पाँचथर । आत्महत्या दुरुत्साहन गरेको आरोपमा झापाका एक युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा बिर्तामोड बस्ने २८ वर्षीय सुमन राई रहेका छन् ।
पक्राउ परेका आरोपित राईले आत्महत्या अगाडि ती बालिकासँग फेसबुकमा बोल्ने गरेको र पछि वेवास्ता गर्न थालेपछि राइले बालिकाको नामबाट नक्कली फेसबुक एकाउन्ट बनाई अस्लिल सामग्री राख्ने गरेको पाँचथर प्रहरी सूचना अधिकारी सन्तोष राईले जानकारी दिए । नक्कली आइडी बनाइ चरित्रहत्या गरी मानसिक यातना दिएको प्रहरीले जनाएको छ ।
आफ्नी छोरीलाई मर्न बाध्य बनाएको भन्दै युवक राईविरुद्ध मृतक बालिकाका बाबुले प्रहरीमा उजुरी दर्ता दिएका थिए । सोही उजुरीको आधारमा आरोपित युवकलाई बुधबार झापा इलाका प्रहरीसँग समन्वय गरी पक्राउ गरेको हो । आरोपित राईलाई अदालतमा म्याद थप गरी अनुसन्धान गरिरहेको सूचना अधिकारी सन्तोष राईले बताए । पाँचथर मिक्लाजुङ गाउँपालिकाकी १६ वर्षीया बालिकाले गत भदौ २७ गते आत्महत्या गरेको थिइन् ।