काठमाडौं । नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेश कमिटी उपाध्यक्ष कृष्ण बडुवाल ‘महेश’ को निधन भएको छ । बडुवालको उपचारको क्रममा आज निधन भएको हो ।
कैलालीको लम्किचुहा नगरपालिका-२ चौरीका बडुवाल केही दिनयता फोक्सोको समस्याले ग्रसित थिए । माओवादीको ३ महिने अभियान अन्तरगत उनी डोटीको बडीकेदार र जोरायल क्षेत्रमा खटिएका थिए । त्यही क्रममा उनमा एक्कासि श्वासप्रश्वासमा समस्या आएपछि उपचारको लागि कैलालीको लम्कीस्थित लालरत्न अस्पताल हुँदै नेपालगन्ज नर्सिङ होम लागिएको तर त्यहाँ उपचार सम्भव नभएपछि भारतको लखनउ लैजाँदै गर्दा उनको बाटोमै निधन भएको जनाइएको छ ।
१० वर्षे जनयुद्धताका सुर्खेत जेल ब्रेकरको रूपमा पनि परिचित उनी लामो समययता पत्नी र नाबालक पुत्र वियोगमा विक्षिप्त थिए । पत्नी भागरथी बडुवाल र छोराको २०७१ असोज २० गते डोटीबाट दसैँ मनाएर कैलाली फर्किने क्रममा डोटीकै जोरायलमा बस दुर्घटना हुँदा निधन भएको थियो ।
उनको आज लम्कीमा श्रद्धाञ्जली कार्यक्रमपछि अन्त्येष्टि गरिने छ ।