब्याटल राउण्डमा आफ्नै समूहका दुई प्रतिस्पर्धीहरू मध्ये कसलाई छान्ने भन्ने अन्तिम फैसला कोचकै हातमा हुन्छ | 
आज भएको ब्याटल राउण्डको पहिलो चरणमा टीम राजुबाट निहारिका ज्ञवाली र तारा श्रीष मगर, टीम दीपबाट सुजिता योञ्जन र विवेक रुचाल, टीम तृष्णाबाट सन्देश सिटौला र टोपराज राई, र टीम प्रमोदबाट सिजात्सु श्रेष्ठ र उत्सव नेपाल प्रतियोगितामा उत्रे । 

टीम प्रमोदबाट सिजात्सु श्रेष्ठ र दृष्टिविहीन प्रतियोगी उत्सव नेपालले गायक दीपक बज्राचार्यको ‘मायाको डोरीले’ गाएर आफ्नो उत्कृष्टता प्रदर्शन गरेपनि निकै खारिएका उत्सवको अघि कलिली सिजात्सुको केही लागेन, उनी प्रतियोगिताबाट बाहिरिइन् । त्यस्तै, एकै शैली (जनरा) का गीत गाउने टीम दीपका सुजिता योञ्जन र विवेक रुचालले उदय र मनिला सोताङको ‘माया नमार’ गीत गाए । प्रतियोगिताबाट विवेक बाहिरिए । 

Advertisement

आजको प्रतियोगिताको सम्भवतः सबैभन्दा कडा प्रतिस्पर्धा टीम तृष्णाबाट सन्देश सिटौला र टोपराज राईबीच भयो । दुवैले गायक सञ्जिव सिंहको ‘सुवास तिम्रो आएर मलाई किन छुन्छ’ गीत गाएर एकार्कालाई कडा टक्कर दिए भने दर्शकदिर्घामा पनि निकै रौनकता छायो । तर टोपराजको प्रस्तुति र आवाजमा अझै बढी दम देखिएपछि आफू प्रतिभाशाली हुँदाहुँदै पनि सन्देश सिटौला प्रतियोगिताबाट बाहिरिन पर्यो

आजका प्रतियोगीहरुमा टीम राजुकी निहारिका ज्ञवाली सबैभन्दा भाग्यमानी सावित भइन् । उनी प्रतियोगिताबाट बाहिरिए पनि आफ्नो प्रतिभाको कारण अर्का कोच प्रमोद खरेलले आफ्नो टीममा लिएका छन् । निहारिकाले आफ्नै टीमकी एक अर्की अब्बल प्रतिस्पर्धी तारा श्रीष मगरसित ‘सधैं आइरहन्छ’ गीतमा उत्कृष्ट गायकी प्रदर्शन गरेपछि कोच राजुलाई कसलाई लिने भनी निर्णय गर्न कठिन पर्यो । तर कोच राजुले आफ्नो सल्लाहकारबाट पनि सल्लाह लिएपछि अन्तमा तारा श्रीष मगरलाई रोजे । 

अतः आजको प्रतिस्पर्धाबाट विवेक रुचाल, सन्देश सिटौला र सिजात्सु श्रेष्ठ बाहिरिएका छन् । भोली आइतबार पुनः चार वटै टीमहरुबाट आठ जना प्रतिस्पर्धीहरु स्टेजमा उत्रिंदैछन् ।