November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

फिफाले हटायो एन्फामाथिको आर्थिक बन्देज

770

काठमाडौं । विश्व फुटबल महासंघ (फिफा) ले १५ मार्च २०२१ मा नेपालमाथि लगाएको ‘कन्ट्रोल फन्डिङ्’को बन्देज हटाएको छ । चार वर्षपछि गत बिहीबार फिफाको गभर्नेन्स, अडिट एन्ड कम्प्लायन्स कमिटी (जएसीसी) को बैठकले नेपालमाथि लगाइएको उक्त बन्देज हटाएको एन्फाले जानकारी दिएको हो ।

आर्थिक अपारदर्शिता र भ्रष्टचारको आशंका गर्दै फिफाले १५ मार्च २०२१ मा अखिल नेपाल फुटबल संघ (एन्फा)माथि ‘कन्ट्रोल फन्डिङ’ लागू गरेको थियो । जसअन्तर्गत फिफाले एन्फालाई दिँदै आएको आर्थिक सहयोगलाई आफ्नो नियन्त्रणमा राखेर नियमन गरी खर्च गर्न दिन्थ्यो ।

अध्यक्ष नेम्बाङको नेतृत्वमा कार्यरत कार्यसमितिको आर्थिक पारदर्शिता र सुशासनमाथि विश्वास गर्दै फिफाद्धारा उक्त बन्देज हटाएको जनाएको छ ।

Advertisement

फिफाको निर्णयपछि एन्फाले स्वतन्त्र रूपमा आर्थिक सहयोग उपयोग गर्दै विभिन्न फुटबल प्रतियोगिता निर्धारित समयमै सञ्चालन गर्ने योजना बनाएको जनाएको छ ।

एन्फाले शनिबार जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचन पश्चात संस्था सुधार, भद्रगोल व्यवस्थाको अन्त्य र पारदर्शिता कायम गर्ने लक्ष्यका साथ थालिएको यात्रा आज सकारात्मक मोडमा आइपुगेको छ ।’