November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

हामी कहिले वैधानिक हुने सरकार ?

3.6K

-आकाश शेर्पा यात्री

नेपालबाट विशेषत मध्यपूर्वी देशहरूमा घरेलु कामदारको रुपमा जान प्रतिबन्ध गरेको लामो समय भएको छ । तर, तेस्रो मुलुकबाट ती प्रतिबन्धित देशहरुमा पुग्ने नेपाली महिलाहरुको संख्या भने बढेकै देखिन्छ । यहि क्रममा खाडी देश कुवेतमा भेटिएका केही पात्रसँगको कुराकानीको आधारमा यस सामग्री तयार पारिएको छ ।

पात्र–१
आफ्नो श्रीमान कुवेतमा रहेका कारण घरेलुु कामदार भिसामा कुवेत आइ केही महिना कुवेतीको घरमा काम गरेपछि रिलिज लिएर श्रीमानसँगै बसेर काम गरिरहेका ती पात्र सन् २०१५ पछि कुवेत आईपुगेकी हुन् । २०१५ भन्दा अगाडि आउने घरेलु कामदारको रुपमा आउँदा नेपालको विमानस्थलबाट नै श्रम स्वीकृति लिएर आउन पाइन्थ्यो । त्यसयता वैधानिक रुपले नेपालबाट आउन बन्द गरिएको कारण ती पात्र पनि तेस्रो मुलुकबाट कुवेत प्रवेश गरेकी थिइन् । कुवेत आएपछि काम र कमाईको हिसाबले मात्र नभएर आफ्नो श्रीमानसँग बस्न पाउँदा उनलाई आनन्द लाग्छ । यद्यपी उनी नेपाल जान नपाएको सात बर्ष हुन लागेको छ । कुवेतमा रहेका नेपाली दूतावासमा प्रत्येक महिना फोन गरेर ‘नेपाल जान आउन पाईन्छ ?’ भन्ने आशा सहित जिज्ञासा राख्छिन् । कुवेतमा छोरीको जन्म भयो । छोरी दुई बर्ष हुन लागिन्, तर परिवारलाई देखाउन जान पाएकी छैनन् । ‘काम छाडेर नेपाल जान मन पनि छैन । यहाँ जस्तो कमाई र काम अन्त पाउने ग्यारेन्टी छैन । नेपालमा बसेर आफ्नो छोराछोरीलाई हुर्काउन पढाउन गाह्रो हुन्छ ।’, उनी बताउछिन् । साथै श्रीमानको औसत कमाई भएको कारण दुईजना सँगै बसेर कमाउने उनको इच्छा छ । ‘कुवेत आएको सात बर्ष भयो । हरेक वर्ष कुवेतको भिसा रिन्यु गर्छु । कुवेतमा कानुन सम्वत काम गरेको छु, तर नेपाल सरकारबाट अवैधानिक घरेलु कामदारमा दर्ज भएको छु । हामी कैले वैध हुने ? भन्ने सरकारप्रति पश्न उब्जिन्छ ।’, उनी थप्छिन् ।

Advertisement

पात्र– २
श्रीमानले दोस्रो विवाह गरेपछि साथमा भएको एउटा छोरालाई माईतमा आमासँग राखेर विदेश हानिएकी ती पात्र चिनेकै एजेन्टमार्फत सन् २०१७ मा श्रीलंका हुँदै कुवेत आइपुगेकी थिइन् । उनी दुई बर्ष कुवेतीको घरमा काम गरेर बाहिर भिसा साटेर निस्किएको ३ बर्ष भएको छ । कोरोना महामारी अघि बाहिर निस्केर काम गर्न थालेकी उनी राम्रो तलब सुविधासहित काम गर्दै आएकी छन् । लकडाउनमा समेत आधा तलबमा काम गरेकी उनले अहिले त्यही कामबाट राम्रो आम्दानी गरेको र छोरालाई पढाउन र आमालाई खर्च पु¥याएर पनि केही रकम बचत गर्दै गरेको बताउछिन् । ‘अहिले कोरोनापछी स्थिति सामान्य भएको अवस्थामा नेपाल बिदामा गएर आउन मन लागेको छ ,तर श्रम स्वीकृति लिएर आउनेलाई मात्र फर्कन पाउने नियम रहेको कारण सकेको छैन ।’, उनी गुनासो राख्छिन् । श्रम स्वीकृति नै नदिए पछि फर्कने बाटो बन्द हुने हुँदा आफ्नो सन्तानको भविश्य सम्झेर मनलाई थामेर बसेकी छिन उनी । श्रीमानले अर्कै विवाह गरेपछि छोराको सबै जिम्मेवारी बहन गर्दै आफूलाई मजबुत बनाउँदै आएकी उनी काम र कमाईबाट सन्तुष्ट रहेको बताउछिन् । अझैं केही बर्ष कुवेतमै रहने उनको सोच छ । बिदामा नेपाल गएर फर्किन पाए हुन्थ्यो भन्ने उनको चाहना भएतापनि नेपाल सरकारले खाडीमा आउने घरेलुु कामदारलाई अवैधानिक बाटोबाट गएको कारण श्रम स्वीकृति नदिने नीतिकोे मारमा परेकी छन् उनी । उनको पनि प्रश्न छ– सरकार हामी कहिले वैध हुने ?

