लन्डन । राष्ट्रिय सभाले पारित गरेको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक–२०७९ लाई गैर–आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका कार्यकारी अध्यक्ष कुल आचार्यले स्वागत गरेका छन् । बिहीबार बसेको राष्ट्रिय सभाको बैठकले उक्त संशोधन विधेयक बहुमतले पारित गरेको थियो ।
विधेयकलाई प्रतिनिधि सभाले गत शुक्रबार पारित गरेको थियो । अब राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गरेपछि उक्त विधेयक कानून बन्ने छ ।
यस कार्यलाई अध्यक्ष आचार्यले सबै एनआरएनहरुका लागि खुसीको दिन भएको बताएका छन् । अब गैर–आवासीय नेपाली नागरिकता कार्यान्वयनको बाटो खोलेको उनको भनाइ थियो ।
अध्यक्ष आचार्यले भने, ‘यस विधेयकले संसारभर रहेका नेपालीहरुलाई मातृभूमिसँग जोड्नुका साथै एनआरएनहरुलाई नेपाली सरह सामाजिक, आर्थिक र सांस्कृतिक अधिकार प्राप्त गर्ने बाटो सुनिश्चित गरेको छ । नेपालमा रहेको हाम्रो सम्पत्ति सुरक्षित रहनुका साथै लगानीको ढोका खुलेको छ । संघको स्थापना कालदेखि नै हाम्रा अग्रजहरुले गरेको अथक प्रयास र वर्तमान कार्य समितिको निरन्तर ‘लविङ’ पछि हामीले गैर–आवासीय नेपाली नागरिकता पाउन लागेका छौं । यसलाई एउटा ऐतिहासिक उपलब्धिको रुपमा लिंदै अब बन्ने नयाँ कानूनमा हाम्रा हक, अधिकार सुरक्षित गर्न आ–आफ्नो ठाउँबाट योगदान गर्न म सबै मित्रहरुलाई आग्रह गर्दछु ।’
अध्यक्ष आचार्यले उक्त विधेयक पारित गर्न सहयोग पु¥याउने नेपाल सरकार लगायत सम्पूर्ण संघसंस्थाप्रति आभार प्रकट गरेका थिए ।
यसैगरी, संघका उपाध्यक्ष नारायण आचार्यले यस विधेयक पूर्णरूपमा पास नभइन्जेलसम्म आआफ्नो क्षेत्रबाट ‘लविङ’ गरिरहन संसारभर रहेका एनआरएन अभियन्ताहरुसँग आग्रह गरेका छन् ।
उक्त विधेयक संसदमा दर्ता गरिएको चार वर्षपछि मात्रै संसदका दुवै सदनहरुबाट पारित भएको हो । संघले आफ्नो स्थापनाकालदेखि नै गैर–आवासीय नेपालीहरुका लागि दोहोरो नागरिकता दिन माग गर्दै आएको थियो ।