काठमाडौं। पारा ओलम्पिकमा नेपाललाई ऐतिहासिक कास्यपदक दिलाउने खेलाडी पलेशा गोवर्धनलाई सरकारले कर नकटाइ रु ६५ लाख राशीको पुरस्कार दिने घोषणा गरेको छ ।
प्रधानमन्त्री निवास, बालुवाटारमा आयोजित बधाई तथा सम्मान कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले पुरस्कारमा कर नलगाइ रु ६५ लाख नै दिने बताएका हुन् ।
पेरिस पारालिम्पिक २०२४ अन्तर्गत यही भदौ १४ गते सम्पन्न के–४४ वर्गअन्तर्गत महिला ५७ तौल समूहको प्रतिस्पर्धामा पलेशाले सर्वियाकी मारिजा मिचेभलाई १५–८ ले पराजित गर्दै कास्य जितेकी थिइन् । उनी पारालिम्पिकमा पदक जित्ने पहिलो नेपाली खेलाडी बनेकी छन् ।