कुवेतमा विषाक्त मदिराका कारण ६ नेपालीसहित १३ एसियाली नागरिकको मृत्यु भएको छ । विषाक्त मदिरा सेवनका कारण ६३ जना अस्पताल भर्ना भएको र १३ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेका छ।
कुवेतस्थित नेपाली दूतावासका श्रम सहचारी गिरीप्रसाद आचार्यका अनुसार विभिन्न अस्पतालमा मदिरा सेवन गरेर बिरामी भएकाहरुको उपचार भइरहेको यस घटनाबारे थप बुझ्ने काम भइरहेको जनाएको छ । उनकाअनुसार कुवेतस्थित आदान, फर्वनिया र मुबारक अलकबी अस्पतालमा बिरामीहरुको उपचार भइरहेको छ । ३१ जना भन्दा बढीको सघन उपचार कक्षमा उपचार भइरहेको छ ।
विषाक्त मदिरा सेवन गरेर १३ जनाको मृत्यु, ३१ जनाको अवस्था गम्भीर बिरामी, ५१ जनाको मृगौला फेल र २१ जनाको आखाको ज्योति गुमेर दृष्टिविहीन बनेका छन्
कुवेतमा मदिरा पूर्णरूपमा प्रतिबन्धित भएपनि लुकिछिपी हुने उत्पादन गरी अवैधानिक बेचबिखन भएकाे पाइएकाे हो। विषाक्त मदिराको स्रोत पत्ता लगाउन अनुसन्धान भइरहेको स्वास्थ मन्त्रालयले जानकारी दिएको छ ।
विषाक्त मदिरा सेवन गरेर मृत्यु हुने र गम्भीर बिरामी हुनेमा अधिकांश निर्माण मजदुर रहेका कुवेतको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै टाइम्स अफ इन्डियाले उल्लेख गरेको छ ।
प्रारम्भिक अनुसन्धानमा मदिरामा मेथानोल प्रयोग भएको देखिएको त्यहाँको स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले पुष्टि गरेका छन् । मेथानोल एक विषालु रसायन हो । उद्योगहरुमा एन्टिफ्रिज, सोल्भेट र इन्धन बनाउन प्रयोग गरिने मेथानोल मदिरामा प्रयोग भएको देखिएको अधिकारीहरुले बताएका छन् ।
सामान्य मदिरामा पाइने एथानोल मानव उपभोगका लागि प्रयोग हुने भएपनि मेथानोल खाद्य प्रयोजनमा प्रयोग गरिँदैन । मेथानोलयुक्त पेय पदार्थ पिउँदा टाउको दुखाइ, बान्ता, दृष्टि धमिलो हुने, कोमामा पुग्ने लक्षण देखिन्छ भने व्यक्तिको मृत्यु समेत हुनसक्छ ।