March 12, 2025, Wednesday
२०८१ फाल्गुन २८
1:37:26 pm

टिकटकमा अनेक हर्कत गरेर भाइरल भएकाहरुलाई म्युजिक भिडियो खेलाउने काम बन्द गर्नुपर्छ: अजित रुपाबुङ

5.3K

अजित रुपाबुङ अमेरिकामा बसेर साहित्यका विभिन्न विधामा कलम चलाउँछन् । भर्खरै मात्र उनको आधुनिक गीत ‘जूनतारा’को म्युजिक भिडियो सार्वजनिक भएको छ । राककृष्ण ढकालको आवाज रहेको सो गीतको संगीत सुनिर राईको रहेको छ । रंगमञ्चका कलाकार लक्ष्मी बर्देवा र बिजय बरालले अभिनय गरेको सो म्युजिक भिडियोलाई लक्ष्मी बर्देवा र जिवन भट्टराईले संयुक्त रूपमा निर्देशन गरेका हुन् । यसै विषयमा अजितसँग नेपाल मामिलाका लागि जनक कार्कीले गरेको कुराकानी :

‘जूनतारा’ गीतको म्युजिक भिडियो गएको हप्ता मात्र रिलिज भएको छ । यो गीत कसरी जन्मियो ?

– सुरुमा यो मुसलसल गजलको रुपमा कोर्दै थिएँ तर भाव गम्भीर रुपमा मोडिदै गयो । मैले लेखेको अन्य गजलहरु भन्दा यो पृथक बनेको महसुस गरेँ, त्यसैले गीतमा रुपान्तरण गरेर मास मिडियामा जाने संकल्प गरेँ । फलस्वारुप जूनतारा’ गीतको जन्म भयो ।

Advertisement

गीत सुन्ने होइन हेर्ने जमाना आयो । गीत सुन्ने मात्र हुँदा गीतको महत्व अर्कै थियो, हेर्ने समय आएपछि गीतको स्तर पनि घट्दै जान थालेको छ, यस समयलाई कसरी मुल्यांकन गर्दै हुनुहुन्छ ?

–समयसँगै चल्नुपर्ने प्राकृतिक नियम त भूगोलको उत्पतिदेखि नै हो । यो कसैले नकार्न सक्दैन र सक्ने पनि छैन । गाउँघर, टोलतिर सिमित रहेको गीत रेडियोको अविष्कारसँगै मास मिडियामा प्रवेश गर्‍यो। त्यो समय गीतको सुन्ने जमाना थियो । टेलिभिजनको अविष्कारसँगै गीत सुन्ने र हेर्ने ट्रेण्डमा रुपान्तरण भयो । पछि युट्युवको ट्रेनिडङसँगै गीत हेर्ने बन्यो । हुन त अटो मोवाईलमा अझै पनि गीत सुन्छौँ नै तर मास अडियन्समा पुग्न हेर्ने गीत (म्युजिक भिडियो) हुनै पर्छ । अब पहिला गीत कतिले सुनेर गुनगुनाए ? रेडियोबाट कतिपटक घन्कियो ? आदि तत्थ्यलाई केन्द्र बनाएर गीत सफल वा असफल भएको मूल्यंकन गरिन्थ्यो । त्यस्तै अहिले युट्युवमा कति धेरै भ्युज भयो वा गीत कति भाईरल भयो ? भन्ने आधारमा गीतको सफलता असफलता मापन गर्ने जमाना आएको छ । त्यो भएपछि गीतलाई कालजायी बनाउने चेष्टा गर्नुको सट्टा प्रायः सर्जकहरु भाईरल कसरी बनाउने ? कसरी धेरै भन्दा धेरै भ्युज बटुल्ने? भन्नेतर्फ केन्द्रित हुन्छन् । यसरी गीतको स्तर खस्कँदै गएको छ । मेरो गीतको सवालमा भने मैले त्यो गरेको छैन, जो अन्य गीत सर्जकहरुले गर्नु हुँदैछ । मैले शब्द संयोजनदेखि संगीतकार, गायक र यो गीतको म्युजिक भिडियोमा को मोडल राख्ने ? भन्नेसम्म गहन बिचार गरेर काम गरेको छु । यो मेरो म्युजिक भिडियो ज–जस्ले हेर्नुहुन्छ, एउटा ट्राजिक लघु चलचित्र हेरेको आभाष गर्नुहुनेछ ।

सदाबहार गीत भन्ने बित्तिकै हामीले पुराना गीतलाई मात्र सम्झिन्छौं, पछिल्लो समय किन सदाबहार गीत जन्मिन सकेका छैनन् ?