पात्र–३
सन् २०१८ मा अस्वस्थ श्रीमान र छोरीलाई गाउँमै छाडेर दिल्लीको विमानस्थल हुँदै कुवेत आइपुगेका थिए, यी पात्र । कुवेतस्थित भारतीयको घरमा घरेलु कामदारको रुपमा रहेकी उनलाई साप्ताहिक बिदा मिल्छ । काम पनि सजिलो छ । बच्चाहरु आफ्नै बच्चा जसरी स्याहार गर्ने उनलाई मालिकहरुले पनि परिवार जसरी नै माया गर्छन् । तर, वार्षिक बिदामा नेपाल आउजाउ गर्न साहु साहुनी टिकट काटिदिन तयार रहेतापनि उनी नेपाल जान सकिरहेकी छैनन् । फेरि पनि दिल्लीबाट आउन सेटिङ मिलाउनु पर्ने र खर्च लाग्ने हुँदा श्रीमानको अवस्था र छोरीको भविश्य सम्झी यति राम्रो घर र काम छाडेर जान मन नलागेको उनी बताउछिन् । कुराकानीको क्रममा भन्छिन् ‘छुट्टिमा गएर आफ्नो परिवारलाई भेटेर फेरि कमाउन आउन कसलाई मन लाग्दैन र ? आफ्नो देशमा कमाउन सक्ने र श्रीमानको उपचार र आफ्नो सन्तानको भविश्व बनाउन सके किन आउनु पर्यो यसरी विदेश ?’ आँखाको डिलमा आँसु निकाल्दै भन्छिन् ‘खै आफ्नो देशको सरकारले नै हामी इलिगल (अवैधानिक) भन्छन् । यहाँ भिसा लगाएर काम गर्छु पैसा पठाउछु तर एम्बेस्सीमा सोध्यो भने छुट्टी गएर आउन श्रम मिल्दैन मात्र भन्छ ।’

सायद यी पात्रहरू जस्तै कुवेत लगायत मध्यपूर्वी देशमा घरेलु कामदारको रुपमा तेस्रो देशबाट प्रवेश गरेका महिला तथा पुरुषहरु दुवैको पिडा उस्तै होला । घरेलु कामदारको रुपमा महिला मात्र हैन, पुरुषहरु पनि आउँछन् । विशेष गरि गाडी चालकको रुपमा सजिलोसँग भिसा र लाइसेन्स पाउँदा भने कोहि लामो समयदेखि काम गर्दै आएको घरमा आफ्नो परिवार र आफन्तका सदस्यहरुलाई बोलाउने गर्छन् ।

अघिल्लो श्रम मन्त्री कृष्णकुमार श्रेष्ठको पालामा तेस्रो मुलुकबाट आएका कामदारहरुलाई बिदामा गएर आउन मिल्ने प्रावधानलाई अगाडि सारे पनि अहिलेसम्म कार्यन्वयनमा आउन सकेको छैन । यसबारे नेपाली दूतावास कुवेतमा सम्पर्क गर्दा अहिलेसम्म परिपर्ता नआएको र आएपछि जानकारी दिने बताउँछन् ।