बिराटनगर । १ नम्बर प्रदेश प्रहरी तालीम केन्द्र रानी बिराटनगरमा संचालित प्रहरी जवान १३९ औँ समूहको आधारभूत तालिममा सहभागी ७१४ जना प्रहरी जवानहरु दिक्षित भएका छन् । २०७८ साल असोज १७ गते देखि संचालित प्रहरी जवान १३९ आँै समूहको २ सय ३४ कार्य दिनको आधारभूत तालिम पश्चात आज १ नम्बर प्रदेश प्रहरी तालिम केन्द्र रानीको प्राङगणमा आयोजित एक विशेष कार्यक्रमबीच १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक सुदिप गिरीको प्रमुख आतिथ्यतामा दिक्षान्त समारोह सम्पन्न भएको हो ।
दिक्षान्त समारोहमा १५४ जना महिलासहित ७१४ जना प्रहरी जवानहरु दिक्षित भएका छन् । १ नम्बर प्रदेश प्रहरी तालीम केन्द्र रानी बिराटनगरमा ५२४ जना, १ नम्बर प्रदेश प्रहरी गण रानीमा ९८ जना र नेपाल प्रहरी विशेष सुरक्षा गण दुहवीमा ९२ जना प्रशिक्षार्थीहरुलाई प्रशिक्षण दिई १ नम्बर प्रदेश प्रहरी तालिम केन्द्रको प्राङगणमा संयुक्त रुपमा दिक्षित गरिएको हो ।
दिक्षान्त समारोहमा तालिम केन्द्रका सहसमादेशक प्रहरी नायव उपरीक्षक चतुर्भुज ओझाले तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गरी तालिमको दौरानमा प्रशिक्षार्थीहरुलाई नेपाल र नेपाल प्रहरी संगठनको परिचय, सुरक्षा, प्रहरी कार्य तथा अपराध नियन्त्रण, अपराध अनुसन्धान र विद्यामान कानून, प्रहरी युक्ती तथा कारवाही लगायतका विषयमा प्रशिक्षण दिईएको जानकारी गराएका थिए । दिक्षान्त समारोहमा प्रशिक्षार्थीहरुलाई नेपालको संविधान वमोजिम तालिम केन्द्रका समादेशक प्रहरी बरिष्ठ उपरीक्षक राजेशनाथ बास्तोलाले शब्दमा सफत ग्रहण गराएका थिए ।
प्रशिक्षार्थीहरुलाई तालिम अवधीभर लिईएको चरणगत परिक्षाको प्राप्ताङ्कका आधारमा प्रथम हुन सफल प्रशिक्षार्थी प्रहरी जवान अच्युत राज राईसहित विभिन्न ९ विधामा उत्कृष्ट भएका प्रशिक्षार्थीहरु र तालिममा सहभागी प्रशिक्षकहरुलाई कार्यक्रमका प्रमुख अतिथि प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक सुदिप गिरीले प्रमाणपत्र तथा नगद पुरस्कारद्धारा पुरस्कृत गरेका थिए ।
दिक्षान्त समारोहका प्रमुख अतिथी प्रहरी नायव महानिरीक्षक गिरीले अत्यन्त चुनौती एवं जोखिमले भरिएको यस मर्यादित प्रहरी पेशामा आफ्ना सन्ततीलाई प्रवेश गर्न हौसला प्रदान गर्ने दिक्षित प्रहरीका परिवारजनमा आभार प्रकट गरेका थिए । साथै उनले कार्यक्षेत्रमा मन वचन र कर्मले निष्ठापूर्वक, ईमान्दार र वफादारी भई उच्च मनोवलकासाथ जनताको सेवामा खटिन दिक्षित प्रहरी जवानहरुलाई शुभकामना सहितको निर्देशन समेत दिएका थिए । यसैगरी उनले दिक्षित भएका प्रशिक्षार्थी प्रहरी जवानहरु मध्येका सर्वप्रथम हुने प्रहरी जवानलाई दर्ज्यानी चिन्हले सु–शोभन गरेका थिए ।
दिक्षान्त समारोहमा तालिम केन्द्रका समादेशक प्रहरी बरिष्ठ उपरीक्षक राजेशनाथ बास्तोलाले धन्यवाद ज्ञापन गर्दै प्रशिक्षण केन्द्रले प्रशिक्षणका दौरानमा भरमग्दुर प्रयत्न गरेको र अब कार्यक्षेत्रमा खरो उत्रिने पालो दीक्षित प्रशिक्षार्थीहरुको रहेको बताउदै समाज र संगठनले अपेक्षा गरे अनुरुप निष्ठापूर्वक कार्य गर्न दिक्षित प्रहरी जवानहरुलाई निर्देशन हुँदै दिक्षित भई जाने प्रहरी जवानहरुलाई कार्यक्षेत्रको सफलताको शुभकामना समेत दिएका थिए ।
कार्यक्रममा प्रदेश प्रहरी श्रीमती संघकी अध्यक्ष कल्पना गिरी तथा पदाधीकारीहरु, अन्य सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधीहरु, विभिन्न सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधीहरु, विभिन्न संघ सस्थाका प्रमुख तथा प्रतिनिधीहरु, पूर्व प्रहरी कर्मचारीहरु, दिक्षित भई जाने प्रशिक्षार्थी प्रहरी जवानका अभिभावकहरु, संचारकर्मी तथा प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।





