April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

आइसिसी क्रिकेट विश्वकप: नेदरल्यान्ड्ससँगको खेलमा नेपाल १७२ रनमा अलआउट

२०८० फाल्गुन १३

1.4K

काठमाडौं । आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्ससँगको खेलमा नेपाल १७२ रनमा अलआउट भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा नेदरल्यान्ड्सले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपाल अन्तिम तीन बल बाँकी छदा अलआउट भएको हो ।

खेलमा नेपालका ओपनर कुशल भुर्तेलले अर्धशतक प्रहार गरे । ६६ रन बनाएका उनले ९३ बलमा ८ चौका प्रहार गरे ।

अर्का ओपनर आसिफ शेख १७ रन बनाएर आउट भए । उनी भिभियन किंग्माको बलमा डि लीडबाट क्याच भए । आउट हुनुअघि उनले २७ बलमा २ चौका र १ छक्का प्रहार गरे । उनले कुशल भुर्तेलसँग ४२ रनको ओपनिङ साझेदारी गरे ।

Advertisement

यस्तै, अनिल साह ७ रनमा आउट भए भने कप्तान रोहितकुमार पौडेलले १६ रन मात्र जोड्न सके । उनले ४० बलमा २ चौका हिर्काए । उनले कुशल भुर्तेलसँग चौथो विकेटका लागि ३३ रनको साझेदारी गरे ।

दीपेन्द्रसिंह ऐरी १ रनमा रनआउट भए भने भीम सार्की लीडबाटै शून्यमा बोल्ड भए । यस्तै गुल्सन झा पनि ५ रनमा क्याच भए ।

आरिफ शेखले २२ रन जोडे । उनले करण केसीसँग ३६ रनको साझेदारी गरेका थिए । ४९ ओभरमा आउट हुनुअघि उनले ५० बलमा १ चौका हिर्काए ।

यस्तै, करण केसीले अन्तिम विकेटको रुपमा आउट हुनुअघि २६ रन जोडे । उनले २७ बलमा १ चौका र २ छक्का हिर्काउँदा नेपालले १५० रन कटाएको थियो।

आजको खेल जारी सिरिजको अन्तिम खेल हो । पहिलो सिरिजको तीन खेल खेलिसक्दा नेपालले एक जित र दुई हार ब्यहोरेको छ । नामिबियासँग भएको दुवै खेलमा पराजित भएको नेपालले नेदरल्यान्ड्सविरूद्धको पहिलो भने ९ विकेटको सानदार जित निकालेको थियो ।

नेपालविरूद्ध दुई र नेदरल्याण्ड्सविरूद्ध एक खेलमा जित निकालेको नामिबिया ६ अंकसहितअंक तालिकाको शीर्ष स्थानमा छ । एकएक जित निकालेका नेपाल र नेदरल्यान्ड्स २/२ अंकसहित दोस्रो र तेस्रो स्थानमा छन् ।