जुम्ला । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी शर्मा ओली वर्तमान सरकारले भ्रष्टाचारीको संरक्षण गरेको आरोप लगाएका छन् ।
सोमबार नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समितिद्वारा आयोजित जनसभालाई सम्बोधन गर्न कनकासुन्दरी गाउँपालिकाको गोरुचौर पुगेका
प्रचण्डले भने, ‘मैले उति बेला नै भनेको थिएँ, यो सरकार भ्रष्टाचारलाई प्रोत्साहन गर्न बनेको हो । सरकार गठनको तीन महिना पुग्दैछ । तपाईँहरूले सबै देखिरहनुभएको छ ।’
आफ्नो नेतृत्वको सरकारले राज्यको जमिन जबरजस्ती व्यक्तिका नाममा दर्ता गर्नेलाई गिरफ्तार गरेको उल्लेख गरे उनले प्रधानमन्त्रीले नै अदालतमा मुद्दा चलिहरको व्यवसायीबाट जग्गा दान लिएर भ्रष्टाचारीको संरक्षण गरेको आरोप लगाए ।
सरकार गठन भएको सय दिन पूरा भएपछि विरोधका कार्यक्रम सुरु गर्ने पनि प्रचण्डले जानकारी दिए । उनले भने, ‘सरकारले जतिसुकै नराम्रो काम गरे पनि हामीले हनिमुन पिरियड मानिने सय दिनसम्म प्रतिनिधिसभाबाट खबरदारी वक्तव्य दिनेबाहेक अन्य विरोधका कार्यक्रम गरेका छैनौँ । आज मात्रै हामी विपक्ष दलहरूका तर्फबाट सरकारलाई ज्ञापनपत्र दिँदै छौँ र सय दिन पुगेपछि विरोधका कार्यक्रम सुरु हुन्छन् ।’
यस्तै, आफ्नो नेतृत्वको सरकारले देशभित्र भ्रष्टाचारका विरुद्ध, सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिका पक्षमा तथा अन्तर्राष्ट्रिय रुपमा नेपालमा प्रतिष्ठा अभिवृद्धि गर्न पहलकदी लिइरहेको बेला संसद्को पहिलो र दोस्रो दलले आफूलाई हटाएको उनको गुनासो थियो।
उनले आफूले सरकारको नेतृत्व गरेको बेला दुई छिमेकी देशको भ्रमणमा ऐतिहासिक समझदारीहरू भएको उल्लेख गरे । ‘संयुक्त राष्ट्रसङ्घको महासभा, विश्व खाद्य सम्मेलन, कोप–२८ सम्ममा लिएको हस्तक्षेप पूर्ण पहलकदमीले विश्वको ध्यान आकर्षित भएको थियो ।
महासभाका क्रममा संयुक्त राष्ट्रसङ्घका महासचिवलाई निम्तो दिएर विभिन्न युद्धको जटिल अवस्थामा महासचिव नेपाल आउनु महत्वपूर्ण उपलब्धि हो’, उनले भने, ‘गौतम बुद्धको जन्मस्थल लुम्बिनीबाट उनी र मैले विश्व शान्तिका लागि अपिल गरेका थियौँ । यी सबै पहलकदमीले विश्वको ध्यान नेपालमा तानिएको थियो र नेपालको पक्षमा अन्तर्राष्ट्रिय जनमत राम्रो बनेको थियो ।’