काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहका शिक्षा सल्लाहकार रेशु अर्यालले राजीनामा दिएकी छिन् । मेयरको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै उनले राजिनामा दिएकी हुन् ।
अर्याललाई महानगरको कार्यपालिकाको बैठकले गत भदौमा शिक्षा सल्लाहाकार नियुक्त गरेको थियो । उनले पछिल्ला घटनाक्रममा महानगरका मेयर शाहले लिएका निर्णय आफ्नो मूल्यमान्यता विपरीत भएका र ती निर्णय आफ्नो घर परिवारसँग पनि जोडिएकाले स्वार्थको द्वन्द्व उत्पन्न भएकाले राजीनामा दिएको उनले बताएकी छिन् ।
मेयर शाहले भारतीय चलचित्र आदिपुरूषमा व्यक्त भएका संवादलाई कारण देखाएर काठमाडौं महानगर भित्रका हलमा भारतीय चलचित्र नचलाउन निर्देशन दिएका छन् ।
अर्यालको परिवारका सदस्य फिल्म हलको व्यवसायमा पनि संलग्न भएको हुँदा स्वार्थको द्वन्द्व उत्पन्न भएको भनेकी हुन् ।
उनले महानगरको शिक्षा सल्लाहकार रहँदा आफूले सकेको काम गरेको भन्दै उनले सार्वजनिक शिक्षाकै क्षेत्रमा आफूले काम गर्ने बताएकी छिन् ।
अर्यालले कोलम्बिया विश्वविद्यालयको टिचर्स कलेजबाट शैक्षिक सुधारको लागि नेतृत्व विषयमा स्नातकोत्तर गरेकी छन् । सामाजिक अभियन्तासमेत रहेकी अर्याल टिच फर नेपालको संस्थापक बोर्ड सदस्य र ५ वर्ष अध्यक्ष भएकी थिइन् ।