April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

विवाह पछिको प्रेम

4.4K

‘हेइ, लव यु ।’
‘लव यु टु ।’
सुरज भिडियो कलबाट बिदा भयो । अनि लगत्तै देखा पर्‍यो उमेश ।
‘हेइ ।’
‘हेइ ।’
‘बाइ ।’
‘बाइ ।’
ऊ पनि बिदा भयो । सधैँ बिदा माग्नकै लागि मात्र ऊ हेल्लो भन्ने गर्छ । 
तीन दिनदेखि ज्वरो आएर बिछ्यौनामा लडिरहेथेँ । बिदा लिएर ओछ्यानमा लड्नु जस्तो दुःखद सायदै छ ।
‘हेइ, फिलिङ बेटर ?’
‘या ।’
केही बेर अघि मात्रै हेइ भनेर बाइ भन्ने उमेशले पठाएको सन्देश यो । त्यहाँ भन्दा अघि बढेन ऊ । मैले सोधेँ –साँझ फुर्सद छ ?
‘किन ?’
‘साइक्लिङ जाऔं न ।’
‘तिमी र म मात्रै ?’
‘अँ ।’
‘पागल, यस्तो ज्वरो आको बेला ? पहिला निको होऊ खुरुक्क ।’
ऊ फेरि बिदा भइहाल्यो । मोबाइल बन्द गरेर ओछ्यानमा पल्टिएँ । आँखा चिम्लिएँ । निंद त आए पो । ज्वरो त थिएन । जुरुक्क उठेर मोबाइल अन गरेर सुनितालाई म्यासेज पठाएँ ।

‘हेइ, साइक्लिङ ?’
‘कहिले ?’
‘भरे चार बजेतिर ।’
‘ओके डन ।’
सुनिता उमेशकी बहिनी । अनि उमेश र सुनिता दुबै मेरा मिल्ने साथी । हामीले सँगै कलेज पढ्यौं जिन्दगीका आरोहअवरोह सँगसँगै झेल्यौं । सुनिता म र उमेश भन्नु चुल्होका तीन खुट्टा जस्तै हौं । हामी एकअर्काबिना अपुरा छौं । हाम्रा रुचि विचार र जिन्दगीप्रतिको धारण साझा छन् । साइकलिङ हामी तीनै जनाको मनपर्ने पाटो हो । तर अचेल पहिले जस्तो तीनै जना बाहिर निस्केर साइकलमा घुम्ने मौका नै मिल्दैन । एक त म विवाहित मान्छे, अर्काे उमेश र मेरो दुबैको अफिस हुने भएकाले मौका नै जुर्दैन । म खुब मिस गर्छु सुनिता र उमेशलाई अनि मिस गर्छु साइकलमा घुम्दै तिनाउ बगरमा पुगेर गरिने गफगाफ । खै कहिले फर्केर आउलान् ती दिनहरु ? चटपटे, बदाम अनि एकअर्कासँग नलुक्ने पीरव्यथा ती सबै मिस गर्छु ।
चार बजेतिर निस्कियौं सुनिता र म । बुटवलको तातो हावा, उसैमाथि ज्वरोले तीन दिन थलिएको शरीर । चौराहा पुग्दा नपुग्दै हातपाउ गले । सास पनि निकै बढ्यो । फ्यात्त सडकछेउमा फालिएँ म । सुनिता हाँस्दै मेरो छेउमा बसी । साँझ छ बजेतिर ससाइकल घिसार्दै लुरुरु फर्किएँ ।

राती अबेरसम्म पनि सुरज छेउमा आएन । ल्यापटपमा फिल्म हेरिरहेको थियो । ज्वरो फेरि बढ्न थालेको थियो । निदाउन खोज्दा पनि सकिन । आँखा चिम्म गरेँ । झनै रिङ्गटा लाग्यो । जिउ रनन्न तातेर सही नसक्नु भएको थियो । सुरजले आएर यसो छोइदिए पनि मात्र कति शितल हुन्थ्यो होला ?
‘सुरज आउनु न छेऊमा ।’ –अनुनय गरेँ ।
‘सुत न ।’
‘मलाई हजुरको छातीमा निदाउनु छ । आउनु न भनेको ।’
‘सञ्चो नभाको मान्छे चुप लागेर सुत न ।’
त्यसो भनेर फेरि ऊ फिल्म हेर्न थाल्यो । म कोल्टे फेरेर सुत्न खोजेँ । निंद परेन । टिर्लिङ्ग म्यासेजको घण्टी बज्यो । हेरेँ उमेशको रहेछ ।
‘हेइ ।’
‘हेइ ।’
‘औषधी लियौ ?’
‘अँ, पाँच बजेतिर नै लिएको ।’
‘भोलि भेटौं ?’
‘कहाँ ?’
‘त्यतै बसपार्कतिर ।’

मोबाइल बन्द गरेर फेरि ओछ्यानमा पल्टिएँ । ज्वरोले गर्दा रातभरि सुत्नै सकिन । बिहान उठेर सिटामोल खाइदिएँ । सिटामोल खाएपछि बिहान आठ बजेसम्म निदाएछु । म ब्युँझदा सुरज अफिस जानका लागि तयार हुँदै थियो । सकी नसकी उसका लुगा निकालेर दिएँ । घरबाट निस्कने बेला उसले सुस्तरी ओंठमा  चुम्यो । शरीर झनन्न काम्यो । अहो! बिरामी भएको बेला पनि कस्तरी मात्तिएको शरीर । 
साँझ पाँच बजे साइकल लिएर बसपार्क पुगेँ । उमेश साइकल लिएर पश्चिम जाने सडकछेउमा उभिइरहेको थियो ।
‘हेइ ।’
‘हेइ ।’
‘तिम्रो आँखा कति रसिलो देखिएको । अझैँ ज्वरो बिसाएको छैन ?’
‘अँ ।’
मैले अँ भन्ने बित्तिकै ऊ मलाई समाउन आइपुग्यो ।
‘अहो! हेर कस्तरी तातिएको । यस्तो बेलामा पनि किन आएको त ? आउँदिन भनेर म्यासेज गरेको भए हुन्थेन ? तिमी कति पनि आफ्नो ख्याल गर्दैनौ । पागल केटाकेटीलाई जस्तो कति टोकिरहनुपर्छ तिमीलाई आफ्नो ख्याल गर भनेर ।’
‘मेरो ख्याल  तिमी गरिहाल्छौ नि । एउटा मान्छेको ख्याल दुइटाले किन गर्नुप¥यो ?’ –मैले ठट्टा गर्दै भनेँ ।
‘अँ, ख्याल ख्याल लाग्छ नि तिमीलाई । पागल, भनेको सुन्ने त कहिल्यै होइन ।’ –ऊ अलि रिसायो ।
‘घर बस्दा बस्दा दिक्क लागिसक्यो ।’ 

उसले मन नपरेको आँखाले हेर्दै ट्याक्सीलाई फोन ग¥यो । ऊ एकदमै आत्तिएको थियो । ट्याक्सीमा बसिसकेपछि मेरो टाउको आफ्नो काखमा राखेर नर्सिङ होमको इमर्जेन्सी कक्षमा पु¥यायो । सम्पूर्ण परिक्षण भयो । उमेशले मलाई एकछिनका लागि पनि नछोडेर पानी पट्टी गर्दै बसिरह्यो ।
मलाई टाइफाइड भएको रहेछ । उसले मलाई घरको गेटसम्म छोडिदियो । साँझ आठ बजेतिर घर पुग्दा सुरज टि.भी.मा क्रिकेट हेर्दै थियो । थपक्क ओछ्यानमा गएर सुतेँ ।
बिहान उठ्दा टाउको शीतल थियो, शरीर पनि हलुङ्गो भएको थियो । उठेर बुरुस गर्न लाग्दा सुरजले भन्यो –हिजो कति अबेला फर्केको तिमी ? सञ्चो नभाको मान्छे पनि साइकल लिएर कहाँ कहाँ पुग्नुपर्छ है तिमीलाई ?
‘हिजो म नर्सिङ होममा थिएँ नि । मलाई टाइफाइड भएको रैछ । ज्वरो हटाउन भनेर सिटामोल खाएर मात्रै के सञ्चो हुनु । म आउँदा हजुर क्रिकेट हेर्दै हुनुहुन्थ्यो । त्यही भएर चुपचाप ओछ्यानमा गएर सुतेँ ।’
सुरज केही बोलेन ।
कोठामा आएर मोबाइल अन गरेँ । उमेशको तीन वटा म्यासेज आएको रहेछ । रिप्लाइ गरिन ।
साँझ पाँच बजेतिर ऊ अनलाइन देखियो ।
‘हेइ’ भनेर म्यासेज पठाएँ ।
‘कस्तो हुँदैछ ?’
‘फिलिङ बेटर । भोलिबाट अफिस जाँदैछु ।’
लगत्तै भिडियो कल आयो ।
‘अरु तीन दिन बिदा थप ।’
यति भनेर बिदा भयो ।
बिहान अबेरसम्म सुतेँ । प्रशस्त कमजोरी कायमै थियो । सुरज उठ्नासाथ ‘गुडमर्निङ’ भन्दै निधार चुमेर भन्यो –आज त अफिस जान्छौ होला नि ।
‘आज जान्न ।’
अचम्म पर्दै निधार छामेर भन्यो –ज्वरो त छैन । किन बेकारमा घर बसिरहन्छौ ?
मन नलागी नलागी मुस्कुराउँदै उठेँ म । ऊ अफिस गयो । म दिनभरि सुतिरहेँ । तर निंद आए पो आँखामा ।
मलाई फुर्सद मनपर्दैन । तर सुरजलाई घरबाहिर लखर लखर डुलेको मनपर्दैन । हुन त म बुहारी भएकोले अफिस निस्कनु अघि र अफिसबाट फर्किएपछि गर्नुपर्ने प्रशस्त काम हुन्छन् । तर मलाई भने घरधन्दा र अफिसबाट बचेका अलिकति समय पनि कति पट्यार लाग्छ । सुरज बुहारी भएर गर्नुपर्ने कर्तब्यहरु सम्झाइरहन्छ । सासुससुरा पनि मबाट धेरै कुराको अपेक्षा राख्नुहुन्छ तर मलाई घरका काममा मरे जाँगर चल्दैन ।
हिजोआज सधैँ गर्ने काममा पनि मन लाग्न छोडेको छ । सुनितासँग खासै कुरा हुँदैन । उमेशसँग पनि भेट हुँदैन । यसो साँझ पाँच सात मिनेटका लागि साइकल लिएर निस्कने गर्छु । तर यसरी निस्केको पनि सुरज र सासुससुरालाई मनपर्दैन । सुरज र सासुससुरालाई मन नपर्ने काम गर्न मलाई पनि मन लाग्दैन । तर रहर र बानी सजिलै त्याग्न कहाँ सक्नु ? यसो बाहिर ननिस्किइ मन मान्दैन ।
एकरात मोबाइलमा उमेशलाई सन्देश पठाएँ –
‘भोलि साइक्लिङ जाऔं ल ।’
‘कता ?’
‘जहाँसम्म पुगिन्छ ।’
‘हुन्छ ।’

