March 13, 2025, Thursday
२०८१ फाल्गुन २९
7:13:12 am

एनआरएनए सबैको साझा चौतारी हो, यसका रक्षाका लागि अन्तिम घडिसम्म लडाइँ लड्छु: आरके शर्मा

1.4K

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष राजेन्द्रकुमार (आरके) शर्माले निर्वाचन प्रक्रियामा धाँधली भएको प्रष्ट्याएका छन् । सोमबार काठमाडौंको अनामनगरस्थित सिलौटो कटेजमा पत्रकार सम्मेलन गर्दै उनले ११ औं महाधिवेशनमा धाँधली भएको प्रष्ट भएको बताएका हुन् ।

११ औं महाधिवेशनमा त्रिअध्यक्षले पेलेरै लगेको शर्माको भनाइ थियो । उनले भने, “गैरआवासीय नेपाली संघ सबैको साझा चौतारी, समृद्ध नेपालको बलियो साझेदार हुनुपर्छ भन्ने नारा घन्काउदै गर्दा दशौं महाधिवेशनबाट संस्थाप्रति आएक जुन किसिमको समस्या थियो, त्यसलाई निरन्तरता दिँदै ११ औं महाधिवेशनमा त्रिअध्यक्ष कार्यसमिति चयन गर्‍यौं । वहाँहरूले बाचा गर्नुभएको थियो । यो संस्थाका अध्यक्ष विवादरहित र सबैको साझा चौतारी हुन्छ भनेर डा बद्री केसी, कुल आचार्य र रबिना थापाले सुरुवात गर्नुभएको थियो । तर, हामीलाई थाहा भएन के को बाध्यताले ११औं महाधिवेशनमा निर्वाचन प्रक्रियाहरू पेलेरै लैजानुपर्‍यो । र, निर्वाचनको नतिजा आइसकेपछि जुन किसिमका त्रुटिहरू बाहिर आए, त्यसपछि ३ जना अध्यक्षले संयुक्त रुपमा बिज्ञप्ति सही गरेर १४ दिनमा अनुसन्धान गरेर सत्यतथ्य बाहिर ल्याएर बाँकी कार्यक्रम गर्ने भनेर सबै काम स्थगित गरिसकेपछि वहाँहरूले त्यसको ८ घन्टा पनि नबित्दै हतारमा कुनैपनी प्रक्रिया नपुर्‍याइ सपथ खानुले नै त्यहीँबाट सुरु हुन्छ, निर्वाचन प्रक्रियामा आम धाँधली भएको भन्ने कुरा ।”

त्यसपछिको लडाइँ आफ्नो व्यक्तिगत नभइ संस्थागत भएको शर्माको दाबी छ । आफूहरूको इच्छा अध्यक्षको भन्दा पनि १० औं महाधिवेशनपछि हराएको विश्वासलाई फिर्ता ल्याउनु रहेको उनले बताए । “निर्वाचन प्रक्रिया ट्रान्सपरेन्सी रुपमा गराउनुपर्छ । जब प्रश्न उठिसकेपछि वहाँ त अझ कार्यवाहक अध्यक्ष भैपल्टेको मान्छेले संस्थामा उठेको प्रश्नहरूलाई पक्कै पनि समाधान गर्दिन आउनपर्ने मैले बुझेको थिएँ । मैले अझैं पनि भन्छु सम्पूर्ण साथीहरूलाई यो मेरो व्यक्तिगत लडाइँ हैन, संस्थागत लडाइँ हो”, शर्माले भने ।

Advertisement

एनआरएनए सबैको साझा चौतारी भएको उल्लेख गर्दै यसको रक्षाका लागि आफू अन्तिम घडिसम्म लडाइँ लड्ने शर्माले बताए । उनले भने,” यदि तपाइँहरूको पनि दायित्व छ भने आउनोस् टेवलमा बसौं । वहाँहरूले आजसम्म न पूर्व अध्यक्षसँग टेवलमा बस्ने हिम्मत गर्ने आँट देखेको छु, न हामीसँग बसेर कसरी समाधान गरौं भन्ने कुरा कहीँ पनि मैले देखेको छैन । वहाँहरू झन् बढी पेल्दै जाने हो । यसै गरेर जाने हो र अलिक दिनमा थाक्छन् कि जस्तो सोचमा होला ! त्यो तपाइँको गलत भ्रम हो । यो लडाइँ पदको लागि हैन । रिइलेक्सन गरौं, संस्थाको विश्वास फिर्ता ल्याउँ, यदि रिइलेक्सनमा तपाइँहरूले ‘बद्री केसीले भन्नुहुन्छ, आरके शर्मा तिमीले चुनावमा नउठ’ भन्नुहुन्छ भने यही मिडियाका साथीहरूमाझ भन्न चाहन्छु चुनावको प्रत्यासी हुँदिन, तर संस्था बचाउनका लागि लाग्छु । तर, सानो घेरोमा संस्था लगेर पेल्दै जानुभो भने म अन्तिम घडीसम्म पनि न्यायको लागि लड्नेछु । यो लडाइँ संस्थागत हो । गैरआवासीय नेपाली संघ सबैको साझा चौतारी हो । केही सानो घेरोमा रहनु हुँदैन । विदेशमा रहेका ७० देखि ८० लाख नेपालीहरूको साझा चौतारी हुनुपर्छ । र, यसरी निर्वाचन जस्तो संवेदनशिल कुरामा धेरै त्रुटिहरू हुँदैगर्दा पनि ननिदाइकन पनि निदाए जस्तो गरेर नहिड्नको लागि पनि सम्बन्धित पक्षलाई म अनुरोध गर्न चाहन्छु ।”

