कुवेत । खाडीको देशहरुमा आउने नेपाली घरेलु कामदार महिलाहरूको संघर्ष र समर्पणको कथा अनगिन्ती छ । विशेष गरी उनीहरूले आफ्नो परिवार र मातृभूमिका लागि गर्ने बलिदान।
कुवेतमा घरेलु कामदारको रूपमा काम गर्ने धेरै नेपाली महिलाहरूको जीवन यस्तै कथा हो। दशक अगाडिदेखि कुवेतमा घरेलु कामदारको रूपमा प्रवेश गरेका थुप्रै महिलाहरू काम, कमाई, र सम्बन्धमा आफ्नो जीवनलाई सुदृढ बनाउन खोजिरहेका छन्। तर, सरकारले घरेलु कामदारको लागि श्रम स्वीकृति नदिने नीतिका कारण उनीहरूको श्रम वैध हुँदाहुँदै पनि ‘अवैध’ को ट्याग भिरेर हिंड्न बाध्य छन्।
दशकक्को बिचमा धेरै नेपाली महिलाहरु घरेलु काम गर्नकै लागि तेस्रो मुलुकबाट कुवेत लगायत खाडीका देशमा निर्वाध प्रवेश गरेको छ । यस दशकमा धेरै नेपाली महिलाहरु घरेलु कामदारको रुपमा कुवेतको वैध कम्पनीहरूमा काम गर्ने अवसर प्राप्त गरेका छन्। यी महिलाहरूले भिसा किनेर, आप्रवासन प्रक्रिया पूरा गरेर वैधानिक रूपमा देश प्रवेश गरेका हुन्छन्। शुरुवातमा काम कठिन भए पनि, समयसँगै धेरै महिलाहरूले राम्रो परिवार वा नियोक्ता पाएपछि ‘रिलिज’ लिई बसेकाहरु पनि छन्। ‘रिलिज’ को अर्थ पुरानो नियोक्ताबाट नयाँ नियोक्तामा जाने अनुमति हो, जसले कामको सहजता सँगसँगै तलबको वृद्धि हुने गर्दछ।
तलब राम्रो भएको र काम सहज भएपछि उनीहरूले आफ्नो परिवारलाई आवश्यक रेमिटेन्स पठाउन सफल भएका छन्। तर यो प्रक्रिया सरल छैन। यो सबै हुँदा पनि एउटा ठूलो समस्या अगाडि आएको छ । नेपाल सरकारको घरेलु कामदार महिलाहरूलाई श्रम स्वीकृति नदिने नीतिले गर्दा उनीहरूको विदा लिन र नेपाल फर्कने बाटो अवरुद्ध भएको छ।
नेपाल फर्किन नपाउनु र पारिवारिक मिलन नहुँदाको पीडा कमाएको धन सम्पत्तिले पुर्न सकेको छैन । वर्षौंदेखि कुवेतमा बसेका यी महिलाहरूको लागि सबैभन्दा पीडादायक पक्ष भनेको आफ्ना परिवार र प्रियजनहरूसँग भेटघाट गर्न नपाउनु हो। कति महिलाहरूले छोराछोरी, श्रीमान्, आमाबाबासँग टाढा रहनुपर्ने पीडा सहनुपर्छ। ‘रिलिज’ लिएर काम गर्न सके पनि नेपाल जान छुट्टी पाउन सके पनि फेरि रोजगारीको कुवेत आउन कठिन छ। नेपाल सरकारको नीति अनुसार घरेलु कामदारहरूलाई श्रम स्वीकृति नदिइने हुँदा उनीहरूले अवैध मानिन्छन्, चाहे उनीहरूको कमाई र काम पूर्ण रूपमा वैधानिक भए पनि।
कुवेतमा घरेलु कामदार महिलाहरूले कडा परिश्रम गरेर कडा रेमिटेन्स पठाउँदैछन्, जसले नेपाल सरकारको अर्थतन्त्रमा योगदान गरिरहेको छ। तर, तिनीहरूलाई नेपाल सरकारबाटै अवैध कामदारको रूपमा लिइन्छ। यो समस्या ती महिलाहरूका लागि डबल बोझ हो । उनीहरूले आफ्नो देशलाई रेमिटेन्स पठाएर सहयोग गरिरहेका छन्, तर उनीहरूकै सरकारबाट सम्मान र सुविधा पाउँदैनन्।
नेपाल सरकारले घरेलु कामदारहरूको लागि श्रम स्वीकृति नदिने नीतिमा पुनर्विचार गर्न जरुरी छ। वैधानिक रूपमा विदेश गएर काम गरिरहेका महिलाहरूलाई अवैध भन्ने रवैयाले तिनीहरूको मनोबल गिराउँछ। सरकारले कुवेतजस्ता देशहरूमा काम गरिरहेका महिलाहरूको सुरक्षाको सुनिश्चितता गर्दै उनीहरूको श्रम स्वीकृति प्रक्रिया सुधार्नुपर्ने समय आएको देखिन्छ ।
सरकारले उनीहरूलाई केवल रेमिटेन्स पठाउने ‘एटीएम’ को रूपमा नलिई, ती महिलाहरूको सम्मान र अधिकारको रक्षा गर्नुपर्छ। यसरी तिनीहरूले आफ्नो देशको अर्थतन्त्रमा योगदान दिनुका साथै आफ्ना परिवारसँग पुनर्मिलनको अवसर पनि पाउन सकून्।
कुवेतमा वैधानिक रूपमा काम गरिरहे पनि नेपालको श्रम नीतिले अवैध कामदारको ट्याग भिरेका यी नेपाली घरेलु कामदार महिलाहरूको कथा दुखदायी छ। उनीहरूको योगदानलाई अवमूल्यन नगरी, सरकार र समाजले उनीहरूको मेहनत र बलिदानलाई सम्मान गर्नु आवश्यक छ। नीतिमा सुधार गर्दै, तिनीहरूलाई आफ्नो परिवारसँग भेट्न सक्ने अवसर दिनु सबैको हितमा हुनेछ।