Advertisement


भोलिपल्ट अफिसबाट सिधै निस्किएँ । बसपार्कको ट्वाइलेटमा पसेर अफिसको लुगा निकालेर झोलामा हालेँ अनि ट्रयाक र जुत्ता लगाएँ । अनि उमेश र म हुँइकियौं साइकलमा ।
बुटवल बसपार्कदेखि तिलोत्तमा, देवदह हुँदै भैरहवा पुग्यौं । अहो! बुटवलदेखि भैरहवासम्मको यात्रा कति सुन्दर । कहिले उमेश अघि कहिले म । दिनभरिको अफिसको काम अनि त्यत्रो साइकल यात्रापछि पनि शरीरमा अभैm स्फुर्ती बाँकी नै थियो । सडक छेउमा उभिएर चुपचाप एकअर्कालाई हेर्दै मुस्कुराउँदै चिया पियौं । जून उदाइसकेको थियो । चिया पिएर फेरि बाटो लाग्यौं । असोजमास, लहलह धानको बाला झुलिरहेछन् । उसैमाथि जूनको उज्यालोमा कति सुन्दर देखिएको परसम्म । सडकछेउमा साइकल अड्याएर एकछिन बस्यौं खेतको आलीमा टुसुक्क । हाम्रो मित्रताको झण्डै छ वर्षको बीचमा उमेश र मेरो पहिलो अनुभव थियो । नत्र हामी दुइ मात्र यसरी कहिल्यै पनि साइकलमा पर परसम्म जाँदैनथ्यौं । बुटवलतिर नजिक नजिक उमेशको बहिनी सुनिता म अनि सुरज नियमित नै साइकलमा निस्कन्थ्यौं । सबैभन्दा नजिकको साथीसँग यसरी समय बिताउनु कति आनन्द । अझ सुरज पनि सँगै भइदिएको भए कति सुन्दर हुन्थ्यो त्यो पल ।
त्यै बेला फोन आयो सुरजको । अहो! आठ बजिसकेछ । उसले पर्खिइरहेको होला । आज पनि फेरि रिसाउने भयो ऊ । फोन नउठाइकन कुँदेँ म । उमेशले भन्यो –ए पख पख कति छिटो कुँदाएको साइकल ?
अहो! समयमै घर फर्किन कसरी बिर्से ? घरमा लोग्ने छ, सासुससुरा हुनुहुन्छ । सकेको बल लगाएर पैदल मारेर कुर्दै अघिअघि । उमेश पछिपछि ‘बिस्तारै बिस्तारै’ भन्दै चिच्याइरहेथ्यो । अगाडिबाट आएका सवारी साधनले बालेका बत्तीले अगाडि हेर्न गाह्रो हुन्थ्यो तैपनि बडो सतर्कताका साथ साइकल कुँदाइरहेथेँ । तर कसो कसो गाडीका अनावश्यक उज्यालोले हेर्न मुस्किल पथ्र्याे । ठुटी पिपलबाट अलि अगाडि बढेपछि एउटा ट्रक र बस सँगै आए । साइकलयात्री र पैदल यात्री पनि थिए । पछाडिबाट पनि गाडीहरु आइरहेका थिए । अगाडिको उज्यालोमा आँखा झिलिमिल भयो । निकै हडबडाएँ म । सडक किनारमा मान्छेहरु हिँडिहरहेछन् । मेरो साइकलको गति पनि बढी छ । दिमागमा घर कतिखेर पुग्ने भन्ने मात्रै ध्याउन्ना छ । यस्तोमा के गर्ने कसो गर्ने सोंच्न भ्याइन । तर अब आपूm खतरामा भएको कुरा चाहिँ दिमागले भ्यायो । ठूला गाडीको मुनि परेर किचिएर मर्नुभन्दा बरु सडक किनार लागेर कम क्षति ब्यहोर्छु भनेर साइकल स्वाट्टै घुमाएँ किनारतिर । जोडले हुत्तिएर सडकछेउमा रोकिराखेको ट्याक्सीमा गएर साइकल ठोक्कियो अनि म उछिट्टिएँ पर ढड्याम्म ।

ब्युँझदा भैरहवा मेडिकल कलेजमा सुरज, आमाबा, सुनिता अनि उमेशको बीचमा घेरिएको थिएँ । अहो! उमेशको टाउकोमा पट्टी लगाइएको, देब्रे हातमा पलाष्टर गरिएको थियो । के ऊ पनि दुर्घटनामा प¥यो ? सुरज मसँग बोलेन । सायद रिसाएको थियो । हुन पनि मसँग रिसाउनु स्वभाविक थियो । मैले उसलाई थाहा नदिइकन उमेशसँग साइकिलिङमा गएको थिएँ ।
‘सुरज छेउमा आउनु न ।’
मैले भनेँ तर आवाज राम्रोसँग निस्किएन । सुरजले बुझ्यो सायद । हातखुट्टा चलाउन खोजेँ तर सकिन । आँखा घुमाउन खोजेँ त्यो पनि सकिन । अहो! दुइटै खुट्टामा पलास्टर, एउटा हातमा पनि पलास्टर, शरीर चलाउन खोज्छु तर पीडाले रन्थनिएँ । म धुरुक्क रोएँ । सुरजले देखेको नदेख्यै उभिइरह्यो । सुनिता र उमेश एकसाथ आएर आँखाको आँसु पुछिदिएँ ।
सुरजलाई हेरेर मनमनै भनेँ –सुरज नजिक आएर मलाई छातीमा लगाउनु न के ।
तर ऊ नजिक आएन । आँखाबाट बरर्र आँसु खस्यो । आमाबा, सुनिता र उमेशले ‘तिमी ठीक हुन्छौ’ भनेर हौसला दिए । म भने आँखा झिमिक्क नगरी सुरजलाई हेरिरहेँ । उसले देखेको नदेख्यै अगाडि उभिइरह्यो ।
गति मनपथ्र्याे, साँझबिहान जतिखेर पनि साइकलमा कुँदिरहन मनपथ्र्याे । तर ह्विलचेयरमा सीमित हुनुप¥यो । उमेशका दाजूबहिनी जतिबेलै पालैपालो मसँग रहन्थे । सुरज किन हो कुन्नि परैबाट एकनास हेरेर फर्कन्थ्यो । साथीभाइ भन्दा बढी ऊसँग समय बिताउन चाहन्थेँ म । चाहन्थेँ, उसले छेउमा आएर भनिदेओस् –हेइ मेरी लडाकु । छिटो उठ न । तिमी र म भएर खुब घुम्नुपर्छ ।

ऊ मेरो लोग्ने, सबैभन्दा बढी माया गरेको मान्छे । ऊ किन नजिक आउँदैन ? गाली गरोस्, अबदेखि यस्तो नगर्नु भनेर सम्झाओस् तर नजिक त आओस् । उसलाई के थाहा आफ्नो शारीरिक अवस्थाले भन्दा पनि बढी त उसको बेवास्ता सम्झेर कति रुन्छु ।
‘न्युरोलोजिकल इन्जुरी’ अर्थात मस्तिष्कमा चोट लागेको रहेछ । आमाबाले काठमाडौं लैजाने जिद्धी गर्नुभयो । खासमा मलाई सुरजलाई छोडेर कहीँ जान मन थिएन । बाँच्ने हो कि मर्ने के थाहा ? मसँग बहिनी र सुनिता जाँदैथिए । सुरज मसँग नजाने भयो । उमेश त झन् किन जाओस् मसँग । ऊ मेरो लोग्ने होइन ।
शरीर पनि राम्रोसँग चल्दैनथ्यो, आँखाको भाका शायद सुरजले बुझेन । भैरहवा एयरपोर्टमा छोडेर सुरज बिदा भयो । छुट्ने बेला उमेशले भन्यो –हेइ फाइटर नरुनु ल । म छिट्टै आइहाल्छु ।
अहो! खुसीले आँसु टम्म भरिए । ऊ मलाई भेट्न आउनेछ । मेरो साथी, मेरो बिहेमा आएन । तर शायद जीवनको अन्तिम क्षणमा ऊ मसँग हुनेछ ।

