April 22, 2025, Tuesday
२०८२ बैशाख १०
1:37:26 pm

मुम्बईलाई पाचौँ पटक आईपीएल क्रिकेटको उपाधि

२०७७ कार्तिक २६

3.5K

एजेन्सी- मुम्बई इण्डियन्सले पाँचौँ पटक आईपीएल टी-ट्वान्टी क्रिकेटको उपाधि जितेको छ ।

दुबईमा मंगलबार राति भएको फाइनलमा दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गर्दै मुम्बई पाँचौँ पटक च्याम्पियन बनेको हो ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा दिल्लीले दिएको १ सय ५७ रनको लक्ष्य मुम्बईले १८ ओभर ४ बलमा ५ विकेट गुमाएर पूरा गर्‍यो ।

Advertisement

मुम्बईको जितमा कप्तान रोहित शर्माले ६८ रनको अर्धशतकीय इनिङ्स खेले । उनले ५१ बलमा ४ छक्का र ५ चौका प्रहार गरे ।

यस्तै इशान किसनले अविजित रहदै ३३ रन जोड्दा हार्दिक पाण्डयले ३ रन जोडे ।

ओपनर क्विन्टन डी ककले २० तथा सूर्यकुमार यादबले १९ रन जोडे । केइरन पोलार्ड ९ रनमा आउट भए । दिल्लीका एनरिच नोर्टजेले २ तथा मार्कुस स्टोनिस, कागिसो राबडाले १/१ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ७ विकेट गुमाएर १ सय ५६ रन बनाएको थियो ।

दिल्लीका लागि कप्तान श्रेयस आयर र ऋषब पन्तले अर्धशतकीय इनिङ्स खेले । श्रेयसले अविजित रहदै ६५ रनको योगदान दिए । पन्तले ५६ रनको अर्धशतकीय इनिङ्स खेले ।

खराब सुरुवात गर्दै २२ रन जोड्दा ३ विकेट गुमाएको दिल्लीका लागि पन्त र आयरले चौंथो विकेटका लागि ९६ रनको साझेदारी गरेका थिए ।