काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले ‘कहाली लाग्दो अर्थतन्त्र’ सुधारको गीत मात्र नगाउन सरकारलाई आग्रह गरेका छन्
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने क्रममा संसदमा बोल्दै अध्यक्ष नेपालले आयात रोकेर मात्र अर्थतन्त्र सुधार नहुने बताएका छन् ।
‘हाम्रो निर्यात ९ प्रतिशत छ भने आयात ९१ प्रतिशत छ । आयात र निर्यातको खाडललाई कसरी कम गर्ने ? अहिलेको मूल चुनौति यही हो’ अध्यक्ष नेपालले भने, ‘विदेशी मुद्रा संचितिकरण गर्न आयात रोकिएको होला । आयात रोकेर मात्र अर्थतन्त्रको सुधार हुँदैन । विकास र रोजगारले अर्थतन्त्र बलियो हुन्छ ।’
अध्यक्ष नेपालले बैंक तथा लघुवित्तको विकाराल समस्यालाई समयमा सुल्झाउन सरकारसँग आग्रह गरे ।
गठबन्धन टिक्ने या भत्किने दल र नेताको चरित्रमा भरपर्छ
अध्यक्ष नेपालले वर्तमान सरकार टिक्ने या भत्किने वर्तमान गठबन्धनका दलहरुको चरित्रमा भरपर्ने बताएका छन् । ‘नेता र दलहरुको ब्यवहारले छिटो–छिटो गठबन्धन बन्ने र भत्किने गरेको छ, यो गठबन्धनको भविश्यपनि ब्यवहारमै निर्भर छ’ अध्यक्ष नेपालले भने, ‘बैशाखमै फेरि विश्वासको मत लिने अवस्था सिर्जना नहोस् ।’
गठबन्धनको दृष्टीकोण स्पष्ट भए पाँच बर्ष टिक्ने दावी अध्यक्ष नेपालले गरे । ‘यो गठबन्धनको दृष्टीकोण स्पष्ट छ, त्यही भएर पाँच बर्ष टिक्छ ।’ विगतमा दृष्टीकोण खराव हुँदा दुईतिहाईको सरकार पनि ढलेको उदाहरण दिए । दुई तिहाईको सरकार जनता र संविधानका पक्षमा उभिने नसक्नेपछि ढलेको बताए ।
अध्यक्ष नेपालले बैदेशिक रोजगारमा रहेका नेपाली दाजुभाईका समस्यामा अनुदार नहुँन सरकारलाई आग्रह गरेका छन् । ‘कतिपय जेलमा हुनुहुन्छ, कतिपय सडकमा नारकीय जीवन विताइरहनुभएको छ, उहाँहरुको समयमा उद्धार गर्न म सरकारलाई आग्रह गर्दछु’ अध्यक्ष नेपालले भने ।