सर्जरीपछिको एक्लोपनले खुबै गाँज्थ्यो । खान, दिसापिसाब गर्न, सुत्न उठ्न अरुको भर पर्नु पर्दाको अवस्था साह्रै नाजुक हुँदो रहेछ । सुरज साँझ छ बजेतिर पन्ध्र मिनेट भिडियो कलमा के के बोल्थ्यो । बोल्न खोज्दा सास रोकिएला जस्तै हुन्थ्यो । आवाज निकाल्न खोज्दा ढाड दुखेर मर्नु जस्तै हुन्थ्यो । त्यसैले ऊ बोलेको सुनिरहन्थेँ । दोहोरो कुरा गर्न पाए कति जाती हुन्थ्यो । भिडियो कलबाट छुट्ने बेला उसले ‘लव यु’ या ‘मिस यु’ भन्छ होला भनेर कान ठाडा हुन्थे । तर भन्दैनथ्यो । उमेश भने भिडियो कल हुँदा सुरुमा चुपचाप बसिरहन्थ्यो । उसले मलाई बोलाओस् भनेर पर्खिबस्थेँ तर उसले नबोलाएपछि सासले मात्रै सुस्तरी ‘उमेश’ भनेर बोलाउँथेँ । तब मात्रै ऊ ‘हेइ फाइटर राम्रो हुँदैछ’ भनेर मुस्कुराउँथ्यो ।
मलाई आफु बाँच्छु जस्तो पनि लाग्दैनथ्यो । तर सुनिता र बहिनीले हौसला दिइरहन्थे । उमेशले उस्तै हौसला दिन्थ्यो । अनि लाग्थ्यो, म बाँच्नुपर्छ । हुन पनि म मर्न चाहन्नथेँ । म निको भएर बुटवल फर्केर सुरजसँग सुखद बैबाहिक जीवन पुनः सुरुवात गर्न चाहन्थेँ । छोराछोरी जन्माएर तिनलाई हुर्काउन चाहन्थेँ । हो, मलाई मर्नु थिएन यसरी बैंसमै ।
महिनादिनपछि उमेश काठमाडौं आयो । उसकी बहिनी सुनिता मसँग थिइ । ऊ आएपछि सुनिता बुटवल फर्किने भइ । जानेबेला सुनिताले गालामा सुस्तरी म्वाइ खाएर भनी –हेइ फाइटर तिम्रो लागि नयाँ मोडलको साइकल किनेर राख्छु ल । छिट्टै निको भएर आउनु है ।
उनको घाँटीमा सुस्तरी हातले बेरेर कानमा सासले भनेँ –सुरजलाई आइ लव यु भन्देऊ है ।
‘हेइ फाइटर तिमीले मलाई अंगाल्यौ ।’
बहिनी र उमेश खुसीले मलाई समाउन आइपुगे । सुनिता खुसी भएर मेरो टाउको मुसार्दै बोली –हेइ फाइटर तिमी पहिले जस्तै हुनेछौ । हिम्मत गर्न चाहिँ नछोड है । म तिम्रो सुरजलाई तिम्रो माया पु¥याइदिन्छु । तर नरुनु ल उसलाई सम्झेर ।
मैले हस भनेर सुनिताको निधारमा सुस्तरी म्वाइ खाएर उनलाई बिदा गरेँ ।
अस्पतालको बिछ्यौना, उपचार उस्तै महङ्गो थियो । उमेशले अस्पताल नजिकै एउटा कोठा भाडामा लियो । थेरापी चलिरहेथ्यो, अलिली हातखुट्टा चल्थे तर पलास्टर भएकोले उभिन सक्दिनथेँ । उमेश र बहिनीको साहरामा ट्वाइलेट आउने जाने गर्थेँ । कमोडमा पनि उचालेर राखिदिनु पथ्र्यो । उमेश र बहिनीले कत्ति पनि दिक्क नमानीकन एकदमै मायाले सेवा गर्थे ।
पाँच महिनापछि सुरज आयो । उसलाई देखेर खुसी भएँ म । ऊ आएपछि उमेश कता गयो कुन्नि ? राती सुरज ओछ्यानमा आएन । कुर्चीमा बसिरह्यो । मैले सुस्तरी बडो गाह्रो गरी भनेँ –सुरज नजिक आउनु न । ओंठमा चुम्नु, महशुस गर्न चाहन्छु हजुरलाई ।
सायद उसले बुझेन म बोलेको । हुन पनि मेरो आवाज नै प्रष्ट थिएन । तर आँखाको भाव त बुझ्नुपर्ने उसले । तीन वर्षे वैवाहिक जीवन सँगै बिताएको मान्छे ।
प्लास्टर निकालिसकेको हुनाले पहिलेभन्दा केही सजिलो त भएको थियो तर अझैँ पनि बहिनी र उमेशकै भर पर्नुपथ्र्याे हरेक कुरामा । ऊ राती पनि मसँग आएन । कुर्चीबाट उठेर भान्छाकोठामा गयो । म बहिनीसँग सुतेँ ।
भोलिपल्ट जानेबेला भन्यो –एकलाख रुपियाँ तिम्रो बहिनीको खातामा राख्देको छु ।
यति भनेर एकपटक पनि मतिर नहेरी गयो । उसले किन एकपटक पनि निधारमा चुमेन ? जानेबेला सुस्तरी मायाले किन अंगालेन ? म धुरुक्क रोएँ । के लोग्ने हुनुको कर्तब्य पैसाले मात्रै पुरा हुन्छ ? उसले किन सोंचेन, मलाई पैसा सँगै उसको मधुर वचन र साथको कति खाँचो छ भनेर ?
सुरज गएपछि उमेश आयो । बहिनी बाहिर गएकी थिइ । पहिलो पटक उसले ट्वाइलेट लगिदियो । र ह्विलचेयरमा सीमित भएको यत्रो महिनापछि पहिलो पटक लाग्यो, म किन बाँचिरहेछु । उसले किन सेवा गर्ने मेरो ? ऊ मेरो लोग्ने हैन । उसको ठाउँमा किन सुरज भएन ?
राम्रोसँग हलचल गर्न नसक्ने शरीर बिछ्यौनामा लडाएर खुब रोएँ म । ऊ मेरो आधा शरीर थामेर चुपचाप आँसु पुछिरह्यो । रुन बिसाएपछि उसले ल्यापटपमा तस्बिर देखाएर भन्यो –हेइ फाइटर यो को हो ?
‘रोबर्ट प्याटर्सन । फरइभर क्रस ।’
वास्तवमा बोली प्रष्टिएन । तर उसले बुझेछ । बायाँ हातले अंगालेर ऊ मुस्कुरायो । अनि सुस्तरी भन्यो –तिमी र म भएर आज क्रिस्टन स्टुअर्ट र ‘रोबर्ट प्याटर्सनको ट्वाइलाइट बे्रकडाउन हेरम । तिम्रो फरइभर क्रसको फिल्म मेरो फरइभर क्रससँग बसेर हेर्न मज्जा आउँछ होला है ।
उसको अनुहारमा हेरेँ । के भन्दैछ ऊ ? म उसको फरइभर क्रस ?
‘तिमी मलाई मन पराउछौ ?’
उसले टाउको झट्का¥यो । अनि हड्बडाउदै भन्यो –साथी हौ मनपर्दैन त ?
‘डु यु लव मि ?’
‘अँ, साथीको रुपमा ।’
यसो भनेर उसले ल्यापटपमा फिल्म चलाउन थाल्यो ।

