संसारकै सबैभन्दा
होचो मान्छे भएर उभिएको छु
तिम्रो अगाडि !
*
तिम्रा सामु
फैलिएको छ खाली हात,
भुइँतिर फर्किएका आँखा,
नुहेको गर्धन,
नरम भएका हड्डी,
सुकेका ओठ,
गलेको अहम्कार !
हुर्केको जो थियो÷छ
’म’ भित्रको अहम्
र, अह(म) भित्रको ’म’
सँगसँगै…
ती दुवै कुल्चेर पाइतालामुनि
उभिएको छु
लिलिपुट भएर
तिम्रो सामुन्ने …!
*
सानो छँदा
चप्पललाई रेलगाडी बनाउँदा
बिझ्यो आमाको दाहिने खुट्टामा काँडा
र, पनि उनले
ढुङ्ग्रीले छोपेको दाँत उघारेर
उज्यालो छरिरहिन् ।
अलि ठूलो हुँदा
स्कुल जाने बाटामा
गुलेली हानेर झारेँ
वर्षभरि हुर्काएर राखेको
लिचीको झुप्पा र सिन्द्राङ्गे बोजुको सपना…
तर, उनले पनि उसैगरी
छरिएका उज्यालो बटुलिरहिन् ।
जब टेकेँ
तेह्रको उपद्रोको सिढी
ढुङ्गे धारा धाउँदै लुकाउन थालेँ
माइली सार्किनीको फेर्ने कपडा,
तर पनि, आधा उमेरको मलाई
उनले कमै तीतो वचन पोखिन् ।
उड्न थालेँ जब
बाइसको बदमासीको बतासमा
उन्मादको घोडा दगुराइरहेँ
– गल्ली गल्लीमा सिठ्ठी
– माइक्रोको चेपमा ठेलमठेल
– कलेजको क्लासमा हल्ला
– ननभेज चुट्किला
– गिद्दे आँखा, ब्वाँसो दिमाग
– मुखाले, दादागिरी, हिरोपन्थी
सबैतिर दुर्गन्ध फैलाउँदै ।
*
हुर्केको जो थियो÷छ
’म’ भित्रको अहम्
र, अह(म) भित्रको ’म’
सँगसँगै…
*
अहिले
ती दुवै कुल्चेर पाइतालामुनि
उभिएको छु
लिलिपुट भएर
तिम्रो सामुन्ने …!
केही दिनअघि
सानी छोरीले
काखमा लुटपुटिन्दै
पोल सुनाइन्
कुनै छुल्याहाबारे ।
अब, कहिले उभिन्छ कुन्नी
छोरीसामु
फैलाएर खाली हात,
भुइँतिर फर्काएर आँखा,
नुहाएर गर्धन,
नरम बनाएर हड्डी,
सुकाएर ओठ,
गलाएर अहम्कार
’म’ जस्तै
त्यो बदमास केटो !!
***