भर्खरै एक सज्जनले मेरो चरण स्पर्श गरेर गए । म निकै तिव्रताका साथ श्रद्धय बन्दै छु जस्तैः कुनै चालू आइमाई विवाहपश्चात निकै फुर्तीका साथ पतिव्रता देखिन्छन् । यस किसिमको हरकत मेरो जीवनमा केही महिनादेखि हुँदैछ । पहिला यस्तो हुन्थेन । अँ, एकचोटि भएको थियो, तर त्यो मामला त्यहीँ रफादफा भयो । धेरै वर्ष पहिले एउटा साहित्यिक समारोहमा मेरै उमेरको एक सज्जनले सबैको सामुन्ने मेरो चरण स्पर्श गरे । चरण स्पर्श अश्लील कृत्य जस्तै एकान्तमै गरिन्छ । तर त्यो सज्जनले सार्वजनिक स्थलमै चरण स्पर्श गर्यो, आसपास उभिएका मान्छेको अगाडि गर्वले हेरेँ– ‘हेर म श्रद्धय भएँ ।’ त्यतिबेलै त्यो श्रद्धालुले मेरो पसिना छुटायो । उसले भन्यो– ‘मेरो त यहि नियम छ, ब्राह्मण र कन्याको चरण अनिवार्य स्पर्श गर्छु ।’ यसको मतलब उसले मलाई ठूलो लेखक ठानेको थिएन । ब्राह्मण भनेर ढोगेको थियो ।
श्रद्धेय बन्ने मेरो इच्छा उतिबेलै मरिसकेको थियो । त्यसपछि मैले श्रद्धयहरूको दुर्गति पनि देखेँ । मेरो एउटा साथीले विद्यावारिधिको लागि रिसर्च गरिरहेको थियो । विद्यावारिधि अध्यन र ज्ञानले नभई आचार्यको कृपाले प्राप्त हुन्छ । आचार्यको कृपाले यति धेरै डाक्टर भइसकेका छन् कि बच्चाबच्चीले खेल खेल्दा ढुङ्गा फाले भने कुनै न कुनै डाक्टरलाई गएर लाग्छ । एकचोटि चोकमा पत्थर हानाहानले पाँचजना हिन्दीको डाक्टर घाइते भए । पाँचैजना अस्पताल भर्ती भए । नर्सले आफ्नो अस्पतालको डाक्टरलाई बोलाइन् : ‘डाक्टर साहेब’ पाँचैजना हिन्दीका डाक्टरले हजुर भनेका थिए ।
म आफैले केहि मान्छेको चरण स्पर्श गर्ने बाहानामा खुट्टा तानेको छु । लँगोटी धुने बाहानामा लँगोटी चोरेको छु । श्रद्धय बन्ने भयावहता बुझिसकेको थिएँ । नत्र भने म पनि समर्थ छु । मेरै सहरको कलेजमा एउटा अध्यापक थिए । उनले आफ्नो नेम–प्लेटमा ‘आचार्य’ आफैले लेखाउन लगाएका थिए । मैले त्यतिबेला नै बुझिसकेको थिएँ; यो मपाईँत्व पनि महानताको लक्षण हो । आचार्य बम्बईवासी भए र उनले आफुलाई भगवान रजनीशझ बनाए । आजभोलि उनी मान्यता प्राप्त भगवान हुन् । मैले पनि आफ्नो नाम अगाडि पण्डित लेखाएको भए उहिल्यै पण्डित बनिसक्थेँ ।
सोच्छु, मान्छेहरू अहिले आएर मेरो चरण स्पर्श किन गर्छन् ? यो श्रद्धा एकाएक कसरी पलायो ? पछिल्लो महिना मैले त्यस्तो के गरेँ ? केही खास लेखेको छैन । कुनै साधना गरेको छैन । समाजको कुनै कल्याण पनि गरेको छैन । दारी पालेको पनि छैन । भगवान पनि ओढेको छैन । खासै वृद्ध पनि होइन । मान्छेहरू भन्छन – यो वयोवृद्ध हो । अनि चरण स्पर्श गर्छन् । उनीहरू फटा हो भने, फट्याईँको उमेर पनि ६०–७० वर्ष भयो । मान्छेहरू वयोवृद्ध फट्याईँको पनि चरण स्पर्श गर्छन् । मेरो फट्याईं अझै श्रद्धाको लायक भएको छैन । यो एक वर्षमा मेरो एउटै तपस्या छ; खुट्टा भाँचिएर अस्पतालमा असरल्ल छु । हड्डी जोडिएपछि पनि पीडाको कारण टांग फुर्तीको साथ जोडिदैन् । मान्छेहरू मेरो यो मजबूरीको फाइदा उठाएर अचानक खुट्टा ढोग्छन् । म आरामको लागि राजसिंहासनमै पल्टिएको हुन्छु । राजसिंहासन एउटा यस्तो आसन हो कि ऊ सँगै पल्टिएको दुरात्माको पनि खुट्टा ढोग्ने प्रेरणा मिल्छ ।
