April 21, 2025, Monday
२०८२ बैशाख ९
1:37:26 pm

साकेला गाउँपालिकामा ५३ कर्मचारीको करार अवधि नवीकरण

1.8K


साकेला । साकेला गाउँपालिकाले ५३ कर्मचारीको करार अवधि नवीकरण गरेको छ । गाउँपालिकाले अधिकृतस्तरदेखि कार्यालय सहयोगीसम्म करारमा कार्यरत ५३ जनाकै करार अवधि नवीकरण गरेको हो ।

देशका विभिन्न स्थानीय तहहरुले करारमा कार्यरत कर्मचारीहरुलाई विभिन्न बाहनामा करार अवधि नवीकरण नगरी जागिरबाट निकालेको समाचार सार्वजनिक भईरहेको अवस्थामा साकेलाले भने कार्यरत सबै कर्मचारीहरुको ६ महिनादेखि एक वर्ष सम्म करार अवधि नवीकरण गरेको हो ।

गाउँपालिका अध्यक्ष रविप्रकाश राईले साउन १ गतेदेखि लागू हुनेगरी कार्यरत सबै कर्मचारीहरुको करार अवधि नवीकरण गरिएको बताए । उनले भने, ‘हामी काम गरिरहेका कुनै पनि कर्मचारीहरुलाई हटाउँदैनौं । काम गरिरहेका कर्मचारीहरु हटाएर पदपूर्ति गर्न राज्यको करोडौं रुपैंया खर्च हुन्छ ।’

Advertisement

दरबन्दी अनुसार नियुक्ती भई हाल कार्यरत कर्मचारीहरु हटाएर नयाँ नियुक्ति गर्दा जनताको काम प्रभावित हुने साथै नयाँलाई काम सिक्न र पुरानो कर्मचारी जतिको बनाउन समय लाग्ने अध्यक्ष राईको भनाई छ । ‘उहाँहरु आफ्नो योग्यता, दक्षता र क्षमता अनुसार नियुक्ति हुनु भएको हो, कार्यरत कर्मचारीहरु हटाई नयाँ नियुक्ति गर्दा राज्यको लाखौं करोडौं रुपैंया खर्च हुन्छ, त्यो रकम जनताले तिरेको करबाट जम्मा भएको रकम हो, अध्यक्ष राईले भने, ‘हामी कर्मचारी नियुक्तिको नामबाट अनावश्यक रकम खर्च गर्दैनौं ।’

साकेला गाउँपालिकामा हाल स्वास्थ्य तर्फका २४ जनासहित ५३ जना कर्मचारी करारमा कार्यरत छन् । गाउँपालिकाले सञ्चालन गरेको पूर्ण सरसफाई परियोजनामा ६ जना, सूचना प्रविधि अधिकृत एक जना, असिष्टेण्ड सव इन्जिनियर दुई जना, कृषि प्राविधिक दुई जना, भेटनरीमा एक जना, बहुक्षेत्रीय पोषण कार्यक्रममा एक जना, प्रधानमन्त्री रोजगार कार्यक्रममा एक जना, पञ्जीकरण शाखामा दुई जना, गरीव सँग विश्वेश्वर कार्यक्रममा एक जना, उद्यम विकास कार्यक्रम अन्तर्गत एक जना, ब्याकहोलोडर चालक एक जना, एम्वुलेन्स चालक एक जना र कार्यालय सहयोगी १० जना करारमा कार्यरत छन् ।

हाल गाउँपालिकामा स्वास्थ्य तर्फका ९ जनासहित जम्मा २७ जना स्थायी कर्मचारी कार्यरत छन् । गाउँपालिकामा प्रशासनतर्फ पाँचौ तहका चार जना, पाँचौ तहको कम्प्युटर अपरेटर एक जना, महिला विकास निरिक्षक एक जना, लेखा अधिकृत एक जना, सव–इन्जिनियर दुई जना, कृषि तर्फको पाँचौ र चौथो तहको एक÷एक जना, भेटनरी अधिकृत र पाँचौ तहको एक÷एक जना, प्रधानमन्त्री रोजगार कार्यक्रम तर्फ रोजगार संयोजक र रोजगार सहायकको पद रिक्त रहेको प्रमुख प्रशासकीय अधिकृत महेश राईले बताए । रिक्त पदहरुमा आवश्यकता अनुसार पूर्ती गर्दै लगिने उहाँको भनाई छ । उक्त गाउँपालिकाले गत वर्ष पनि करारमा कार्यरत सबै कर्मचारीहरुको करार अवधि नवीकरण गरेको थियो ।