लन्डन । नेपालका चर्चित गायक खेम सेन्चुरी र अन्जु पन्तलगायतका कलाकारहरू बेलायत आउने भएका छन् । मगर संघ यूकेको आयोजनामा आउँदो जुन १४ तारिखका दिन बेलायतमा हुने नेपाली ओपन कन्सर्टका लागि उनीहरू आउन हुन् ।
आयोजकले बुधबार एक पत्रकार सम्मेलन गरी सेञ्चुरी र पन्तसहितको कलाकारहरू बेलायत आउने र भ्वाइस अफ नेपाल सिजन ३ को टप १२ मा पर्न सफल युवा कलाकार विजय ठाडाले पनि प्रस्तुति दिने जानकारी गराएको छ ।
यस्तै, कार्यक्रममा बेलायतका स्थानीय कलाकारहरूले नृत्य प्रस्तुत गर्नुका साथै मगर संघ यूकेले हरेक वर्ष आयोजना गर्ने मगर गट ट्यालेण्टका विजेताहरूले पनि प्रस्तुति दिनेछन् ।
‘म्यूजिक फर युनिटी’ श्लोगनका साथ बिहान ११ देखि बेलुकी ८ बजेसम्म हुने कार्यक्रममा बालबालिकाका लागि मनोरन्जनात्मक खेलका साथै युवा, बयस्क र ज्येष्ठ नागरिक सबैलाई मनोरन्जन दिने सांस्कृतिक कार्यक्रम प्रस्तुत हुने आयोजकले जनाएको छ ।
फार्नब्रो रग्बी फुटबल क्लबमा हुने कार्यक्रममा भाग लिनका लागि १२ देखि १७ वर्षसम्मका बालबालिका र ६७ वर्ष माथिका ज्येष्ठ नागरिकका लागि अग्रिम टिकट खरिद गरे जनही २० पाउन्ड र सोही दिन किन्दा २५ पाउन्ड प्रवेश शुल्क तोकिएको छ । १७ वर्षमाथि ६७ वर्षसम्मका लागि अग्रिम टिकट किन्दा जनही २५ पाउन्ड र सोही दिन खरिद गर्दा ३० पाउन्ड टिकट शुल्क तोकिएको छ । १२ वर्ष मुनी बालबालिकाका लागि प्रवेश निःशुल्क राखिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरे रहनेछन् भने बेलायतका स्थानीय निकायका मेयर, उपमेयर, काउन्सिलरहरूका साथै बेलायतस्थित विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधिहरुको आतिथ्यता रहनेछ ।
सन् २००२ सालमा स्थापना भएको मगर संघ यूकेले बेलायतमा नेपाली गीत, संगीत, कला, संस्कृतिको जगेर्ना र प्रवद्र्धन गर्ने उद्देश्यले सन् २००६ देखि हरेक वर्ष नेपाली ओपन कन्सर्ट आयोजना गर्दै आएको छ ।
कार्यक्रममा मगर महिला संघ यूकेले राफल ड्र सन्चालन गर्नेछ । राफल ड्रमा २०० पाउन्डदेखि ७०० पाउन्डसम्मको उपहार राखिएका छन् ।