ट्वाइलाइट बे्रकडाउन । चुम्वन, यौन….अहो! सुरजसँगको पहिलो चुम्वन, पहिलो यौन अनुभव सम्झिएर भुतुक्क भएँ म । लाजले रातोपिरो पनि भएँ । फिल्म हेरिरहँदा एकपटक पनि उमेशको मुखमा हेर्न सकिन ।
योग र स्पिच थेरापी चल्दै थियो । औषधी नबिराइ खानुपथ्र्यो ।उमेशले काठमाडौंमा जागिर गर्न लागेको थियो । बिहानबेलुका बहिनी र उमेश मिलेर मेरो स्याहार गर्थे । दिउँसो बहिनी मात्र मसँग हुन्थी । उमेश अफिस जान्थ्यो । ऊ अफिसमा फुर्सद हुने बित्तिकै भिडियो कल गरेर भन्थ्यो –हेइ फाइटर अन्ताक्षरी खेल्ने ?
अनि हामी अन्ताक्षरी खेल्थ्यौं । साँझ फर्किदा मलाई मनपर्ने पहेंला, सेता राता पूmल बोकेर आउँथ्यो । किन हो कुन्नि ? म उमेशको निकै निकट हुँदैथेँ । साथी भन्दा बढी निकट । सायद सुरज जत्तिकै । अझ म उसको क्रस हुँ भनेर थाहा पाएदेखि त झन् उमेशलाई देखेपछि कस्तो कस्तो हुन्थ्यो मन । उसले सास फेर्दा, नजिक आएर लुगा मिलाइदिंदा, ह्विलचेयरमा राख्न निकाल्न सहयोग गर्दा, छोइदा म अर्कै हुन्थेँ ।
मैले आपैmलाई सम्झाउँथेँ –हैन हैन । उमेशसँग जतिबेलै सँगै हुन्छु नि त्यै भएर यस्तो लागेको हो ।
बहिनीले सुरजलाई बुटवलबाट झिकाइ । ऊ आएकै दिन बहिनी बुटवल फर्किइ । उमेश कता गयो थाहा भएन ।
राती सुत्नेबेला भनेँ –सुरज सात महिना भयो हामी एक नभएको ।
उसले बुझेन । कानमा सुस्तरी भनेँ –सेक्स ?
‘नो, तिमी सक्दैनौ ।’
‘तर म चाहन्छु ।’
‘जिद्धी नगर न । खुरुक्क सुत ।’
‘किस ? प्लिज ।’
मन नपरेको आँखाले हेरेर सुस्तरी ओंठ छुवायो ।
त्यसपछि मौनता छायो धेरैबेर । हिजोआज म नजिक जाँदा उसलाई कस्तो कस्तो हुँदैन ? किस गर्दा पनि किन सामान्य देखिएको ऊ ? के साँच्चै ऊ मप्रति आकर्षित हुँदैन अचेल ? कि उसको जिन्दगीमा कोही पराइ आइसकेको छ ? के म यति टाढाको भइसकेँ ? उसले किन आफ्नो शारीरिक चाहना मसँग ब्यक्त गर्दैन ?
झण्डै आधाघण्टापछि रोकिइ रोकिइ मैले भनेँ –सुरज पहिले भन्दा धेरै ठीक हुँदैछु । अलिली पाइला चाल्न पनि सक्छु । बोली पनि पहिले भन्दा प्रष्ट हुँदैछ । प्लिज मलाई टाढा नराख्नु न आफुदेखि । म हजुरलाई धेरै मिस गर्छु । आउनु न प्लिज एकैछिन भएपनि छातीमा लगाएर माया गर्नु न ।
‘पहिले जस्तै बन्न त सक्दैनौ नि ।’
अचम्म, ऊ के भन्दैछ ? म ज्युँदो छु यति नै काफी हुनपर्ने होइन र उसलाई ?
‘त्यो यहाँ के गरिराछ तिमीसँग ?’
त्यो अर्थात उमेश । अहो! उसलाई नराम्रो लागेछ ।
सुस्तरी भनेँ –हजुर आउनु त ऊ आपैm गइहाल्छ नि । ऊ कुन खाँचोले अपाङ्गलाई किन कुरिबस्छ ? ऊ त मेरो साथी हो । हजूर मेरो लोग्ने हुनुहुन्छ । हजुरभन्दा महत्वपूर्ण मेरो जिन्दगीमा अरु कोही पनि छैन ।
उसले कुनै प्रतिक्रिया जनाएन । किचन कोठामा गयो । जहाँ उमेश सुत्ने गथ्र्याे । राती ऊ म भएको ठाउँमा आएन । किचनमै सुत्यो । राती कत्ति पनि निदाउन सकिन । रातीमा दिसापिसाब चाहिँ नआइदिए हुन्थ्यो भनेर मनमनै कामना गरिरहेँ । सुरजलाई रातीमा उठाएको मनपर्दैन । तर दिसापिसाब रोकेर रोकिने चीज हुन् र ? पिसाब आइहाल्यो । दुइृ पटक सुरजलाई बोलाएँ । तर सुनेन । बिस्तारै उठेर भित्ता समाउदै ट्वाइलेट गएँ र उभिएरै सुइँकाइदिएँ । छिः लगाएको हाफ कट्टु भिज्यो ।
ओछ्यानमा आएर पिसाब लागेको कट्टुसँगै पल्टिएँ । सम्झिएँ, उमेश कहाँ होला यतिबेला ? के ऊ कोही साथीको कोठामा छ होला ? मोबाइलको डाटा अन गरेँ । ऊ अनलाइनमै थियो । कल गरेँ । अनिंदोले मात्तिए जस्ता देखिएका थिए उसका आँखा ।
‘हेइ ।’
‘हाइ ।’
‘किन कल गरेको ?’
‘तिमी कहाँ छौ ?’
‘के भन्यौ ?’
‘कहाँ छौ भनेको ।’ –अलि चिच्याएर भनेँ ।
‘चेयर्स’ भन्दै उसले गिलास देखायो । मैले बुझिहालेँ ऊ कुनै क्याफेमा छ ।
उसले पिएको मलाई मन परेन । रिसाएर सम्पर्क टुटाएँ । तर रिसाइहाल्नुपर्ने कारण थिएन । उसको जिन्दगी हो ऊ जसरी जिओस मलाई के खाँचो ? कहिलेकाहीँ पिओस् मलाई के को टाउको दुखाइ ?
बिहान उठेपछि सुरज कोठामा आयो । म ट्वाइलेट गएर आइसकेको थिएँ । राती पिसाबले भिजेको कट्टु सुकेर फेरि बिहान ट्वाइलेट जाँदा भिजिसकेको थियो । सायद उसले गन्हाको चाल पायो ।
मतिर नहेरीकन भन्यो –ओछ्यानमै सुसु ग¥यौ ?
‘हैन कट्टुमा मात्रै ।’
लाजले भुतुक्क हुँदै मैले भनेँ ।
ऊ नबोली मसँगै ओछ्यानमा बस्यो । अनि मेरो हात समाएर औंलाहरु खेलाउन थाल्यो ।
‘सुरज, लव यु ।’
अनुहारमा हेरेर फिस्स हाँस्यो । अनि भन्यो –भरे नाइटमा जाँदैछु । तिम्रो बहिनी भोलि आउछिन् । खर्चपर्चको केही चिन्ता नगर । मैले तिम्रो खातामा हिजो मात्रै केही पैसा ट्रान्सफर गर्देको छु । तर आफ्नो राम्रो ख्याल गर है । म तिमीलाई धेरै मिस गर्छु यार ।
मैले भनेँ –सुरज म पनि घर जान्छु । म पनि हजुरलाई धेरै मिस गर्छु । मरे पनि म हजुरकै काखमा मर्छु । तर प्लिज मलाई घर लग्नु न सुरज ।
उसले भन्यो –घरमा तिम्रो स्याहार कसले गर्छ ?
के भन्दैछ ऊ ? घरमा कसले स्याहार गर्छ रे ? घरमा सासुससुरा हुनुहुन्छ, आमाबा नजिकै हुनुहुन्छ । सबैभन्दा महत्वपूर्ण मान्छे सुरज पनि त सँगै हुन्छ । काठमाडौंमा को छ र मेरो ? हुन त एक्लो बहिनी र उमेशले मेरो स्याहारसुसार गर्दा कहिल्यै महशुस हुन दिएनन् कि, तिनीहरुलाई पनि दिक्क लाग्छ ।
दुइ बजेतिर सुरज गयो । म ह्वाङ्ग रित्तो मन लिएर बसिरहेँ । राती आठ बज्न लाग्दा पनि उमेश आएन । फोन गरेँ । उठेन । भ्वाइस म्यासेज पठाएँ –
‘हेइ, सुरज गयो । तिमी आउन्नौ घर ?’
घर ? म्यासेज पठाइसकेपछि लाग्यो डेरा भन्नुपथ्र्याे । घर भनेको त गृहस्थी हो । जस्तो सुरज र मेरो । यो त डेरा हो । बहिनी म अनि उमेशको ।
नौ बजेतिर हुर्रिदै आयो । सायद अलिली मातेको थियो । ढोकाबाट ‘हेइ’ भनेर बाथरुम छि¥यो ।
दश मिनेटपछि भिजेको कपाल र जिउ लिएर कुर्चीमा बस्यो ‘हेइ’ भन्दै । कति मिठो सुनिएको उसको मुखबाट निस्केको ‘हेइ’ ।
‘ट्वाइलेटमा पनि म आफै गएँ ।’
‘हेइ, फाइटर । म एकदिन घर नहुँदा यत्रो प्रगति ? भोलिदेखि त झन् सधैँका लागि बाहिर बस्नुपर्छ कि क्या हो । तर खुट्टाको बलमा नहिँड बलजफ्ती, राम्ररी निको भैसकेको छैन ।’
सधैँका लागि बाहिर ? कस्तो नमिठो सुनिएको ।
हातको इशाराले नजिक आऊ भनेर बोलाएँ । ऊ नजिक आयो । नजिक आएपछि अनुहार बिगा¥यो । अनि मलाई उठाएर चेयरमा राखेर ओछ्यानको तन्ना, ओढ्ने लुगा सबै फे¥यो । र भन्यो –तिमी आफै ड्रेस चेञ्ज गर्न सक्छौ ?
‘अँ’ भने । उसले दराजबाट कट्टु, भेस्ट र ब्राप्यान्टी निकालेर बाहिर गयो । आउँदा दाल भाततरकारी र कुखुराको मासु बोकेर आयो ।
उसैले खुवाइदियो । उसको हातबाट खाइरहँदा पहिलो पटक महशुस गरेँ, ऊ कस्तो राम्रोसँग खुवाउन जानेको ।
खाइसकेपछि आधा जिउ उसको काँधमा बिसाएर उसले दुइ वटा कथा र थुप्रै चुटकिलाहरु सुनायो । तर मेरो ध्यान उसले सुनाएको चुटकिला र कथामा भन्दा उतिर थियो । नछाँटिएको दाह्री, नशिला आँखा अनि घरिघरी मायाले छोइने कति सुन्दर हात ।
कथा चुटकिला सुनाइसकेपछि मोबाइलमा गीत बजायो । नेपाली, हिन्दी अनि अंग्रेजी सबै मलाई मनपर्ने गीत थिए ।

शारीरिक कमजोरीसँग जुध्नु सजिलो थिएन । थेरापी, योग चलिरहेथ्यो । उमेश र बहिनी मेरो दुइटा खुट्टा थिए । जसको साहरामा म उभिन्थेँ, चल्थेँ । तर म पुरुषसँग छोइनु, सुरजको सास फेराइ, उसको सुगन्ध मिस गरिहरन्थेँ । मैले सजाएर राख्ने बेडरुम, बेडरुमबाट देखिने सडकको चहलपहल, सुरजको काख अंगालो सबै सबै चीज मिस गर्थेँ ।

