विराटनगर । कोशी प्रदेश सरकारले उद्योग संचालन गर्ने वातावरण बनाउन संघीय सरकारसँग माग गरेको छ। विद्युत महसुल विवादले उद्योगहरुको लाइन काटिएर बन्द हुने अवस्थालाई अस्वाभाविक भन्दै मुख्यमन्त्री हिक्मत कार्कीले नेपाल सरकारको ध्यानाकर्षण गराएका हुन् ।
यसले प्रदेशको अर्थतन्त्रमा मात्र नभई स्थानीय स्तरमा रोजगारीमा मेत प्रत्यक्ष असर परेको भन्दै उनले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा विद्युत आपूर्ति बन्द हुनु अस्वाभाविक कदम भएको र समस्याको समाधान वार्ता र संवादको माध्यमबाट खोज्न सम्बन्धित पक्षलाई आग्रह गरेका छन्।
उनका अनुसार करिब दुई दशकदेखि उद्योगी र नेपाल विद्युत प्राधिकरणबीच ‘डेडिकेटेड फिडर’ र ‘ट्रकलाइन’ सम्बन्धी असमझदारी रहँदै आएको छ।
मुख्यमन्त्री कार्कीले गत भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा निजी उद्योग, सुपरमार्केट, कलकारखाना र सञ्चार क्षेत्रमा भएका आगजनी र तोडफोडले लगानीकर्तामा उत्पन्न भएको असुरक्षाबारे पनि चिन्ता व्यक्त गरेका छन्।
