November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

मैदान फर्किंदै नेपाली क्रिकेट, एक महिनाभित्र मुख्य प्रशिक्षक पाउने

3.8K

काठमाडौं- लामो समय रोकिएको नेपाली क्रिकेट मैदान फर्कने तयारीमा जुटेको छ। कोरोनाका कारण थला परेको क्रिकेट क्षेत्र फर्काउन बन्द प्रशिक्षणका लागि नेपाली राष्ट्रिय क्रिकेट खेलाडीको कोरोना परीक्षण गर्न मंगलबार स्वाब संकलन गरिएको छ।

मंगलबार नेपाल क्रिकेट संघ (क्यान) ले काठमाडौं उपत्यकामा भएका राष्ट्रिय क्रिकेट टिमका खेलाडीको कोरोना परीक्षणका लागि स्वाब संकलन गराएको हो। क्यानले अफिसियल र ग्राउन्ड स्टाफको पनि कोरोना परीक्षण गराएको छ। तर मंगलबार सबै खेलाडीको कोरोना परीक्षण भने भएको छैन।

क्यानले गत मंसिर ५ गते सूचना जारी गर्दै क्लोज क्याम्प गर्ने मिति र क्याम्पमा रहने खेलाडीको नाम सार्वजनिक गरेको थियो। १० गतेदेखि बन्द प्रशिक्षण गर्ने भनिए पनि अहिलेसम्म सबै खेलाडी काठमाडौं आइसकेका छैनन्। क्यानका सचिव अशोकनाथ प्याकुरेलले त्रिवि क्रिकेट मैदानमा खेलाडीको स्वाब संकलन गरिएको जानकारी दिए। उनले भने, ‘खेलाडी, अफिसियल र ग्राउन्ड स्टाफको कोरोना परिक्षणको लागि स्वाब संकलन गरिएको छ। तर अझै ६/७ जना खेलाडी उपत्यका बाहिर छन्। सबैको परीक्षण भएको छैन।’

Advertisement

बन्द प्रशिक्षण मंसिर १० गतेदेखि नै हुने क्यान सचिव प्याकुरेलले बताए। उनले थपे, ‘कोरोना परीक्षण भइसकेकाले मंसिर १० गतेबाट नै अभ्यास थाल्छन्। बाहिर रहेका खेलाडी आउँदै कोरोना परीक्षणपछि थपिँदै जान्छन्।’

कोरोना भाइरस विश्वभर फैलिएसँगै नेपाल सरकारले गत वर्षको चैत पहिलो साताबाट खेलकुद गतिविधि ठप्प गर्ने निर्णय गरेको थियो। सरकारको निर्णयसँगै नेपाली क्रिकेट पनि ठप्प भएको थियो। अहिले क्यानले आइसिसी विश्वकप क्रिकेट लिग–२ को सिरिजलाई मध्यनजर गर्दै बन्द प्रशिक्षण राख्न लागेको हो।