काठमाडौं । बलात्कार आरोप लागेका नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको छ।
न्यायाधीश माधव घिमिरेको इजलासले राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान लामिछानेलाई कारागार चलान गर्ने आदेश दिएको हो। मुद्दाको किनारा नलागेसम्म लामिछानेलाई थुनामा पठाउने काठमाडौं जिल्ला अदालतले आदेश दिएको हो।
सरकारी वकिल कार्यालयले जिल्ला अदालत काठमाडौंमा अभियोग पत्र दर्ता गराएसँगै मंगलबार सन्दीपको बयान लिइएको थियो। बुधबारबाट भएको थुनछेक बहस पछि अदालतले शुक्रबार यस्तो आदेश दिएको हो।
लामिछानेविरुद्ध १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा यही कात्तिक १४ गते मुद्दा दायर गरिएको थियो। प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले लामिछानेलाई १० देखि १२ वर्षसम्म कैद सजाय हुनुपर्ने माग गरेको छ।
लामिछानेले भने इन्कारी बयान दिएका छन्।उनीमाथि नाबालिकमाथि जबरजस्ती करणी गरेको आरोप लागेको छ। पीडित पक्षले गत भदौ २१ गते गौशाला प्रहरीमा उजुरी दिएका थिए। उजुरीका आधारमा प्रहरीले सन्दीपलाई असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो।