March 15, 2025, Saturday
२०८१ चैत्र ३
1:37:26 pm

प्रहरी चौकी बराहक्षेत्र, सुनसरीको नवनिर्मित भवनको समुद्‍घाटन

535

विराटनगर। सुनसरीको बराहक्षेत्र नगरपालिकाका-१ स्थितमा रहेको प्रहरी चौकी बराहक्षेत्रको नव निर्मित भवनको समुद्‍घाटन भएको छ । मंसिर ५ गते कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुवेर खापुङको प्रमुख आतिथ्यता तथा बराहक्षेत्र नगरपालिकाका उप-प्रमुख नन्द कुमारी सुनुवारको अध्यक्षतामा नव निर्मित प्रहरी चौकीको शिलालेख अनावरण गरी भवनको बिधिवत रुपमा समुद्घाटन गरेका हुन् ।

नवनिर्मित भवनको समुद्‍घाटन तथा निरीक्षणपश्चात कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश प्रहरी प्रमुख खापुङले धरतीको पहिलो तिर्थ स्थल बराहक्षेत्रमा प्रहरी चौकी बराहक्षेत्रको नवनिर्मित भवन निर्माण सम्पन्न भई उद्‍घाटन भएकोमा निर्माण कार्यमा सहयोग पुर्‍याउने सम्पुर्णलाई बधाई तथा धन्यवाद व्यक्त गर्नुका साथै आगामी दिनहरुमा जनस्तरमा प्रहरीले प्रदान गर्ने शान्ति सुरक्षा तथा अपराध नियन्त्रण कार्यमा जनचाहना वमोजिमको प्रहरी सेवा प्रदान गर्नेमा आफु विश्वस्त रहेको बताए ।

उनले प्रहरी चौकीमा कार्यरत प्रहरी कर्मचारीहरुलाई नयाँ भवन प्राप्त भएसँगै आमनागरिकमा प्रहरीले प्रदान गर्ने सेवामा थप गुणस्तरसहितको प्रहरी सेवा प्रदान गर्न तथा भवनको सरसफाई रेखदेख संरक्षण नियमितरुपमा गर्न समेत निर्देशन दिएका थिए।

Advertisement

नवनिर्मित भवनको उद्‍घाटन कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर भौतिक पुर्वाधार शाखाका प्रहरी उपरीक्षक आर्किटेक हरी डंगोलले भवन निर्माण सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्नु गरेका थिए भने जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिना तथा बराहक्षेत्र नगरपालिकाका उप-प्रमुख नन्द कुमारी सुनुवारले आ-आफ्नो मन्तव्य राखेका थिए ।

नेपाल सरकारको नियमित बजेट ३ करोड १९ लाख ४० हजार रुपैयाको लागतमा अढाई तले सुबिधासम्पन्न कार्यालय भवन, भान्साघर तथा शौचालयको निर्माण कार्य सम्पन्न भएको हो ।

कार्यक्रममा जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, कोशी प्रदेश प्रहरी गण बिराटनगरका प्रमुख प्रहरी उपरीक्षक प्रदिप बहादुर क्षेत्री लगायत प्रहरी अधिकृतहरु, स्थानिय जनप्रतिनिधिहरु, बिभिन्न कार्यालय, संघ संस्थाका प्रमुख, स्थानिय समाजसेवी, बुद्धिजिवि, सचारकर्मी तथा स्थानियवासीहरुको उपस्थिति रहेको थियो ।