विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (माओवादी केन्द्र) प्रदेश संसदीय दलका नेता इन्द्र आङबोले दाबी गरेका छन् । कांग्रेसले दुईदुई पटक प्रदेश सरकारको नेतृत्व गर्ने अवसर पाएपनि विश्वासको मत पाप्त गर्न नसकेको भन्दै अब माओवादीको नेतृत्वमा सरकार बन्नुपर्ने उनले बताएका हुन् ।
शनिबार प्रदेश सभाको बैठकमा सहभागी भएर बाहिरिने क्रममा उनले कांग्रेसको नेतृत्वमा सरकार बनाउन माओवादीले धेरै त्याग गरेको बताए । अब माओवादीको नेतृत्वमा सरकार गठन भए बहुमतका लागि सहज हुने उनको भनाइ छ ।
प्रदेश सभाबाट विश्वासको मत पाउने वातावरण नबनेसँगै मुख्यमन्त्री हिक्मत कार्कीले पदबाट राजीनामा घोषणा गरेका छन् । उनले प्रदेश प्रमुख परशुराम खापुङसमक्ष राजीनामा बुझाइसकेका छन् ।
मुख्यमन्त्री कार्कीले राजीनामा घोषणा गरेसँगै कोशीमा अब संविधानको धारा १६८ (५) को सरकार गठनको प्रक्रिया खुल्ला भएको छ ।