काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले गैरआवासीय नेपाली (एनआरएनए)को माग सम्बोधन भएको बताए । गैरआवासीय नेपाली संघ (एनआरएनए) को विश्व सम्मेलन तथा ११ औँ महाधिवेशनको मंगलबार काठमाडौंमा उद्घाटन गर्दै राष्ट्रपति पौडेलले एनआरएनलाई नागरिकता दिने व्यवस्था भएबाट उनीहरूलाई नेपालसँग थप नजिक ल्याउन मद्दत पुग्ने विश्वास व्यक्त गरेका हुन् ।
नेपालको संविधानले गैरआवासीय नेपालीलाई आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी नेपाली नागरिकता दिने व्यवस्था गरेको बताए । उनले भने, ‘नेपाल सरकारले विभिन्न नीतिगत तथा कानुनी व्यवस्थाको तर्जुमा गरेको छ । संविधान बमोजिम एनआरएनले नेपाली नागरिकता पाउने व्यवस्थाले तपाईहरुलाई नेपालसँग थप नजिक ल्याउन मद्दत पुग्नेछ भन्ने मेरो विश्वास छ ।’
राष्ट्रपति पौडेलले नेपाल र नेपालीको विकास र समृद्धिको आकांक्षा पूरा गर्ने कार्यमा ठोस् योगदान गर्न र विश्वका विभिन्न मुलुकमा रहेका नेपालीलाई एकताबद्ध गर्न एनआरएनएले विगतदेखि नै भूमिका खेल्दै आएको भन्दै आगामी दिनमा समेत नेपालको समग्र विकासमा यसले थप भूमिका निर्वाह गर्ने बताए । ‘विश्वको जुनसुकै कुनामा रहे पनि नेपाली नेपाली नै हो। शान्त, समृद्ध र समुन्नत नेपाल हेर्न र अनुभूत गर्न चाहनुहुन्छ भन्ने तपाईहरूको व्यवहार र अभिव्यक्तिले स्पष्ट पारेको छ। यही आत्मियताले देशभित्र र बाहिर बस्ने नेपालीलाई एकताबद्ध गरेको छ भन्ने पनि मलाई लाग्छ। यही पृष्ठभूमिमा आयोजित यो सम्मेलनमा तपाईंहरूद्वारा प्रस्तावित छलफलका विषय र उद्देश्यहरू हामी सबैका लागि सान्दर्भिक ठानेको छु,’ उनले भने ।
उनले राज्यको प्रशासनिक पुनःसंरचना गरेपनि राज्यको चरित्र र जीवन पद्दतिको पुनःसंरचना अझै हुन बाँकी रहेको पनि बताए । उनले भने, ‘हामीले राज्यको प्रशासनिक पुनःसंरचना त ग¥यौं तर राज्यको चरित्र र जीवन पद्दतिको पुनःसंरचना अझै हुन बाँकी छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्रका निश्चित मूल्य मान्यता, सिद्धान्त र दर्शन छन्। जबसम्म ती मूल्य मान्यता, सिद्धान्त र दर्शनलाई हामी आत्मसात गर्न सक्दैनौँ तबसम्म ती चुनौतीहरूको सामना गर्न सक्दैनौं ।’
नेपाल प्राकृतिक र सांस्कृतिक सम्पदाको दृष्टिकोणबाट पनि वैभवशाली मुलुक भएको र यहाँको जातीय, भाषिक, सांस्कृतिक, धार्मिक, जैविक विविधता विश्वकै लागि अनुपम भएको उल्लेख गर्दै राष्ट्रपति पौडेलले प्रकृति र संस्कृतिको यो अनुपम सगमलाई जोगाउँदै देश र जनताको हित प्रवर्द्धन गर्दै विश्व समुदायमा नेपाल र नेपालीको विशिष्ट पहिचान गराउनु हामी सबैको राष्ट्रिय कर्तव्य भएको बताए ।
उनले नेपाल बाहिर रहेर जीवनयापन गर्दैगर्दा आफ्ना सन्तानहरूले आफ्नो भाषा, संस्कृति भूल्ने सम्भावना रहने हुँदा त्यसप्रति सचेत हुन एनआरएनलाई आग्रह गरेका छन् ।
नेपालप्रतिको अपनत्व अभिवृद्धि गर्न र समाजसित अटुट निकटता राख्न नयाँ पुस्तालाई समय समयमा नेपाल ल्याउने र यहाँको संस्कृति, सामाजिक परिवेश तथा भूगोलसँग परिचित गराइराख्न पनि उनले एनआरएनएलाई अनुरोध गरेका थिए। उनले भने, ‘नेपालमा विश्वप्रसिद्ध सगरमाथालगायत अग्ला र रमणीय पहाड मात्रै छैनन्, एकातिर यहाँ दुर्लभ जैविक विविधता पाइन्छ भने अर्कोतर्फ हिउँले भरिएको पहाड खानेपानीको मुहानको रुपमा परिचित छन्। तर, दुर्भाग्यवस विश्वव्यापी जलवायु परिवर्तनको दुष्प्रभावले गर्दा मूल्यवान् प्राकृतिक स्रोतहरु सङ्कटमा पर्न थालेको छन् ।’