April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

कम्युनिष्ट पार्टीको पुनर्गठनको तयारी भइरहेको छ: सापकोटा

950

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले कम्युनिष्ट पार्टीको पुनर्गठनको तयारी भइरहेको बताएका छन् । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वसभामुखसमेत रहेका सापकोटाले मुद्दा मिल्नेहरूसँग खुकुलो प्रकारको मोर्चा बनाइ वृहत् वामपन्थी एकीकरण गर्ने तयारीमा रहेको बताएका हुन् ।

उनले कम्युनिष्ट पार्टीलाई विगतमा जोगाउन नसकिएको भन्दै अहिले बनेको नयाँ समीकरण हुँदै वृहत् वामपन्थी एकीकरण र कम्युनिष्ट पार्टीको पुनर्गठनतिर अघि बढिरहेको बताए ।

उनले वामपन्थी एकीकरणले सरकार र देश चल्दैन भन्ने टिप्पणी आइरहेको भन्दै उक्त विचार पूर्ण रुपमा खारेज गर्नुपर्ने बताए । उनले नेपाली जनता वामपन्थीहरूलाई मन पराउने मात्रै नभई फेरि कम्युनिष्ट पार्टीको पुनर्गठन चाहिरहेको बताए ।

Advertisement

उनले भने राजनीतिक पुनः गठनमा मलाई के लाग्छ भने वृहत् वामपन्थी एकीकरण यो मुद्दा मिल्नेहरूसँग खुकुलो प्रकारको मोर्चा, वृहत् वामपन्थी एकीकरण र कम्युनिष्ट पार्टीको पुनः गठन । हिजो हामीले पुनः गठन गरेका थियौँ । त्यसलाई हामीले जोगाउन सकेनौँ । त्यो विघटन भएको छ । आज नयाँ समीकरण बनेको छ । यो नयाँ समीकरण हुँदै हामी वृहत् वामपन्थी एकीकरण हुँदै कम्युनिष्ट पार्टीको पुनर्गठनतिर जाँदैछौँ । भन्न त अहिले के भनिरहेका छन् भने वामपन्थी एकीकरणले न सरकार चल्छ न देश चल्छ । होइन, यो विचारलाई हामी पूरै खारेज गर्न चाहन्छौँ । नेपाली जनता वामपन्थीहरूलाई रुचाउँछन् । वामपन्थीहरूलाई मन पराउँछन् मात्रै होइन, नेपाली जनता फेरि कम्युनिष्ट पार्टीको पुनर्गठन चाहन्छन् । त्यसकारण हाम्रो राजनीतिक कार्यदिशाको रुपमा वृहत् वामपन्थी एकीकरण कम्युनिष्ट पार्टीको पुनर्गठन । जस्तो विचार त्यस्तै राजनीतिक कार्यदिशा ।’