के मेरो टांगबाट पीडा जस्तै श्रद्धा सिर्जना भएको हो ? यसो हो भने यो विकलांग श्रद्धा हो । मलाई थाहा छ; देशमा जुन मौसम चलिरहेको छल; त्यसमा श्रद्धाको टांग भाँचिसकेको छ । मान्छेहरू सोच्दा हुन् – यसको टांग भाचिएको छ । यो असमर्त भयो । आऊ यसलाई हामी श्रद्धा गरौँ ।
हो बिरामीबाट कहिलेकाहीँ श्रद्धा बाहिरिन्छ । साहित्य र समाजको सेवकलाई भेट्न एउटा साथीसँग गएको थिएँ । जब त्यो उठयो , तब त्यो साथीले उसको चरण स्पर्श गरे । बाहिर आएर साथीलाई सोधेँ –’ यार तिमीले उसको खुट्टा किन ढोगेको ?’ साथीले भन्यो –’ तिमीलाई थाहा छैन , उनलाई मधुमेह भएको छ ।’ अब मधुमेहले श्रद्धा सिर्जना गर्न सक्छ भने भाँचिएको टांगले पनि सक्छ । यसमा खासै विवादस्पद रहेन । मान्छेहरू विरामीपनको कस्तो कस्तो फाइदा उठाउँछन् । मेरो एउटा साथी विरामी थिए – हस्पिटलमा एडमिट । जसै कुनै स्त्री उनलाई भेट्न आउथे , टाउको समातेर रून थाल्थ्यो । स्त्रीले सोध्थिन –’ टाउको दुखेको छ हो ?’ उसले भन्थ्यो – ’ हो , टाउको फुट्ला जस्तो भएको छ ।’ स्त्रीले सहजताको साथ उनको टाउको दबाईदिन्थिन् । साथीको श्रीमतीले घुरेर हेर्थिन – ’ के हो हजुर , कुनै स्त्री देखेपछि टाउको दुखिहाल्छ है ?’ उसको जवाफ पनि बनावटी हुन्थ्यो –’ प्रिय तिमीमा मेरो यति धेरै निष्ठा छ कि , परस्त्री देख्ने बित्तिकै मेरो टाउको दुख्छ । प्रीत–रस तिमी मात्रै हो प्रियसी ।’
श्रद्धा ग्रहण गर्ने पनि विधि हुन्छ । मबाट सहज ढंगमा श्रद्धा ग्रहण हुँदैन । अहिले पार्ट टाइम श्रद्धेय हुँ । हिजो दुईजना मान्छे आए । उनीहरू कुराकानी सकेर जब उठे , एउटाले मेरो चरण स्पर्श गर्न हात बढायो । हामी दुबै सिकारु । उसलाई चरण स्पर्श गर्ने बानी थिएन ; मेरो चरण स्पर्श गराउने बानी थिएन । जस्तो भयो उस्तै गरि उसले चरण स्पर्श गर्यो । ऊ थोरै झुक्यो । मेरो आशा जाग्यो । तर दोस्रो व्यक्ती दुविधामा थियो । चरण स्पर्श गरु कि नगरु ! म भिखारी जस्तै हेरिरहेको थिएँ । ऊ अलिकती झुक्यो । मेरो मनमा आशा पलायो । तर ऊ फेरि सिधा भयो । मैलै बुझेँ ।उसले फेरि शरीर अरक्क पारेर कोसिस गर्यो । मेरो चरण हल्लिन थाल्यो । पुनः असफल भयो । अन्त्यमा नमस्कार गरेर गयो । उसले आफ्नो साथीसँग भन्यो होला – अरे ! यार तँ पनि कस्तो लम्फुको चरण स्पर्श गर्छस् । मेरो श्रद्धालुले जवाफ दियो होला– आफ्नो काम निकाल्न ऊल्लुहरूसँग यस्तै गर्नपर्छ । मलाई हीनताबोध भयो । उसले मलाई श्रद्धाको लायक सम्झेन । त्यो ग्लानी बेलुकातिर शान्त भयो जब एउटा कविले चरण स्पर्श ग¥यो । त्यति बेला मेरो एउटा साथी बस्दै थियो । चरण स्पर्श गरेपछि मेरो साथीलाई उसले भन्यो– ‘मैले साहित्यमा जे सिके प्ररसाईजी सँग सिकेको हुँ ।’ मलाई थाहा थियो, ऊ कवि सम्मेलनमा होहल्ला मच्चाउने समुहमा पर्दछ । के मेरो सिकाईको यहि नतिजा हो ? म लज्जित भएर आफैले आफैलाई जुत्ताले बजाउनुपर्ने हो । तर म खुसी थिएँ । उसले मेरो चरण स्पर्श गरेको थियो ।
