काठमाडौं । सरकारले गैरआवासीय नेपालीलाई नागरिकता प्रदान गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज बालुवाटारमा आयोजित एक कार्यक्रमकाबीच एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्षद्वय कुल आचार्य र बद्री केसीलाई नागरिकता प्रदान गर्दै गैरआवासीय नागरिकता वितरणको सुरुआत गरेका हुन् ।
कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्षद्वय कुल आचार्य र बद्री केसीलाई नागरिकता प्रदान गर्दै गैरआवासीय नागरिकता वितरणको सुरुआत गरेका हुन् ।
गैरआवासी नेपाली संघ (एनआरएनए) को ११ औं महाधिवेशनको अवसरमा नागरिकता प्रदान गर्दै प्रधानमन्त्री प्रचण्डले यो निक्कै ठूलो उपलब्धि भएको बताए । उनले भने, “नेपालका संविधानमा गैरआवासीय नेपालीहरुलाई आर्थिक, सामाजिक, सांस्कृतिक अधिकारसहितको गैरआवासीय नागरिकताको व्यवस्था गराउन हामीले निकै ठूलो मिहिनेत गर्न परेको थियो । त्यसकै बलमा तपाइँहरुले संवैधानिक अधिकार आज प्राप्त गर्नुभएको छ । संविधानमा व्यवस्था भएपश्चात पनि कानूनी व्यवस्था गर्न हामीले फेरि अर्को ठूलो मिहिनेत र संघर्ष गर्नुप¥यो । निकै ठूलो संघर्ष र मिहिनेत पछि हामीले सफलता हासिल गरेका छौं । र, ५० औं लाख गैरआवासीय नेपालीहरुले ‘गैरआवासीय नागरिकता’ प्राप्त गर्ने प्रबन्ध गरिएको छ, यो निक्कै ठूलो उपलब्धि हो ।”
प्रधानमन्त्री प्रचण्डले आफ्नो नेतृत्वको सरकारले नागरिकता विधेयकलाई कानूनमा परिणत गरेको पनि दाबी गरे । उनले भने, “मेरो नेतृत्वमा नयाँ सरकार बन्नसाथ सरकारले राष्ट्रपतिलाई नागरिकता विधेयक सदर गर्न आग्रह ग¥यो । सम्माननीय राष्ट्रपतिबाट सदर भएपछि विधेयक कानूनमा परिणत भएको छ, नियमावली पनि बनि नै सकेको छ ।”
उनले गैरआवासीय नेपालीसँग सम्बन्धित सवाहरूलाई नेपाल सरकारको नीति तथा कार्यक्रम बजेटबाट सम्बोधन गरेका पनि बताए । प्रधानमन्त्री प्रचण्डले भने, “गैरआवासीय नेपालीसँग सम्बन्धित थुप्रै सवाहरूलाई हामीले नेपाल सरकारको नीति तथा नीति तथा कार्यक्रम बजेटबाट सम्बोधन गरेका छौं । नेपाल सरकारले विदेशी लगानीको न्यूनतम सिमा रू. ५ करोडबाट घटाएर रू. २ करोड कायम गरेको छ । धितोपत्रको दोस्रो बजारमा गैरआवासीय नेपालीको लगानीलाई खुला गर्न कानूनी व्यवस्था पनि मिलाइएको छ ।”
यस्तै, वैदेशिक रोजगारीमा रहेका श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमार्फद योगदानमा आधारित सामाजिक सुरक्षाको दायरामा आवद्ध गर्ने निर्णय भइसकेको छ, र यो एउटा ऐतिहासिक काम भएको पनि उनले बताए । यस अभियानमा अहिलेसम्म ३ लाख भन्दा बढी आवद्ध भइसकेको बताउदै आगामी दिनमा यो संख्या अरू बढ्ने आफू विश्वस्त रहेको उनको भनाइ थियो ।
नागरिकता प्राप्त गरेपछि अध्यक्ष केसीले ‘एक पटकको नेपाली सधैंको नेपाली’ भन्ने अभियान सार्थक भएको बताउँदै सरकारलाई धन्यवाद दिए ।
गत जेठमा संशोधन भएको नागरिकतासम्बन्धी ऐनअनुसार नागरिकता नियमावली सरकारले यसअघि नै स्वीकृत गरेकाले गैरआवासीय नेपालीलाई नेपालीले नेपालको नागरिकता पाउने बाटो खुलेको थियो ।
नागरिकतासम्बन्धी ऐनको दफा ७ (क) १ मा विदेशी मुलुकको नागरिकता प्राप्त गरी दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठनको सदस्य राष्ट्रबाहेकका देशमा बसोवास गरेको र साबिकमा वंशजको वा जन्मका आधारमा निज वा निजको बाबु वा आमा, बाजे वा बज्यै नेपालको नागरिक रही पछि विदेशी मुलुकको नागरिकता प्राप्त गरेको व्यक्तिले आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको उपभोग गर्न पाउने गरी गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्न सक्ने व्यवस्था छ ।