November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

वीर अस्पतालबाट उमेरहद देखाएर निकालिएका ९ जना श्रमिक पक्षमा मजदुर सङ्गठन

1.2K

काठमाडौं । वीर अस्पतालमा कार्यरत १० जना श्रमिकलाई उमेरहदको बाहना बनाएर कामबाट निष्कासन गरेको भन्दै श्रमिकहरूको पक्षमा वकालत गर्दै आएको नेपाल सुरक्षा ट्रेड युनियन र नेपाल स्वतन्त्र  आउटसोर्स श्रमिक संगठनले निर्णय सच्याउन ध्यानाकर्षण गराएका छन् । 

संगठनले सोमबार वीर अस्पतालको प्राङ्गणमा पत्रकार सम्मेलन गरी आफ्नो ध्यानाकर्षण भएको जनाउँदै निर्णय नसच्याए श्रमिकको हक र हितको पक्षमा जस्तोसुकै लडाइँ लड्ने चेतावनी दिएका हुन् । 

मुख्य रोजगारदाता संस्था वीर अस्पताल प्रशासनले पचास वर्षे उमेर हद कायम गरी सहायक रोजगारदाता संस्था इनफोटिच मार्फत ९ जना श्रमिकलाई निकालेको मजदुर संगठनका नेताहरूको आरोप छ।

Advertisement

५८ वर्षसम्म काम गर्ने पाउने अधिकारलाई नियम विपरीत सामन्ती प्रशासकले श्रम गरिखानबाट बञ्चित गरेको नेपाल सुरक्षा श्रमिक ट्रेड युनियनका महासचिव वेदप्रसाद हुमागाँईले बताए । उनले पत्रकार सम्मेलनमा भने, ‘वीर अस्पतालको डाइरेक्टर आफू ६३ वर्ष जागिर खान्छन् , तर श्रमिकलाई ५० वर्षे उमेर हद कायम गर्दै निकाल्छन् भने यो सरासर अन्याय हो ।’  काम गर्न सक्ने स्वास्थ्य र तन्दुरुस्त कामदारहरूलाई हाजिर नगरी कामबाट निकालेर देखाउन उनले चुनौती समेत दिए । 

श्रमिकहरूको पक्षमा वकालत गर्दै आएको नेपाल सुरक्षा ट्रेड युनियनका अध्यक्ष प्रेमबहादुर कार्की र नेपाल स्वतन्त्र  आउटसोर्स श्रमिक संगठनका अध्यक्ष तारादेवि केसीले संयुक्त प्रेस विज्ञप्ति नै जारी गर्दै उनीहरुको पुनर्वाहली गरी हाजिर नगराए कानूनी देखि अन्य सबै लडाई लड्ने चेतावनी दिएका छन् ।

नेपाल सुरक्षा श्रमिक ट्रेड यूनियनका अध्यक्ष प्रेम बहादुर कार्कीका अनुसार, सहायक रोजगारदाता कम्पनीले प्रसाशनको दबाबमा मनोमानी नीति बनाएर ९ जना श्रमिकलाई निष्कासन गरेको हो ।  टेण्डरको नाममा श्रम कानुन विपरीत हाजिर गर्न बञ्चित श्रमिकलाई कानुन बमोजिम हाजिर गराउन भन्दै उनले भने  ,श्रम ऐन २०७४ को दफा १४७ मा ५८ वर्ष काम गर्न पाउने ब्यवस्था छ।  उक्त कानुनको पालन नगरी कामदार निकाल्नु  नीति विपरीत रहेको कार्कीको ठहर छ। 

मनोमानी नीति बनाएर हटाउने कार्य सच्याएर निष्कासन गरिएका सबै जना कर्मचारीलाई पुनर्बहाली नगरिए चरणबद्ध आन्दोलनका गरिने केसीले बताइए । इनफोटिच रोजगारदाताले दादागिरी गरि काम गर्न नदिए वीरको प्राङ्गणमा नै अनशन सुरु गर्ने भन्दै मजदुरको पक्षमा बोल्ने अधिकांश बक्ताहरुले सरोकारवालाहरु सच्चिनुपर्ने धारणा राखेका थिए ।   

पत्रकार सम्मेलनमा पीडित कर्मचारीहरूले  श्रम कानुन कार्यान्वयन गर , श्रम माफिया र विचौलिया होसियार , काम गरि खान दे  ट्रेड युनियन अधिकार सुनिश्चित गर जस्ता नारा लेखिएका  प्लेकार्ड बोकेका थिए।  

कार्यक्रमको अन्त्यमा वीर प्रशासन र सहायक रोजगारदाताविरुद्ध आलोचनात्मक नारा लगाउनुका साथै वीर अस्पतालका  डाइरेक्टरलाई वार्ता मार्फत समस्या समाधान गर्न अपिल गरिएको थियो ।

वीर अस्पतालबाट यसरी निस्कासन भएका श्रमिकहरूमा बसुन्धरा रम्तेल, संगीता श्रेष्ठ , जुनकेरी श्रेष्ठ ,दिलबहादुर परियार, इन्द्र राना, मुना बजगाई, सन्ता नेपाल, चौबहादुर गुरुङ र हिरा नेपाली छन् ।


विगत लामो समयदेखि वीर अस्पतालको  सरसफाइदेखि बिरामीको सेवामा कार्यरत उनीहरूलाई रोजगारदाता कम्पनी फेरिएसँगै सेवाबाट हटाइएको हो ।

विगत २ देखि  १५ वर्ष सम्म निरन्तर रुपमा ज्यालादारीमा काम गर्दै आएका उनीहरूलाई मुख्य रोजगारदाताकै निर्देशनमा सेवाबाट बञ्चित गरिएको मजदुर संगठनका नेताहरूको आरोप छ ।