यसैबीच बहिनीको बिहे हुने भयो । हप्तादिनको लागि बुटवल जाने भयौं । तर उमेश नजाने भयो । कस्तो नरमाइलो लाग्यो । तर उसले आफ्नो अफिसमा छुट्टी नमिल्ने कारण बताएर बुटवल नजाने भयो । बहिनी र म मात्रै बुटवल गयौं ।
बुटवल पुगेपनि घर गइन । आमाबाकोमा बसेँ । बुटवल पुग्ने बित्तिकै उमेशलाई सम्झिन थालेँ । सबैजना रमाइरहेका थिए । तर म भने उसलाई सम्झिरहन्थेँ । सुरज छेउमै थियो तर म किन बहकिएको थिएँ कुन्नि ? 
बहिनी अन्मिएर गइ । राती सुरज मसँगै  बस्ने भयो । ऊ एकदमै मातेको थियो । छेऊ आउँदा पनि ह्वास्स गन्हायो । म थपक्क कुनामा सुतेँ । उसले आफूतिर तानेर भन्यो –आठ महिना भयो तिमीबाट टाढा भएको ।
‘हजूर मात्नुभाछ । भोलि कुरा गरौंला ।’
ऊ हाँस्यो । रक्सी गन्हाएर मर्नु भएको थियो मलाई । उसले मेरो ओंठ छोयो बिस्तारै हातले अनि अनुहारभरि पनि मुसा¥यो । बेस्सरी सास बढ्यो मेरो । सायद उसको निकटताले होला तर मलाई ऊ मातेर मुखबाट आएको गन्ध पटक्कै मन परेन ।
‘तिमीलाई थाहा छ ? तिमी अचेल झन् राम्री देखिन्छौ नि ।’ –सुरजले भन्यो ।
मुस्कुराउँदै उसको गालामा च्वाक्क म्वाइ खाएँ । उसले आफ्नो मुख ओंठतिर ल्याउँदै भन्यो –के तिमी चाहन्छौ ?
‘अँ, तर आज होइन । यु आर ड्रङ्क ।’
ऊ हाँस्दै उत्तानो फर्कियो । अनि निदायो । म निदाउन सकिन न त सुरजलाई ब्युँझाउन नै सकेँ । 
उठेर छतमा गएँ । बुटवल अझैं ब्युँझै छ । सुरजसँग बिबाह हुनुभन्दा अगाडिसम्म साँझ परेपछि उमेश, सुनिता, बहिनी र म भएर साइकलमा टाढाटाढासम्म पुग्थ्यौ । कहिलेकाँही राती अबेरसम्म सिद्धबाबाको पहिरोमाथि बसेर तल दोभानतिर ढुङ्गा हान्दै बस्थ्यौं । उमेश र सुनिता दुबैलाई थाहा थियो सुरज र म प्रेममा छौं भनेर । तर सुरज कहिल्यै पनि मसँग साइकलिङ गएन । उसलाई साइकल चलाउन मनपर्दैनथ्यो । उसलाई बाइकमा हुँइकिन मनपथ्र्यो । हाम्रा रुचीहरु समान थिएनन् तर पनि हाम्रो पे्रम निकै बलियो थियो ।
उमेशलाई भिडियो कल गरेँ । ऊ मेरै ओछ्यानमा रहेछ । बोलेन हेरिरह्यो मात्रै ।
‘हेइ ।’
‘हाइ ।’
‘खायौ ?’
‘अँ ।’
‘मिस मि ?’
‘या ।’
‘साइक्लिङ ?’
ऊ बोलेन । 
‘सिद्धबाबा ?’
बोलेन । 
‘तिनाउ किनार र बदाम ?’
‘नो, मात्र तिमी ।’  
उसको कुरा सुनेर केही भन्नै आएन । केही भन्न नसक्नु र भन्न नआउनु निकै गाह्रो कुरा रहेछ । अझ त्यो भन्दा गाह्रो मौन रहन थियो । उताको सास यता महशुस हुनु र यताको सास उता महशुस हुनु तर  केही बोल्न नसक्नु साह्रै मुस्किल रहेछ । 
झण्डै एक मिनेटको मौनतापछि उसले भन्यो –हेइ, कहिले आउँछौ ?
‘थाहा छैन । नआउन पनि सक्छु ।’
फेरि मौनता छायो । अनि छाइरह्यो ।

 आमाबाले मलाई फेरि काठमाडौं पठाउने नपठाउने भनेर छलफल गर्नुभयो । उमेशको भरोसामा मात्रै डेरामा बस्न दिने कुरा पनि भएन । पहिले पो बहिनी थिइ अब बहिनी आफ्नो लोग्नेलाई छोडेर मसँग बस्न सक्दैनथिइ । सुरजसँग यस विषयमा कुरा भएको थिएन । बिहेको साँझ मातेर सुतेको सुरज भोलिपल्ट बिहानै उठेर गएको फेरि फर्केर आएको थिएन । फोन म्यासेज पनि केही गरेको थिएन । खोइ किन हो कुन्नि एकपटक पनि घर आऊ भनेर भनेको थिएन । हुन त म आफ्नो घर उसले नबोलाए पनि जानसक्थेँ । तर म पनि गइन ।
घाम डुबेपछि छतमा बसिरहन्थेँ । जून उदाउञ्जेल पनि माथि आकाशतिर हेरेर के के सोंचिरहन्थेँ । आमा खाना पनि छतमा नै ल्याइदिनुहुन्थ्यो । अनि मैले खाइ नसुकुन्जेल छेउमा बस्नुहुन्थ्यो । अनि भन्नुहुन्थ्यो –ज्वाइँ आज पनि आउनुभएन ।
आमाबालाई भन्न सक्दिनथेँ मलाई पनि सुरजको प्रतिक्षा छ भनेर । 
बहिनी र उनको लोग्ने आए । आउने बित्तिकै कसिलो गरी अंगालेर बहिनीले भनी –एकचोटी पनि फोन गरिनस् तैंले । कति मिस गरेँ मैले ।
सुरज बहिनी ज्वाइँलाई भेट्न पनि आएन । बहिनीले भनी –खोइ भेना, मलाई भेट्न पनि आउनुभएन ।
मैले भनेँ –तेरो भेना बिहेको भोलिपल्ट जानुभाको अझैं फर्केर आउनुभाछैन ।
बहिनीले शसङ्कित आँखाले मलाई हेरी र सुरजलाई फोन लगाइ । 
भोलिपल्ट ऊ आएर बहिनी ज्वाइँलाई भेटेर गइहाल्यो । बहिनी, आमाबा दुःखी हुनभयो ।
राती छतमा गएर बसेँ । बहिनीलाई भनेर छतमै ओछ्यान लगाएँ । 
आकाश छर्लङ्ग उज्यालो छ । तर मेरो मन उज्यालो छैन । आकाशमा ताराहरु कस्तरी चम्किइरहेछन् तर म भने अँध्यारो मुख लाएर उत्तानो परिरहेछु । 
मोबाइल हेर्छु । उमेश र सुरज दुबै अनलाइन छन् । सुरजलाई म्यासेज गरेँ । तर जवाफ आएन । थुप्रैबेरसम्म जवाफ पर्खिइरहेँ तर आएन । उमेशलाई ‘हेइ’ लेखेर पठाएँ । जवाफमा उसले भिडियो कल ग¥यो ।
‘हेइ, फाइटर ।’
‘हेइ ।’
‘चुटकिला ?’
‘अँ ।’  
उसले चुटकिला सुनायो तर म हाँसिन । 
‘साइक्लिङ?’
सुनेर कानकानसम्म मुस्कुराएँ म । ऊ पनि मुसुमुसु मुस्कुरायो ।

