काठमाडौं । टी–२० शृंखला अन्तर्गतको पहिलो खेलमा नेपालले आयरल्यान्डलाई पराजित गरेको छ । आयरल्यान्ड उल्भस (ए) लाई कुशल भुर्तेलको अलराउन्ड प्रर्दशनमा ६ विकेटले पराजित गरेको गरेको हो ।
ओपनिङ ब्याटर भुर्तेलले अविजित ३७ रन बनाएपछि नेपालले १ सय २२ रनको विजय लक्ष्य १६.१ ओभरमा पूरा गरेको थियो ।
भुर्तेलले ३२ बल खेली ४ चौका प्रहार गरे भने अर्का अविजित ब्याटर दीपेन्द्रसिंह ऐरीले १२ बल खेली २ चौका र १ छक्कासहित २० रन बनाए । दीपेन्द्रले विजयी चौका प्रहार गरेका थिए ।
खेलमा आसिफ शेखले ११ बल खेली २ चौका र १ छक्का प्रहार गरि १६ रन बनाए । उनलाई ग्यारेथ डेलानीले एलबीडब्लु आउट गरे ।
दुई बलपछि डेलानीले नेपालका कप्तान रोहित पौडेललाई शून्यमा कट बिहाइन्ड आउट गरे । १ चौका प्रहार गरेका गुलशन झा पनि ४ रनमा आउट भए । सन्दीप जोराले १३ बलमा २ रन बनाइरहेको समयमा जीवनदान पाउनु नेपालका लागि भाग्यशाली बन्यो । उनले ३५ बल खेली ३ चौका र २ छक्कासहित ३६ रन बनाए ।
यसअघि टस जितेपछि ब्याटिङमा आएको आयरल्यान्ड ‘ए’ निर्धारित २० ओभर खेलि १ सय २१ रनमा अलआउट भएको थियो ।