अहिले काँचै छु । खोइरो खन्नेहरूले त पतिव्रतालाई पनि चरित्रहीन बनाइदिन्छ्न् । मेरा श्रद्धालुहरूले मलाई श्रद्धालु बनाउने पक्का छ । पक्का शिद्ध – श्रद्धेय मैले देखेको छु । शिद्ध मकरध्वज हुन्छन् । उनीहरूको बनावट नै अलग हुन्छ । मुहार– आँखै खिच्ने जस्तो । पाउ यस्तो कि बारम्बार मान्छेहरू झुक्ने जस्तो । पुरै व्यक्तित्वमा श्रद्धेय लेखेको हुन्छ । मलाई यिनिहरू निकै ठूला लाग्छन् । तर पक्का श्रद्धेय हुन्छन् । यस्तै एकजनासँग भेट्न् म र मेरो साथी गएका थियौं । मित्रले चरण स्पर्श गर्दा; त्यति उग्र जाडोमा पनि पछयौराबाट खुट्टा निकालेर चरण स्पर्श गर्न सुविधा बनाइदिएका थिए । मैले चरण स्पर्श गरिनँ । नमस्ते गरेर बसेँ । एउटा चमत्कार भयो । हुन यो पर्थ्यो कि मैले उनको चरण स्पर्श नगरेर हीनताबोध महसुस गरे । तर भयो उल्टा । उनले मलाई हेरे । हीनताबोध मलाई भयो– हाय म यति अधम निक्लिए कि उनको चरण स्पर्श गर्ने लायक भइन । सोच्छु , यस्तो बाध्य बनाउने धाक् ममा तुच्छ श्रद्धय कहिले आउला !
श्रद्धय बन्ने यो हलुका इच्छाको साथमा डर पनि अवस्थित छ । श्रद्धय बन्नुको मतलब हो ‘नोन पर्सन’– “अव्यक्ती” बन्नु । श्रद्धय त्यो बन्छ जसले हरकुरालाई हुन दिन्छन् । कुनै कुराको विरोध नगर्ने । जबकि व्यक्तिको, चरित्रको, पहिचाननै यहि हो कि कुन कुराको विरोध गर्छ । मलाई लाग्दैछ, मान्छेहरू मलाई आभाष दिउलाउँदै छ्न्; अब त कुना समातेर बस् । तँ दयनीय भइस ।तेरो लागि सबै कुरा हुनेछ । तँ कारण नबन । माखा पनि हामी नै उडाउछौँ ।
देशमा श्रद्धाको एक किसिमको समय छ । जस्तो वातावरण छ, त्यसमा कसैलाई पनि श्रद्धा गर्न संकोच हुनेछ । श्रद्धा पुरानो अखबार जस्तै कवाडीमा बिकिरहेको छ । विश्वासको खेतीलाई तुषारोले खाइसक्यो । इतिहासमा सायदै कुनै पनि जातीलाई यसरी श्रद्धा र विश्वासले हीन महसुस बनाइएको थिएन । जुन नेतृत्वमा श्रद्धा थियो । त्यसलाई नाङ्गो बनाइदै छ । नयाँ नेतृत्वहरू उत्ताउलो भएर आफ्नो कपडा आफै फुकाल्दै छ्न् । केही नेताहरू त अण्डरवेयरमा छ्न् । कानुन माथी विश्वास छैन । अदालतबाट विश्वास खोसिएको छ । बुद्धिजीवीको नसलमा नै शंका उत्पन्न छ । डाक्टरहरू विरामी उत्पादन गर्ने कारखाना भएका छ्न् । कहिकतै श्रद्धा छैन, विश्वास छैन् ।
मेरा श्रद्धालुहरूलाई भन्न चाहन्छु– ‘यो चरण स्पर्श गर्ने मौसम होइन, लात्ता हान्ने मौसम हो । एक लात हान अनि क्रान्तिकारी बन ।’
(भारतीय प्रशिद्ध व्यङ्ग्यकार हरिशंकर प्ररसाईको साहित्य अकादमी पुरस्कारबाट सम्मानित कृति ‘विकलांग श्रद्धाका दौर’बाट साभार गरिएको शिर्ष व्यङ्ग्य निवन्ध )
अनुवादः जनक कार्की