ओखलढुंगा । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्रकुवेर खापुङले समाजमा शान्ति सुरक्षा कायम राख्न प्रहरीले समुदायसँग मिलेर अगाडि बढ्नु पर्ने बताएका छन् । सोमबार जिल्ला प्रहरी कार्यालय ओखलढुंगाको निरीक्षण भ्रमणको क्रममा डिआइजी खापुङले यस्तो बताउदै कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशनसमेत दिएका छन् ।
खापुङले कार्यालय भवन, सम्पूर्ण शाखाहरू, मेस, क्यान्टिनलगायत हिरासत कक्षको समेत निरीक्षण गरेका थिए भने प्रहरीले गरेका उत्कृष्ट कार्यको प्रशंसा तथा कमिकमजोरीलाई सुधार गर्न समेत निर्देशन निर्देशन दिएका थिए ।
निरीक्षणपश्चात कार्यरत प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशनको क्रममा उनले भौगोलिक विकटता भएको पहाडी जिल्ला ओखलढुंगामा रहेका आमनागरिकहरुमा उत्कृष्ट प्रहरी सेवाप्रवाह गर्न र आफूलाई दिइएको जिम्मेवारी एवं लक्ष्य प्राप्तिका लागि ऐक्यबद्ध भई शान्ति सुरक्षामा आउने समस्या र चुनौतीको सामना गर्न आवश्यक कार्ययोजना बनाई अन्य सरोकारवाला निकायसँग समन्वय र सहकार्य गर्दै प्रहरी काम कारवाही अगाडि बढाउन निर्देशन दिए ।
निरीक्षण भ्रमणकै क्रममा उनले जिल्लाका स्थानीय जनप्रतिनिधिहरू, स्थानीय सरोकारवाला निकायका प्रमुख एवं प्रतिनिधि, पूर्व प्रहरी कर्मचारीहरू, संचारकर्मी तथा स्थानीय भद्रभलाद्मीहरुसँग शान्ति सुरक्षाको बारेमा अन्तरक्रिया तथा छलफल गर्नुका साथै समाजमा जनचेतनाको कमिबाट हुने आपराधिक घटना तथा कानून बिपरितका कार्यहरुलाई निरुत्साहित गर्ने कार्यमा सबैको साथ र सहयोग आवश्यक रहेको बताए ।
उनले विद्युतीय अपराधका घटनाहरू दिनानुदिन वृद्धि भइरहेकाले घटना भएर प्रहरीमा पुग्नु भन्दा यसबाट जोगिन नागरिक आफै सचेत रहन आग्रहसमेत गरेका थिए।