काठमाडौं । बहुप्रतिक्षित नाटक “मिलारेपा” को विशेष प्रेस शो सम्पन्न गरिएको छ। आइतबार साँझ काठमाडौंको थापागाउँस्थित मण्डला थिएटरमा आयोजित विशेष प्रस्तुति मुख्यतः पत्रकार, मिडिया प्रतिनिधि तथा कला समीक्षकहरूका लागि मात्र राखिएको थियो, जसको उद्देश्य नाटकको कलात्मक दृष्टि, मर्म र सन्देशको गहिरो अनुभव साझा गर्नु रहेको आयोजक टिमले जनाएको छ।
नाटक “मिलारेपा” ११औँ शताब्दीका तिब्बती सिद्ध कवि, योगी तथा बौद्ध धर्मका महान् साधक मिलारेपाको जीवनकथामा आधारित छ। मिलारेपाले प्रतिशोध र पापकर्मको जीवनबाट आत्मसाक्षात्कार हुँदै ज्ञानप्राप्तिको शिखरसम्मको यात्रा तय गरेका थिए। नाटकका लेखक चाड ङ्योन हेरुकका अनुसार यो कथा एक सामान्य मानवले कसरी आफ्नो अन्तरमनको अन्धकार पार गर्दै आध्यात्मिक उज्यालोतर्फ यात्रा गर्छ भन्ने अद्भुत रूपान्तरणको कथा हो।


कार्यक्रममा नाटकका परिकल्पनाकार तथा निर्देशक बुद्धि तामाङले भन्नुभयो, “यो नाटकले मिलारेपाको जीवनमार्फत पापकर्मका परिणाम, पश्चात्ताप र साधनाबाट हुने आत्मरूपान्तरणका गहिरा भावनात्मक पक्षहरूलाई नाटकीय रूपमा चित्रण गरेको छ। नाटकले दर्शकलाई आत्मचिन्तन र आत्मबोधको बाटोतर्फ प्रेरित गर्नेछ।”
नाटकको परिकल्पना र निर्देशन बुद्धि तामाङ र उमेश तामाङले संयुक्त रूपमा गर्नुभएको हो भने नाट्य रूपान्तरण रविन तामाङले गर्नुभएको हो। मण्डला थिएटरमा लामो समयदेखि तयारीमा रहेको यो नाटकलाई मञ्चमा उतार्न कलाकारदेखि प्राविधिक टिमले करिब तीन महिनादेखि निरन्तर अभ्यास र परिष्करण गरिरहेको बताइएको छ।
आजको प्रेस शोमा उपस्थित मिडिया प्रतिनिधि तथा रंगकर्मीहरूले नाटकको मञ्च सजावट, प्रकाश–संयोजन, संगीत र अभिनयको सशक्तता प्रशंसा गरेका थिए। विशेषगरी मिलारेपाको आध्यात्मिक संघर्षलाई प्रस्तुत गर्ने क्रममा प्रयोग गरिएको भिजुअल डिजाइन र ध्वनि प्रभावले दर्शकलाई ध्यानमग्न बनाएको प्रतिक्रिया प्राप्त भएको छ।


नाटक टिमका अनुसार “मिलारेपा” यही कात्तिक १८ गतेदेखि नियमित रूपमा मञ्चन हुनेछ र मङ्सिर २१ गतेसम्म निरन्तर चल्नेछ। नाटक हरेक साँझ ५:३० बजे मञ्चन हुनेछ भने शनिबार दिउँसो १ बजे अतिरिक्त शो पनि आयोजना गरिनेछ। मण्डला थिएटरले सोमबारलाई बिदा दिनुका साथै अन्य दिनहरूमा टिकट आम दर्शकका लागि खुला गर्ने जनाएको छ।
मिलारेपाको जीवनमा आधारित यस नाटकबाट मण्डला थिएटरले नेपाली रंगमञ्चमा आत्मचिन्तन, आध्यात्मिकता र जीवन–रूपान्तरणका विषयमा गहिरो विमर्श सुरु हुने अपेक्षा गरेको छ।