अन्ततः म काठमाडौं नफर्किने भएँ । सामान्य हिँडडुल गर्न र बोल्न सक्ने भएकाले आमाबाले बुटवलमै बसेर उपचार गराउने निर्णय गर्नुभयो ।
घर गएँ । दुइ महिना पाहुना जस्तो खाने बस्ने सुत्ने उठ्ने मात्रै गरिहरेँ । दुइ महिनाको बीचमा पनि सुरज र म बीच कुनै सम्बन्ध थिएन । ऊ छेऊ आउँथ्यो तर एकदमै सामान्य भएर निदाउँथ्यो ।
एकरात भनेँ –सुरज म चाहन्छु ।
ऊ मुसुमुसु हाँस्यो । उसको हात समाएर भनेँ –के हजूर चाहनुहुन्न ?
‘चाहन्छु, तर तिमी सक्दैनौ ।’
गहु्रङ्गो मन लिएर पल्टिएँ ओछ्यानमा । अनि भोलिपल्ट बिहानै उठेर भनेँ –म काठमाडौं फर्किन्छु ।
सुरज अनि सासुससुरा केही पनि बोल्नुभएन । तर म हिँड्ने बेला सुरज निकै दुःखी देखिएको थियो । मैले उसको अनुहारमा राम्ररी हेर्न पनि सकिन । हुन पनि मलाई रीस उठेको थियो । सुरजले कसरी नकार्न सक्यो मलाई ? उसलाई श्रीमतीसँग समय बिताउन किन मनपर्दैन ? उसको म बाहेक अरु कसैसँग सम्बन्ध स्थापित नभाकोे भए यसरी बस्न सक्थ्यो ऊ । उसलाई मेरो आवश्यकता छैन भने किन म उसको घरमा बस्ने ? दयाको पात्र भएर जिन्दगीभर यसैगरी बाँचिरहुँ ? बरु मर्छु नि उपचार नपाइ नपाइ । परिवार आफन्तबाट टाढा रहेरै मर्नुपरेछ भने पनि ठीकै छ तर म यसरी दयाको पात्र भएर बस्दै बस्दिन ।
काठमाडौं पुग्दा उमेश कोठामा थिएन । फोन गरेर आइसकेँ भनेर जानकारी गराएँ । ऊ हुर्रिदै कोठामा आयो ।
उसले खाना बनायो, खुवायो अनि भाँडाकुँडा सफा ग¥यो । अनि सधैँ जस्तो दुइ पेज पुस्तक पढेर सुनायो । दुई वटा चुटकिला र केही गीतहरु पनि सुनाएपछि भन्यो –तिमीलाई आज किन निंद नलागेको ?
‘तिमी जाऊ म सुत्छु ।’
ऊ कोठामा पुग्दा नपुग्दै भिडियो कल गरेँ उसलाई ।
‘हेइ ।’
‘हैइ ।’
‘शूभरात्री ।’
‘शूभरात्री ।’
उसले शूभरात्री भनेपछि मुस्कुराएँ म । ब्यर्थैै किन कल गरेको उसलाई मैले । शूभरात्री त कोठाबाट ऊ निस्कने बेला पनि त भन्न सक्थेँ नि ।
ऊ मलाई बिरामी जस्तै ब्यवहार गथ्र्याे । बिहान सबेरै उठाउनु, योगका अभ्यास गराउनु अनि थेरापी साँझ फेरि एकडेढ घण्टा बाहिर निस्कनु, कोठामा आउनु, गीत कथा चुटकिला सुन्नु । दिउँसो अफिसमा खाली समय हुने बित्तिकै ‘हेइ’ अनि ‘बाइ’ भन्नु । यिनै हाम्रा दिनचर्या थिए ।
एक महिना बित्यो । पैसा सकियो । आमालाई फोन गरेर पैसा चाहियो भनेँ । तर अहिले छैन ज्वाँइसँग माग भन्नुभयो । घरबाट निस्केर हिँडेदेखि सुरजसँग फोन त भएको छैन कसरी माग्नु पैसा ? कोठाभाडा, चामल, नुनतेलको जोहो त उमेशले गर्थ्यो। काठमाडौंमा थपक्क बसेर हुनेवाला थिएन । जागिर खोजिदेऊ भनेर उमेशलाई भनेँ । तर उसले खासै चासो दिएन । 
थेपारिस्टलाई भेट्न छोडिदिएँ । तर दुइदिनमै उमेशले थाहा पाइहाल्यो । अनि फेरि जान कर लागिहाल्यो । 
रातभरि निद्रा पर्दैनथ्यो । सुरजले न फोन गर्थ्यो न उठाउथ्यो । आमाले पाँच दिनपछि बीस हजार खातामा राखिदिनुभयो । तर त्यो दीर्घकालिन समाधान थिएन । 

बुटवलबाट उमेशकी बहिनी सुनिता आइ । ऊ सुत्ने गरेको भान्छाकोठामा के के कुरा गरे थाहा भएन । तर ती दुइले साह्रै मसिनो स्वरमा कुरा गरे । अनि नौ बजेतिर मात्र सुनिता मेरो कोठामा सुत्न आइ । 
उमेश र म वल्लो पल्लो कोठामा सुतेपनि हाम्रो केही सेकेण्ड भिडियोकल दैनिकी थियो । उसले कल ग¥यो । 
‘हेइ ।’
‘हेइ ।’
‘गुडनाइट ।’
‘गुडनाइट ।’
सुनिता चलमलाइ । सायद निदाएकी थिइन । जुरुक्क उठेर बत्ती बाल्दै भनी –हेइ फाइटर, दाइलाई मिस गर्दैछौ ?
‘उम ।’
‘जाऊ न त उता ।’
‘के भन्दैछौ ?’
‘उता कोठामा उमेश दाइसँग जाऊ भनेको ।’
‘के भनेको ? हामी बीच त्यस्तो छैन ।’
नजिक आएर सिरानीमा कुहिनो अड्याएर भनी –के भन्छौ यार ? केही छैन तिमीहरु बीचमा ?
‘अँ ।’
आफ्नै हात निधारमा बिस्तारै ठोकेर भनी –के गर्दैछौ यार तिमीहरु ? उता सुरज टाढिइसक्यो दाइ तिमीसँग बसेको कारण । तिम्रो लागि भनेर दाइले त्यति राम्रो जागिर त्याग्नुभयो । आमाबासँग कहिल्यै नतातिने गरी सम्बन्ध चिस्याउनुभयो । तर तिमीहरु चाहिँ अपरिचित जस्तै बाँचिरहेछौ ?
सुनिताको कुरा सुनेर कस्तो कस्तो भयो मनमा । भोलिपल्ट सुनिता गइ । दिनभरि खुब सोंचेँ । म किन ऊसँग छु ? उपचारका बेला मसँग मेरो लोग्ने हुनुपथ्र्याे, किन मसँगै भएन ऊ । लोग्ने र घर त्यागेर किन फकिएँ म काठमाडौं ?
साँझ ऊ आउँदा खाना तयार गर्दै थिएँ । दुर्घटनापछि पहिलो पटक भान्छामा छिरेको थिएँ ।
‘हेइ फाइटर वाकमा जानको लागि किन तयार नभाको ?’
चुपचाप लुगा फेरेर उसँग वाकमा गएँ । एक घण्टा जति हिँडेर घर फर्कियौं । त्यत्रो हिँडाइको बीचमा ‘हेइ’ ‘अँ’ बाहेक कुरा भएन । उसो त पहिले पहिले पनि धेरै कुरा गर्ने उसको बानी थिएन । मसँग त झन् एकदमै कम बोल्थ्यो ।
सधैँ जस्तो ऊ सुत्नका लागि भान्छाकोठामा छि¥यो । मैले भिडियो कल गरेँ ।
‘हेइ ।’
‘हेइ ।’
‘गुडनाइट ।’ –उसले भन्यो ।
गुडनाइटको सट्टा मैले भनेँ –कोठामा आऊ न ।
ऊ आयो । छेउमा बस भनेँ । तर के कुरा गर्ने भन्ने नै आएन । लगभग टाँसिएरै बसेर भनेँ –किन यसो गर्दैछौ ?
‘के गर्दैछु ?’
‘समय बर्वाद ।’
अगाडि आएको मेरो कपाल सारिदिँदै भन्यो –सुत ।
‘आज रातभरि कुरा गर्न मन छ ।’
कुरा गर्न मन छ त भनेँ तर के कुरा गर्ने भन्ने नै आएन । सुस्तरी उसको काँधमा टाउको बिसाएँ । शरीर झिनिन्न भयो । माते जस्तो, कस्तो कस्तो भयो । एकदमै मधुरो आवाजमा मैले भनेँ –उमेश छातीमा लगाउन मलाई । अधिकारले मायाले ।
‘हेइ फाइटर ।’
सुस्तरी बोल्यो ऊ । अनि एकदमै कसिलो गरी छातीमा लगायो । 
‘म चाहन्छु ।’
‘के ?’
‘तिमीमा डुब्न ।’
‘नो, फाइटर तिमी सक्दैनौ ।’
‘म सक्छु ।’
‘सक्दैनौ ।’
‘तर पनि चाहन्छु ।’
‘तर के तिमी पक्का चाहन्छौ ? अनि सुरज ?’
जवाफमा कमलो चुम्बन दिएँ उसको गालामा ।

