काठमाडौं । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले गैरआवासीय नेपाली संघको रोकिएको नविकरण प्रक्रिया तत्काल टुँगो लगाउने प्रतिबद्धता व्यक्त गरेका छन् । सरकारी निवासमा गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा. बद्री केसीसँगको भेटमा उपप्रधान तथा परराष्ट्रमन्त्री श्रेष्ठले उक्त प्रतिबद्धता व्यक्त गरेका हुन् ।
परराष्ट्रमन्त्री श्रेष्ठले नेपाल सरकार गैरआवासीय नेपालीहरुसँग मिलेर काम गर्न आफू उत्साहित रहेको बताउँदै संघको रोकिएको नविकरण तुरुन्तै गर्ने प्रतिबद्धता जनाएका हुन् । संघको गत अक्टोबरमा सम्पन्न निर्वाचनको छानविन गर्न गठित सरकारी समितिले प्रतिवेदन बुझाए लगत्तै डा. केसी र श्रेष्ठबीच छलफल भएको हो ।
संघका अध्यक्ष डा. केसीले मन्त्रीमण्डलको पुर्नगठनपछि गैरआवासीय नेपाली संघको निर्वाचित कार्यसमितिलाई सहज रुपमा काम गर्ने वतावतरण बन्दै गएको प्रति मन्त्री श्रेष्ठप्रति धन्यवाद समेत दिए । डा. केसीले गैरआवासीय नेपाली संघ सधँै सरकारको सहयात्रीको रुपमा काम गर्दै आएको स्मरण गराउँदै र आगामी दिनमा समेत सरकारलाई पूर्णरुपमा सहयोग गर्ने उल्लेख गरे । संस्थाको विधि तथा विधानको अधिनमा रहेर गैरआवासीय नेपाली संघभित्रको भातृत्व र एकतालाई कायम गर्न आफु पूर्णरुपमा प्रतिबद्ध रहेको अध्यक्ष डा. केसीले बताए ।
जवाफमा परराष्ट्रमन्त्री श्रेष्ठले संघको पछिल्लो समयमा देखिएका असन्तुष्टीहरुको बारेमा आफु पूर्णरुपमा जानकार रहेको बताउँदै सबैलाई अपनत्व हुने गरि अघि बढ्न आग्रह गरे । संस्थाको निर्वाचन प्रपक्रयाका बारेमा असन्तुष्ट पक्षसँग छलफल गरेर अघि बढ्न सरकार सदैव तयार रहेको जानकारी मन्त्री श्रेष्ठले बताए ।
यसअघि पनि अध्यक्ष डा. केसीले उपप्रधान तथा परराष्ट्रमन्त्री श्रेष्ठसँग भेट गरि संघको समसामायिक गतिविधि र नविकरणका सम्बन्धमा ध्यानाकर्षण गराएका थिए ।