काठमाडौं । रियालिटी शो ‘एनआरएन द सिङगर’ को ग्रान्ड फिनालेको तयारी पूरा भएको छ । आज आइतबार दिउँसो काठमाडौंमा लाइभ प्रस्तुतिपछि विजेता र उपविजेताहरुको टुंगो लाग्ने छ ।
‘एनआरएन द सिंगर’ को सुरुमा अडिसनका लागि खुलारुपमा एनसीसीमार्फत आह्वान गर्दा ८७ देशका एनसीसीहरुलाई पत्राचार गरिएको थियो । त्यसमा ३७ देशबाट अडिसनका लागि वेबसाइट, इमेल र ह्वाट्सएपबाट ३०० बढीको आवदेन परेको थियो । त्यसमध्ये आयोजक र जज मिलेर उत्कृष्ट ४० जनाको छनोट गरिएको छ । उत्कृष्ट ४० जनाको प्रस्तुति टेलिभिजनमा प्रसारण भएपछि ३ जना निर्णायक शम्भु राई, शर्मिला बर्देवा र रुपककुमार शाही समुदाले उत्कृष्ट २० जनालाई अर्को चरणमा प्रवेश गराएका थिए । २० जनाको प्रतिस्पर्धामा ५ जना बाहिरिएपछि उत्कृष्ट १५ मा पुगेका थिए भने उत्कृष्ट १५ बाट अहिले ग्रान्ड फिनालेसम्म आइपुग्दा अनलाइन भोटिङको पनि व्यवस्था गरिएको थियो । फिनालेका लागि ५ प्रतिस्पर्धीले आफ्नो प्रतिभा प्रदर्शन गरिसकेकाले आइतबार अपरान्ह ५ बजेसम्म अनलाइन भोटिङको व्यवस्था गरिएको छ । ५ वजेभित्र सर्वाधिक भोट ल्याउने प्रतिस्पर्धी नै एनआरएन द सिंगरको पहिलो विजेता हुने छन् ।
ग्रान्ड फिनालेको प्रत्यक्ष प्रसारण सामाजिक सञ्जालबाट हुनेछ भने स्पेस फोरके टेलिभिजनमार्फत पनि प्रसारण हुनेछ ।
कर्मा दोङ तामाङ, विष्णु क्षत्री, सुवासचन्द्र पुनमगर, गुना मगर निसु र युक्ती विमलीले ग्रान्ड फिनालेका लागि स्थान पक्का गरेका छन् । ग्रान्ड फिनालेका लागि आइतबार दिउँसो मेरियट्स होटेलमा कार्यक्रम तय गरिएको कार्यक्रम उत्पादक युनिटेकका सुरज राईले जानकारी दिए ।
१० जनाले प्रस्तुती दिएकोमा फिनालेका लागि ५ जना छनोट भएका हुन् । उत्कृष्ट १० बाट ग्रान्ड फिनालेमा पुग्दा ७५ प्रतिशत भोटिङ र २५ प्रतिशत निर्णायकको अंकले काम गरेको थियो । तर अब ग्रान्ड फिनालेमा ५ जनाबीच प्रतिस्पर्धा हुँदा सर्वाधिक भोट ल्याउनेले नै ‘एनआरएन द सिंगरको’ पहिलो उपाधि जित्ने छन् ।
उपाधि जित्नले नगद रु ५ लाख प्राप्त गर्दा फस्ट रनरअपले रु २ लाख र सेकेन्ड रनरअपले रु १ लाख नगद पुरस्कारका साथै ट्रफि र प्रमाणपत्र पाउने एनआरएन द सिङ्गरका प्रमुख संयोजक गोविन्द प्रसाद गौतमले जानकारी दिए । ग्रान्ड फिनाले घटस्थापना का दिन असोज २८ गते (अक्टोबर १५) मा काठमाडौंमा आयोजना गरिने कार्यक्रमका उपसंयोजक प्रवीण गुरुङले बताए ।
“प्रवासमा रहेका उत्कृष्ट प्रतिभा पहिचान गरी नेपाली भाषा, संस्कृति र सम्पदाको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित यस कार्यक्रममा दर्शकहरुले देखाउनु भएको स्नेहबाट हामी अत्यन्तै उत्साहित भएका छौं”, गैरआवासीय नेपाली संघ (एनआरएनए आइसीसी)का सचिव तथा संघको संस्कृति तथा सम्पदा समितिका अध्यक्ष समेत रहेका गौतमले भने । झन्डै २ वर्ष पहिलेदेखि तयारी गरिएको यो कार्यक्रमलाई सफल बनाउन सहयोग गर्न उनले सबैलाई आग्रह पनि गरे ।