साथी भन्दा माथि पुगेर एक भएको त्यो एक रात सोंचे जस्तो सुखद भएन । थाहा थिएन उमेशलाई कस्तो लाग्यो । मलाई भने कस्तो पछुतो लाग्यो । सुरजलाई सम्झेर कस्तो नमिठो लाग्यो । आवेशमा आएर मैले के गरेँ यार ? यसले न मलाई खुसी दिएको छ न त उमेशलाई नै खुसी दियो । 
भोलिपल्ट नियमित काम सकेर ऊ अफिस गयो । सधैँ फुर्सद हुने बित्तिकै भिडियो कल गथ्र्याे त्यो दिन गरेन । साँझ पनि खासै कुरा भएन । उसो त पहिले पहिले पनि हामीबीच उस्तो कुरा हुने त होइन । तर त्यो रातको भोलिपल्ट त झनै भएन । हेइ फाइटर, खायौ, खान्छौ बाहेक अन्य कुरा भएन । म चाहन्थेँ, अघिल्लो रातको बारेमा कुरा गरोस् । 
मस्तिष्कमा अघिल्लो रात र उसको मेरो सम्बन्धलाई लिएर कुरा खेलिरहन्थेँ । उसको त्याग अनि मप्रति देखाएको सहानुभुतिको बदलामा किन त्यो रात सुम्पिएँ ? उसको मनमा के चलिरहेको होला ? के सोंच्दैछ होला मेरो बारेमा ? सुरजले थाहा पायो भने के होला ? उसलाई धोका दिनु अघि किन सोंचिन म उसलाई पे्रम गर्छु । प्रेम त आखिर प्रेम हो नि । एउटा सानो कारणले गर्दा घर अनि श्रीमान त्यागेर हिँड्नु कति ठुलो गल्ती भयो ।
राती सुत्ने बेलामा अलमल गर्दै कोठामा यताउता गरिरह्यो । अघिल्लो रातको घटना भन्दा अगाडि अलमल नगरी जान्थ्यो । जाऊ सुत्न भनेपछि मात्रै कोठामा गयो अनि भिडियो कल ग¥यो । 
‘हेइ फाइटर ।’
‘हेइ उमेश ।’
अब के भन्ने ? ४०÷४५ सेकेण्डको मौनतापछि भन्यो –केही भन्न चाहन्छौ ?
‘नाइँ, तिमी चाहन्छौ ?’
‘अँ, तिमीसँगै निदाउन अनि भोलि तिमीसँगै ब्युँझन चाहन्छु ।’
‘उमेश ।’
‘फाइटर ।’
‘फोन राख अनि सुत ।’
‘अँह, म हेरिरहन चाहन्छु यसरी नै ।’
भिडियो कल काटेँ ।
भोलिपल्टदेखि मेरो दैनिकी बदलियो । बिहानै उठ्नु, योग गर्नु, पुस्तक पढ्नु, खाना बनाउनु, थेरापीका लागि जानु । अनि साँझ फेरि वाकमा एक्लै जानु, फेरि खाना बनाउनु, पुस्तक पढ्नु, सानो आवाजमा गाउनु अनि सात नबज्दै ढोका थुनेर सुत्नु । उमेशको सहयोग, सुत्नु अघिका चुटकिला सुन्नु, भिडियो कल सबै बन्द भए ।
मुस्किलले निदाउथेँ । मनमा थरिथरी कुरा खेलिरहन्थे । दुर्घटना, सर्जरी, सुरजबाट टाढिनु अनि आर्थिक मन्दीबाट गुज्रिनुको बोझले एकैसाथ अँठ्याउथे मलाई । उमेशसँगको त्यो रात सम्झिदा त झन् पीडा र ग्लानी दुबै हुन्थ्यो ।
एउटै भान्छा  र ओछ्यान शेयर गरिसकेको मान्छेलाई बेवास्ता गर्नु सजिलो थिएन । झण्डै वर्षदिन दुःखमा सँगै भएको मान्छेलाई जाऊ भनिहाल्न पनि सक्दिनथेँ । आफै उठेर हिँडिहाल्न सक्ने कुरा पनि भएन । लोग्नेको घर त त्यागेर आइसकेँ, आमाबाको घर गएर सधैँ बस्न सक्दिन । यस्तोमा साहरा भन्नु उमेश बाहेक कोही पनि थिएन ।
एकसाँझ उमेश सधैँ भन्दा छिटो फर्कियो । खाना बनाएर बाहिर निस्कन लागेको थिएँ । उसले भन्यो –हेइ, फाइटर तीन जना केटाकेटी छन् । उनीहरुको घरमा गएर पढाउनुपर्छ सक्छौ ? म तिमीलाई त्यो घरसम्म पु¥याइदिन्छु । 
सक्छु भन्ने संकेतमा टाउको हल्लाएँ । उसले सुस्तरी भन्यो –तर पैसा धेरै आउन्न । पाँच हजार मात्रै दिन्छु भनेका छन् ।
 
पढाउन त सुरु गरेँ । तर सोंचे जस्तो सजिलो थिएन । एकै ठाउँ धेरै बेर बस्न सक्दिनथेँ । न त उभिन नै सक्थेँ । तर बाँच्न र आफ्नै खुट्टामा उभिनका लागि यति कष्ट सहनु नै पथ्र्याे । साँझ उमेशले शरीरमा तेल लगाएर मालिस गरिदिन्थ्यो । मलाई उसले शरीर छुँदा कस्तो कस्तो हुन्थ्यो । तर मालिस गरिसकेपछि शरीरमा आराम मिल्थ्यो । 
महिनाभरि दुःख गरेपछि तलब आयो पाँच हजार । औंला भाँचेर खर्च जोडेर हेरेँ । त्यो त एउटा कोठाको भाडा दिन पनि पुग्दैन । निरास भएर टाउकोमा हात लगाएर पैसा आउने थुप्रै विकल्प खोजेँ । 
घरबेटी भाउजूको सहयोगमा बोर्डिङ पढ्ने छिमेकका केटाकेटीको लिस्ट तयार गरेँ । म नेपालीमा राम्रो थिएँ । अतः कोठामै बोलाएर नेपालीमा कमजोर भएका विद्यार्थीलाई पढाउने मनसाय थियो । तर उमेशले भन्यो –तिमी धेरै विद्यार्थी सम्हाल्न सक्दैनौ । तीन जना बच्चालाई पढाएर फर्किदा त तिम्रो हालत कति खराब हुन्छ । अझ त्यति धेरै विद्यार्थी धान्न कसरी सक्छौ ? यो आफ्नै घर पनि होइन । केटाकेटी पढ्न आएपछि हल्ला हुन्छ । भाडामा बस्नेहरुले यस्तो मन पराउदैनन् । तिमी अहिले कसरी निको हुने भन्ने बारेमा सोंच । अब केटाकेटीलाई पढाउन पनि छोड । म म्यानेज गर्छु सबैकुरा ।

म निरास भएँ । अब के गर्ने ? मृत्यु कुरी बस्ने ? नखाएर ओछ्यान लागिबस्दैमा मृत्युु आइहाल्छ भन्ने के बिश्वास ? बाहिरफेर निस्केर पनि के काम गरुँ ? योग्यता पुग्दो शारीरिक रुपमा स्वस्थ मानिस त भने जस्तो काम नपाएर दिक्क छन् । तर यसो भनेर के म साँच्चै मृत्यु करी बसुँ त ? अँह, हुन्न मृत्यु कुरी बसेर हुन्न ।
एक दिउँसो उमेशलाई थाहा नदिइकन मैनबत्ती बनाउने तालिममा सहभागी भएँ । दोस्रो दिन जाँगर चलेन । फेरि अर्काे दिउँसो चावहिल पुगेँ जीवनबिमा सम्बन्धी तालिम लिन । पहिलो दिनको तालिम सकिदा नसकिदै मैले थाहा पाएँ त्यो पनि उपयुक्त छैन । किन की म मान्छेसँग भिज्नै सक्दिन । 
घरबेटी भाउजूको सिफारिसमा स्कूलमा आवेदन पनि दिएँ । तर त्यो त झन् स्विकृत पनि भएन । 
एकदिन घरबेटी भाउजूले पनि दिक्क भएर भन्नुभयो –तीनतारे होटलमा वेटर बन्ने हो त ?
म खिस्रिक्क हाँसेँ । भाउजू पनि हाँस्नुभयो । अब हुँदा हुँदा खुट्टा खोच्याउदै हिँड्ने, शारीरिक रुपमा कमजोर मान्छेलाई वेटरको काम दिन्छन् होला ? यदि दिइहाल्यो भनेँ ? आफैसँग मुस्कुराएँ म । घरबेटी भाउजूले प्याट्ट ढाडमा हान्दै भन्नुभयो –ऐइ, बन्ने हो त वेटर ?
‘दिनको तीन सय टिप्स आयो  भने महिनामा नौ हजार त टिप्सबाट नै आउने रैछ भाउजू ।’
सुनेर भाउजू हाँस्नुभयो । तर त्यो सामान्य हाँसोको पाटो मात्रै थियो । वेटर बन्न मेरो शारीरिक अवस्थाले नै दिँदैनथ्यो ।

