काठमाडौं । बालिग बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेलाई थप अनुसन्धानको लागि अझै ७ दिन हिरासतमा राख्ने प्रहरीले तयारी गरिरहेको छ । प्रहरीले लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अदालतसँग अनुमति लिने तयारी गरिरहेको हो ।
अनुसन्धानका खटिएका एक प्रहरी अधिकृतका अनुसार अनुसन्धान नसकिएकोले अझै एक साता हिरासतमा राखेर अनुसन्धान गर्न दिन जिल्ला अदालत काठमाडौंसँग अनुमति माग्ने तयारी भइरहेको छ ।
उनीविरुद्ध पहिलोपटक सात दिन र दोस्रोपटक पाँच दिन हिरासतमा राखी अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको थियो । दोस्रो पटक थपिएको म्याद मंगलबार सकिँदैछ ।
भदौ ५ गते राति सन्दीप पीडित किशोरीसँग सो होटेल काठमाडौं इनमा प्रवेश गरेको फुजेट प्रहरीले फेला पारेको छ । साथै प्रहरीले भोलिपल्ट बिहान बाहिरिएको पनि सीसीटीभी फुजेट बरामद गरेपछि उजुरी दर्ता गरेको थियो । ती प्रहरी अधिकारीका अनुसार अनुसन्धानको क्रममा राति ११ बजे प्रवेश गरेर बिहान ६ः५५ मा होटलबाट किशोरीसँगै सन्दीप बाहिरिएको खुलेको छ ।
गएको भदौ २१ गते प्रहरी वृत्त गौशालामा सन्दीपविरुद्ध बलात्कारको जाहेरी परेको थियो । जाहेरी दिएलगत्तै प्रहरीले किशोरीको विस्तृत स्वास्थ्य परीक्षण गराएको थियो । लामिछाने चाहिँ त्यसबेला क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न जमाइकामा थिए । पक्राउ पूर्जी जारी भएपछि उनलाई क्रिकेट एसोसिएशन अफ नेपाल (क्यान) ले राष्ट्रिय क्रिकेट टोलीबाट निलम्बन गरेको थियो ।