–पुराना सबै गीतहरु सदाबाहर छैनन्, तर प्राय छन् । त्यो समय गीत नै थोरै उत्पादन हुन्थे र स्रोता वर्गले जस्तो गीत आए पनि लामो समय सुन्न विवश हुन्थे । अहिले जस्तो त्यो समय दिनका दिन दर्जनौं गीत रिलिज हुँदैन थिए । गीत सदाबहार बन्नुमा शब्द संयोजनको प्रमुख भूमिका हुन्छ, त्यसपछि संगीत र गायन कौशलको । बिना भावको गीतमा मिठो संगीत भरेर कोकिलकण्ठ भएका गायक गायिकालाई गाउन दिँदैमा गीत सदाबहार बन्दैन । अहिले गीतको स्तर खस्कनुको एक प्रमुख कारण पनि बलियो शब्द संरचना नहुनु हो । गीत अनुभूतिको गेयात्मक अभिव्याक्ति हो । गीतमा शब्द संरचना बलियो हुनुपर्‍यो । अचेल बलियो शब्द संरचना नभएको गीत फटाफट आउदा कति राम्रा गीतहरुले बजार पाइरहेको छैन, यस्तै कुराहरुले सदाबहार गीतको हाहाकार व्याप्त बन्दै गएको जस्तो लाग्छ ।

‘जूनतारा’ गीतको म्युजिक भिडियोको पोस्टर

साहित्यको आधुनिक माध्यम फिल्म र गीत भएको छ, गीत नसुन्ने खोज्दा नपाइन सक्छ तर कविता पढ्नेहरू खोज्नै पर्ने हुन्छ । यसरी कविताको पाठक घट्दै जानुको कारण के पाउनुहुन्छ ?

– यो एकदमै चिन्ताजनक विषय हो । कुनै फ्लिम हेर्दा एउटा कथा त बुझिएला तर पुस्तक अध्यान गर्दाको जस्तो फाईदा लिन सकिदैन । अडियो बुकको ईन्ट्रीले पनि पठन संस्कृति खस्केको छ । पुस्तक अध्ययन गर्दा मिल्ने शब्द भण्डार, शुद्ध हिज्जे, पठन गतिमा तिब्रता आदि फिल्म हेर्दा वा अडियो बुक सुन्दा प्राप्त हुँदैन । कवितात्मक कृतिहरु भन्दा पनि आलेख, अख्यान, कथा आदि साहित्यिक कृतिको पाठक पाउन निकै कठिन हुन थालेको छ । पठन संस्कृति खस्कँदै जानुमा ईन्टरनेट र वेतुकका क्याची एप्सहरु सर्वशुलभ हुनु नै प्रमुख कारण हो । पहिला ईन्टरनेट र एप्सहरु सर्वशुलभ नभए पनि टिभीमा डिभिडी जडान गरेर मनपरी मुभी हेर्ने चलन थियो, त्यो समयदेखि नै कतिले पठन क्रियालाई तिलाञ्जली दिएका थिए । मेरो विचारमा घरमा पठन संस्कृति विकास गर्ने हो भने जस्तै आधुनिक प्रविधि भित्रिए पनि योङ रिडरहरु पुस्तकतर्फ आकर्षित हुन्छन् जस्तो लाग्छ, तर आजकल प्रायको घरमा पुस्तक हुँदैहुँदैन । मेरो हकमा भने हर रात सुत्न अघि पुस्तकको एकदुई पाना नपढी सुत्न गाह्रो हुन्छ ।

यहाँको ह्रुदयमा काव्यिक चेतको विकास कसरी भयो ?

– बाबा प्रायः गुणरत्न वाचान गरी रहनुहुन्थ्यो । म प्रायः बाबाको समिप्यमा हुन्थेँ । मलाई पनि बाबालाई जस्तै पढ्न खुब जाँगर चल्थ्यो । पढ्न जान्ने भएपछि मैले पनि पढेँ । पछि बाबाले ‘समुन्द्र लहरी’ किन्नुभयो, त्यो मलाई खुब चाखिलो लाग्यो, दोहोरÞ्याई दोहोर्‍याइ तेहेर्‍याइ पढेँ । यसरी ममा काव्यिक चेतनाको विकास मधुमासको मञ्जरी झैँ अंकुरायो । पाठ्याक्रममा समावेश साहित्यिक कथा कविताहरुले पनि ममा काव्यिक चेतना जगाउन ठूलो भूमिका खेलेको छ । म प्रायः कथा, आलेख आदि लेखनमा रुची राख्छु ।

विदेशमा बस्ने गीतकारलाई विदेशमा कमाएको पैसा खर्च गरेर गीत रेकर्ड गर्ने, महँगो म्युजिक भिडियो बनाउने, गीतको स्तर कम हुने आदि इत्यादि आरोप लाग्ने गरेको छ, यस आरोपलाई कसरी हेर्नुभएको छ ?

– यो आरोप कति आरोप मात्रै भए पनि कति सत्यता पनि हो । ७०/८० प्रतिशत गीत संगीत, कला, साहित्यका कृतिहरु डायसपोराका सर्जकहरुले उत्पादन गर्दछन् । नेपालमा रहनुहुने कलाकर्मीहरुले डायसपोरामा रहेको सर्जकहरुसँग नेपालमै रहेको सर्जकहरुसँग भन्दा परिश्रमिकको मामिलामा धेरै डिमाण्ड गर्नु हुन्छ । टार्गेटमा प्रायः नव सर्जकहरु पर्नुहुन्छ । भनेको जति परिश्रमिक नदिए प्रोजेक्ट नै नगर्ने भनेपछि तोकेको परिश्रमिक दिन बाध्य हुन्छन, त्यसैलाई पैसा पेलेको भन्ने आरोप दिईन्छ । राम्रो सृजना छ भने नेपालमै भएको प्रोड्युसर पनि मिल्छ, त्यस्तो अवास्थामा यो आरोप लाग्ने कुरै हुँदैन । म्युजिक भिडियोको सवालमा विदेशमा साधारण मोडल ( कहिले आफै पनि) राखेर म्युजिक भिडियो बनाउनु भन्दा नेपालका टप मोडल/कलाकारलाई राखेर म्युजिक भिडियो उत्पादन गर्न सस्तो पर्छ । म्युजिक भिडियोको स्तर खस्केको सवाल भने म स्वीकार्छु । त्यो हुनुमा गीतको भाव अनुकूल क्यारेक्टर (कलाकार/मोडल) चयन गर्नुको सट्टा टिकटकमा उफ्रने यौवनाहरुलाई लिएर म्युजिक भिडियो बनाउनु हो वा जो जे हर्कत गरेर भाईरल भएको छ, उसैलाई म्युजिक भिडियोमा खेलाउनु हो । यो प्रथा उन्मुलन हुन आवश्यक छ र स्रोता वर्गले यस्ता कुराहरुको विवेचना गरी यो प्रथालाई उन्मुलन गर्न सहयोग गर्नु पर्दछ ।

यहाँलाई मनपर्ने तीनजना गीतकार ?

– मन पर्ने गीतकार धेरै हुनुहुन्छ तर तीन जना मात्र चयन गर्नुपर्ने हुँदा कालीप्रसाद रिजाल, भीम विराग र श्रावाण मुकारुङ यी ३ नाम लिन चाहन्छु ।

यहाँलाई मनपर्ने तीनवटा गीत ?

– मन पर्ने गीत पनि धेरै छन, तीन मात्र छान्नुपर्दा ‘आँखा छोपी नरोउ भनी’, ‘तिमी तारे भिर’, ‘तिमीले पनि म जस्तै’ ।

सिर्जना गर्ने मान्छेलाई सिर्जना गर्न के कुराले उत्प्रेरित गरिरहन्छ जस्तो लाग्छ ?

–अन्य सर्जकहरुलाई सृजना गर्न केले उत्प्रेरित गर्छ थाहा भएन, तर मेरो सवालमा भने अध्यन र आफ्नो सृजनामा आएको प्रतिक्रियाले ठूलो भूमिका खेल्छ । जब म कुनै पुस्तक पढ्छु, त्यहाँ सर्जकले आगोको विषयवस्तु उठाएको छ भने म पानीको विषय उठाउने जमर्को गर्छु । पाठक प्रतिक्रिया जस्तो होस्, त्यसले मेरो सृजनालाई सुधारेर अर्को छलाङ मार्ने उत्प्रेणा दिन्छ ।

गीतमा कला र विचार कुन कुरालाई बढी प्राथमिकता दिनुहुन्छ ?

– सर्वप्रथम विचार त्यसपछि कलालाई प्रथामिकता दिन्छु । विचार नभई गीतको सृजना हुन्न । जब विचारद्वारा गीतको सृजना हुन्छ, तब कला मिश्रण गर्ने प्रक्रिया सुरु हुन्छ । हुन त गीतमा कला र विचार एक अर्काको परिपुरक हुन्, तर म विचारलाई प्रथामिकता दिन्छु ।

अब आउने दिनमा हामीले यहाँबाट के–कस्ता सिर्जना प्राप्त गर्न सक्छौं ?
–मेरो दुई गीतहरु संगीत भर्ने क्रममा छन् । म प्रायः एउटै दृश्यलाई पछ्याएर गीत लेख्न रुचाउछु । त्यस्तै गीत अर्थपूर्ण बन्छ भन्ने मेरो बुझाई छ । यि गीतहरु पनि ‘जूनतारा’ जस्तै पृथक शैलीमा रचिएका छन्, तर संगीत निकै चुस्त बनाउने कोशिसमा छु । यहाँहरुले आउदा दिनमा मबाट आधुनिक गीतहरु सुन्न पाउनुहुनेछ ।