April 21, 2025, Monday
२०८२ बैशाख ९
1:37:26 pm

प्रहरीलाई उच्च मनोवलका साथ काम गर्न मुख्यमन्त्री कार्कीको निर्देशन

1.4K

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार प्रहरीको उच्च मनोवल बनाएर काम गर्न निर्देशन दिएका छन्। सोमबार प्रदेश प्रहरी कार्यालयको निरीक्षणपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रहरीको उच्च मनोवल बनाउन प्रदेश सरकारले प्रहरीलाई आधुनिक बनाउन विभिन्न खालका तालिम र स्रोतसाधनले पूर्ण बनाउनेतर्फ लागेको बताएका हुन् ।

उनले भने, ‘प्रहरीका लागि उपकरण, सवारीसाधन, भवन निर्माण गरिरहेका छौँ । आगामी वर्ष पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिएर प्रहरीको मनोवल उच्च बनाइनेछ । त्यसैले उच्च मनोवलका साथ काम गर्नुस्, हामी साथमा छौँ ।’

विश्वका धेरै मुलुकभन्दा नेपाल सुरक्षित भएको र यसको श्रेय नेपाल प्रहरीलाई जाने बताउँदै मुख्यमन्त्री कार्कीले थप सुरक्षालाई मजबुत बनाउन प्रहरी लाग्नुपर्ने बताए ।

Advertisement

उनले तीनै तहको समन्वयमा प्रहरीलाई आम नागरिकसम्म स्थापित गर्दै जाने नीति रहेको स्पष्ट पारे । प्रहरी संगठन प्रदेशमा समायोजन हुने चरण रहेको भएपनि यसलाई कार्यान्वयनमा ल्याउन समय लाग्ने कार्कीले बताए । उनले भने, ‘दुई सय, तीन सय वर्षदेखिको मानसिक उल्झन बाँकी छ । त्यसैले एकैचोटी समायोजनको काम सकिँदैन । हामी कानुनी उल्झनलाई पनि समाधान गर्दै प्रहरी समायोजनमा लाग्छौँ ।’

मुख्यमन्त्री कार्कीले आफू आन्तरिक मामिला तथा कानुन मन्त्री हुँदा पनि निकै काम गरेको र अहिले पनि प्रहरीलाई आधुनिक बनाउने काममा लागि पर्ने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले सीमित स्रोतसाधनबाट पनि प्रहरीले काम गर्न सकेकोमा खुसी व्यक्त गरे । उनले प्रहरी जिउँदो भगवान भएको टिप्पणी गरे । उनले भने, ‘हरेक नागरिकलाई अप्ठ्यारो पर्दा प्रहरी सम्झिने भएकाले प्रहरी जिउँदो भगवान हुन् ।’

कार्यक्रममा प्रमुख सचिव केदारनाथ शर्मा र प्रहरी नायव महानिरीक्षक चन्द्रकुबेर खापुङले पनि बोलेका थिए ।