यस्तै, शर्माले आफूहरूलाई ‘सरकार तिमीहरूको हातमा छ’ भन्ने आक्षेपको खण्डनसमेत गरेका छन् । “सिआइबीमा उजुरी हालेको ३५ दिनभन्दा धेरै भयो । सत्यतथ्य के हो? भनेर उजुरी कर्ताले माग्दा अझैसम्म पनि हाम्रो हातमा आइपुगेको छैन । केही मिडियामार्फत जान्ने मौका मिल्यो । केही साथीहरू पहिल्यै प्रवक्ता जस्तो हुनुभो, सबैको प्रवक्ता वहाँहरू । अहिले यो सिआइबीको प्रवक्ता पनि केही मिडियाहरूमा देख्ने गरेको छु । केही आक्षेप लाग्ने गर्छ, सरकार तिमरूको छ भनेर, यदि हाम्रै भएको भए द्रुत गतिमा जान्थ्यो होला ! म सरकारलाई पनि आग्रह गर्न चाहन्छु, यो गैरआवासीय नेपाली संघका विवाद समाधान गरिदिनोस्”, शर्माले भने। १९ अक्टोबर २०२३ मा अनलाइन प्रणालीबाट गराइएको निर्वाचनमा योजनाबद्ध धाँधली गरिएका प्रमाणहरुसहित परराष्ट्र मन्त्रालयलाई जानकारी गराएको, तर पाँच हप्ता बितिसक्दा पनि मन्त्रालयले कुनै जवाफ नदिएको उनको दाबी छ ।

सम्मेलनमा पत्रकारहरूको प्रश्नको जवाफ दिँदै शर्माले महाधिवेशनको म्यान्डेट नपाएको अवैध समितिले संघको कोषबाट एकलौटी रुपमा अपचलन गर्ने तथा सचिवालयको दुरुपयोग गरेको भन्दै त्यस्तो कार्य आफूहरुलाई अमान्य हुने बताए ।

उपाध्यक्षका उमेदवार केशव पौडेलको नेपालबाट खसेको मत शून्य भएको र यस समबन्धमा पहिलो स्पष्टीकरणमा ग्लोबल र लोकल मत पत्रमा नाम फरक भएको भनिएता पनि पछि मत पत्र चेक गर्दा नाममा फरक नभएको देखिएको साथै सिस्टमको फिचर अनुसार सबै पदाधिकारीको मत संख्या अनिवार्य बराबर हुनुपर्नेमा फरक–फरक भएको शर्माले बताए ।

यसैगरी, नेपालमा आउने प्रतिनिधिहरुले अनिवार्य काठमाडौँको सोल्टीहोटलको वुथवाट मतदान गर्नुपर्ने बाध्यात्मक व्यवस्था गरिएकैले नेपालबाट खसेको मत र सोल्टी होटलबाट खसेको मत समान हुनु पर्नेमा फरक भएको उनले बताए । विधानको दफा २१ (७) अनुसार अन्तराष्ट्रिय महाधिवेसन प्रतिनिधि छनोटको प्रक्रिया सुरु भए पछि निर्वाचनमा प्रभाव पार्नेगरी कुनै पनि निमावली परिवर्तन वा परिमार्जन गर्न नपाइने व्यवस्था भए पनि निर्वाचन निमावलीमा व्यापक परिवर्तन गरिएको उनले बताए ।

यस्तै, अनलाइन भोटिङको फेस भेकिफिकेसनको रिजोलुसनलाई निर्वाचनको केही घण्टा पछि ९९५ बाट घटाएर ६५५ बनाउनुले निर्वाचनको स्वच्छतामा गम्भीर आशंका थपेको उनले बताए ।

यसैगरी फेस भेरिफिकेसनको रिजोलुसन ८० प्रतिशतभन्दा कम गरिनु भेस भेरिफिकेसनको अन्तराष्ट्रिय मापदण्ड विपरीत भएको र निर्वाचनको बीचमै यसरी निर्वाचनको प्रकृया परिवर्तन गरिनु निर्वाचन निमावलीको पनि उल्लंघन भएको उनको दाबी छ ।

सोल्टी होटलमा मतदान गर्नका लागि प्राप्त भएको युजर आईडी र पासवर्ड निर्वाचनमा खटिएका कर्मचारीबाट पुनः फिर्ता लिनुले उक्त पासवर्डको दुरुपयोग गरिएको हुनसक्ने आशंका आफूहरुलाई रहेको उनको भनाइ छ ।

नेपालमा आइसकेका केही प्रतिनिधिहरुको नामबाट विदेशवाटै अर्कैले मतदान गरिसकेको केही प्रमाणले अनलाइन भोटिङ सिस्टमको विश्वासनियतामा गम्भीर आशंका पैदा गरेको शर्माले बताए ।

निर्वाचनमा नेपालको समय राति १२ बजेसम्म जुम माध्यमबाट पनि मतदान गर्ने व्यवस्था गरिएतापनि १२ बजे अगावै जुमभित्र प्रवेश भैसकेका ५४ जना प्रतिनिधिलाई मतदानबाट बञ्चित गरिएको शर्माको जिकिर छ ।

कार्यकारी अध्यक्षले आफ्नो कार्यकारी अधिकार प्रयोग गरी १२ बजेसम्म आफ्ना प्रतिनिधिलाई जुममार्फत मतदान गर्न लगाई जुमभित्र पसिसकेका बाँकी ५४ जना प्रतिनिधिलाई मतदानवाट बञ्चित गराइनु निर्वाचन नियमावली र निर्वाचन सम्वन्धी विश्वव्यापी मान्यता र परम्परा विपरित रहेको शर्माको भनाई छ ।