पाचथर, ५ मंसिर । पाँचथरस्थीत फिदिममा शनिबार सरस्वती दुमी राई र मधुराज केरुङद्वारा संकलित एवं सम्पादित प्रदेश १ का नारी श्रष्टाहरूको संयुक्त कविता संग्रह अजम्बरी अक्षरहरू पुस्तकको एक कार्यक्रमबिच चर्चा गरिएको छ ।
पाँचथरका नव उदित श्रष्टा तथा नेपाली साहित्यका हस्तिहरूको उपस्थितिमा याक्थुङ लेखक संघको आयोजनामा सो पुस्तकको चर्चा कार्यक्रम सम्पन्न भएको थियो ।
उक्त कृतिमाथि बोल्दै साहित्यकार प्रेम ओझाले अजम्बरी अक्षरहरू पुस्तकभित्र केही समसामयिक उत्कृष्ट कविताहरू रहे पनि प्रकाशनका क्रममा केही त्रुटिसमेत भएको बताएका थिए । जम्मा ५८ वटा समेटिएको सो कृतिमा कबिताहरूले समाजलाई अग्र दिशामा बढन सधै प्रेरित गर्ने साहित्यकार ओझाको टिप्पणी रहेकोे थियो । पाँचवटा भाषाभाषीको कविता समेत समेटिए पनि प्रदेश १ का केहि नारी श्रष्टाहरूको उपस्थिति कृतिमा छुटेकाले आगामी अङ्कको प्रकाशन संकलनमा ती श्रष्टाहरूलाई अनिवार्य नसमेटे अन्याय हुने प्रकाशन मण्डललाई ओझाको सुझाब थियो ।
कार्यक्रममा पाठक प्रतिक्रिया राख्दै साहित्यकार राधा स्मृतिले कृतिभित्रका कविताहरूले महिलाका समस्या र संवेदनालाई शशक्त रूपमा उजागर गरेको बताइन् । पाठक प्रतिक्रिया राख्दै साहित्यकार श्याम नयनले कृतिभित्र केहिबाहेक उत्कृष्ट र शक्तिशाली कविताहरू रहेको प्रतिक्रिया दिएका थिए ।
संकलक एवं सम्पादकको तर्फबाट आफ्ना कुरा राख्दै साहित्यकार सरस्वती दुमी राईले अजम्बरी अक्षरहरूमा यसपटक छुटेका प्रदेश १ का नारी श्रष्टाहरूलाई अर्को भागमा अवश्य समेटिने कुरा बताइन् । उक्त कार्यक्रममा दर्जन भन्दा बढी पाँचथरे श्रष्टाहरूले कविता तथा गजल वाचन गरेका थिए भने सो कार्यक्रम याक्थुङ लेखक संघका अध्यक्ष प्रकाश थाम्सुहाङको अध्यक्षतामा सम्पन्न भएको थियो ।