एकदिन बुटवलबाट आमाबा आउनुभयो । उमेशसँग धेरैबेर कुरा गर्नुभयो । उहाँहरु बीच के के कुरा भयो थाहा भएन । पछि मलाई पनि राखेर सुरज र मेरो सम्बन्ध सुधार्ने र उमेश अबदेखि अलग कोठामा बस्ने सुझाव दिएर कुरा टुङ्ग्याउनुुभयो । ऊ मोबाइल, ल्यापटप र लगाएको एकजोर लुगामा कोठाबाट बाहिरियो । यस्तो लाग्यो, उसँगै शरीरबाट आत्मा भन्ने चीज पनि बाहिरियो ।
भोलिपल्ट सुरज पनि काठमाडौं आयो ।  उसले आमाबासँग म र उमेश एउटै कोठामा रहेको कुरालाई लिएर ठूलो गुनासो ग¥यो । तर आमाबाले उमेश मसँगै बस्नुका कारण बताउदै हामी बीच यौनिक या पे्रम सम्बन्ध नरहेको कुरा बताउनुभयो । तर उसले बिश्वास गरेन । 
आएकै दिन सुरज बुटवल फर्कियो । भोलिपल्ट हामी पनि बुटवल फर्कियौं । हामी सिधै घर गयौं । घर र कोठाका सजावट मैले छोडेर जाँदा जस्तो थिएन । एकदमै लथालिङ्ग थियो ।
आमाबा जसरी पनि हाम्रो सम्बन्ध सुधार्न चाहनुहुन्थ्यो । तर सुरज मसँग अलग्गिन चाहन्थ्यो । हुन पनि पराइ लोग्नेमानिसँग एउटै कोठामा बसेकी श्रीमतीसँग सँगै रहन पनि किन चाहन्छ र ? उसलाई मेरो घरपक्ष र माइतीले मलाई नछोड्न दबाब दिइरहेका थिए । उसले छोड्न चाहन्छ भने छोडोस् न त भनेँ तर त्यसपछि मलाई बोल्न नै दिनुभएन । 
सुरज एक्लो थियो । उसका लागि आवाज उठाइदिने कोही पनि थिएन । तर उसको आवाज सबैभन्दा टड्कारो र प्रभावकारी सुनिन्थ्यो । उसले बारम्बार दोहो¥याउने एउटै कुरा थियो –हामी बीच पे्रम र बिश्वास केही पनि बाँकी छैन । उनको उपचार गर्न मैले धेरै पैसा खर्च गरेँ तर अहिले आएर मेरो श्रीमतीले मलाई छोडेर साथीसँग एक्लै काठमाडौंमा बस्छ । अब म उनलाई कुनै पनि हालतमा स्विकार्न सक्दिन ।  
उसले त्यसो भन्दा मेरो टाउको लाजले झुक्यो । अहो! मबाट कत्रो गल्ती भयो । मैले कसरी बिर्सँे मलाई त्यति धेरै माया गर्ने लोग्नेको बारेमा ? कुन आवेशमा आएर मैले उमेशसँग सम्बन्ध कायम गरेँ ? म त माया गर्थेँ सुरजलाई तर कसरी धोका दिन सको उसलाई ? परिवार आफन्तलाई साक्षी राखेर उसको सिन्दुर पहिरिएको थिएँ । तर मैले बिबाह जस्तो पवित्र सम्बन्धलाई नै मजाक बनाइदिएँ । मेरो उपचारको लागि भनेर सुरजले लाखौं खर्च ग¥यो, कति बिरह र एक्ला रातहरु गुजा¥यो मबिना । उसलाई मेरो हातको सिरानी नलगाइ निंद पर्दैनथ्यो, खानेबेला म नै चाहिन्थ्यो । बिहान उठेर निधार नचुमी उसको दिन सुरु हुँदैनथ्यो । तर म मैले के गरेँ ? किन मैले बुझिन, सुरजलाई उमेश मसँगै मन परेको थिएन । किन मैले उमेशलाई तिमी मसँग नबस भनेर भन्न सकिन ? मैले तर्काएको भए उमेश जिद्धि गरेर मसँग पक्कै बस्ने थिएन । 
मलाई आफ्नो भुलप्रति निकै पश्चाताप भयो । तर म अब ती गल्तीहरु सच्याउन सक्दिनथेँ । बरु सुरजलाई साथ दिन चाहन्थेँ । तर मलाई बोल्न दिइएको थिएन । जसरी पनि हामी मिल्नै पर्ने कुरालाई जोड दिइरहेका थिए । मेरो शारीरिक र आर्थिक अवस्थाका कारण पनि सुरजसँग रहनै पर्ने दबाब माइती र घरपक्ष दुबैको थियो । तर मलाई माइती र घरपक्ष कसैको पनि कुरा मन परिरहेको थिएन । गैरपुरुषसँग सँगै बसिसकेकी श्रीमतीसँगै बस्न पर्छ भनेर कसरी भन्न सकेका ? म पनि त कुन मुख लिएर उसँग बसुँ ? गल्ती त मैले गरेको हुँ सजाय किन सुरजलाई दिउँ ? 
धेरै दिनको बादविवादपछि अन्ततः सुरज र मेरो सम्बन्ध बिच्छेद भयो । आमाबा धेरै रुनुभयो । म पनि खुब रोएँ । दुर्घटना हुनु अघिसम्म सुरज र मेरो सम्बन्ध कति मधुर थियो । बिर्सन नसकिने कति मधुर यादहरु छन् हामी दुइका । तर अब हामी सधैँका लागि टाढा भइसकेका छौं । बिहे भन्ने चीज कति कमजोर हुँदोरहेछ । सम्बन्ध जोड्न जस्तो सजिलो सम्बन्धलाई टिकाइराख्न नहुँदो रहेछ । ख्यालख्याल हैन रहेछ सम्बन्ध एउटा गल्ती गर त्यहाँ बिश्वास भन्ने सधैँका लागि मर्दाे रहेछ । 
रुँदैरुँदै काठमाडौं फर्किएँ । त्यहीँ साँझ उमेशलाई भनेँ –उमेश तिमी अब अलग्गै बस ।
मुस्कुराउँदै उसले अंगालेर भन्यो –हेइ फाइटर, माया गर्छु तिमीलाई । अलग्गिने कुरा किन  गर्छाै ?
प्रतिक्रियाहिन बसिरहेँ । उसले दुबै हातले अंगालेर गालामा चुम्यो । अहो! तातो चुम्बन, बिस्तारै बढेको सास अनि उसको स्पर्श । मिठो काउकुती लाग्यो । काखमा सजिलो गरी बसायो । अनि उसै गरी कसिलो गरी अंगालोमा बाँधेर सुस्तरी भन्यो –म चाहन्छु ?
‘के ?’
'SEX'
काउकुती झनै बढाउने गरी कानैमा ऊ बोल्यो ।
‘म सक्दिन ।’
घाँटीदेखि ओंठसम्म चुम्बन गर्दै भन्यो –तिमी सक्छौ ।
‘नाइँ, म सक्दिन । तिमीलाई थाहा छ नि, हाम्रो पहिलो सम्पर्क । त्यो दिन मलाई कति पीडा भयो ।’
उसको आलिंगन खुकुलो भयो । निधार खुम्च्याएर सुस्तरी भन्यो –हेइ फाइटर, सरी । तिमीलाई दुखाएँ मैले । भन्नुपर्छ नि, पीडा भयो भनेर ।
हाय! कति मधुर उसको बोली । उस्तै मधुर ब्यवहार । ऊबाट टाढा हुन्छु भनेपनि हुरुक्कै भएर उसँगै टाँस्सिइरहँु जस्तो ।
‘हेइ फाइटर, सरी । अबदेखि तिमीलाई दुखाउन्न । सत्य, ओछ्यानमा होस् या जिन्दगीमा । तर मदेखि नभाग न । पहिले भन्दा धेरै ठीक हुँदैछौ ।’
‘उमेश, मेरो कुनै गन्तब्य नै छैन । मेरो सानो संसारमा अल्मलिएर आफ्नो भविष्य अन्धकारमा नपार ।’
‘लव मि ?’
कस्तो प्रश्न यो ? उसँग छुट्टिने कुरा गर्दैछु । ऊ सोध्दैछ –लव मि ? 
‘हेइ फाइटर, लव मि ?’
‘अफकोर्स आइ लव यु । तर कुरा म तिमीलाई माया गर्छु या गर्दिन भन्ने होइन । कृपया आफ्नो लक्ष्य र गन्तब्य हराएर मसँग अल्झिइ नबस ।’
‘फाइटर, भन्दैछु । तिमीबाट टाढिएर कुनै गन्तब्य भेट्नु छैन मलाई । म जहाँ पुगेपनि तिमीसँगै पुग्छु, तिमीसँगै हुन्छु ।’
अ..... फेरि पनि हुरुक्क भएँ म । ऊ किन पृथक छ  ?  
‘सुन्यौ ? जहाँ पुगेपनि तिमीसँगै पुग्छु, तिमीसँगै हुन्छु । मलाई आफूदेखि अलग्गिन बाध्य नपार ।’
सुस्तरी कानमा बोल्यो ऊ । उसको गालासँग गाला जोडेर सुस्तरी बोलेँ म पनि –हेइ, आइ लव यु ।
उसका मादक आँखा र ओंठ एकैचोटि मुस्कुराए । दुबै हातले मेरो गाला समाएर ओंठमा चुम्यो । अनि बिस्तारै हात घाँटी, छाती हुँदै चारैतिर सलबलाउन थाल्यो । अहो! आँखा र ओंठ मात्र होइन उसको त हात पनि कति मादक । 
सहबासको क्षण उच्च स्वासप्रस्वासको ध्वनिमा मैले भनेँ –हेइ, आइ लव यु । 
हो म उसलाई माया गर्छु । उसलाई महशुस गराउन चाहन्छु साँच्चै माया गर्छु ।
मलाई पीडा भएन । साँच्चै पीडा भएन । त्यस रातदेखि  वल्लो पल्लो कोठामा बसेर भिडियो च्याटमा चल्ने हेइ र बाइ पनि सधैंका लागि अन्त्य भयो ।
दशैंको बेला बुटवल फकिर्याैं । ऊ आफ्नो घरमा थियो म आमाबाको घरमा थिएँ । उसलाई हरपल सम्झिरहन्थेँ । साँच्चै उमेश मेरो बानी बनिसकेको थियो । कालरात्रीको रात छतमा गएर उसँग भिडियो च्याट गरेँ । उसको पछाडि उसकी बहिनी सुनिता देखा परी । त्यसले भनी –हेइ फाइटर, मिस मि ?
‘याह ।’
‘डु यु वाना बाइक राइडिङ्ग ?’
‘सम्भव छ ?’
‘वेट एण्ड वाच ।’

पन्ध्र मिनेटपछि दुबै जना साइकल लिएर आए । आमाबालाई थाहा नदिइ सुटुक्क निस्किएँ म । रातको एघार बजे । सडकमा गाडीहरु खासै छैनन् । आकाशमा भर्खर जून उदाएको छ । उमेशको अगाडिपट्टि बसेर म कुँदिरहेछु । सुनिता केही अगाडि कुँदिरहेकी छे फिलिल्ल । यो क्षण म कति धेरै मिस गर्थेँ । आपैm साइकल कुँदाउन त सक्दिन तर उमेशको साथमा यसरी हिँडिरहँदा कम्ता खुसी लागेको छैन । 
सिद्धबाबा पुग्यौं । माथि डुङ्गामा गएर बस्यौं । उमेशको काँधमा मेरो टाउको अनि मेरो काँधमा सुनिताको टाउको । छेवैमा तीनवटा गुजुल्टिएका छाया, सुँइसुँइ चलेका हावा र तीन जनाको तेज स्वासप्रस्वास । आहा! लामो समयसम्म मिस गरेको यही पल त थियो ।