काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले पराजय स्वीकार गर्न पार्टी पंक्तिलाई निर्देशन दिएका छ्न् ।
गृहमन्त्री लामिछानेले सामाजिक संजालमा लेखेका छन्, ‘इलाम–२ को उपनिर्वाचनमा एमाले उमेदवार सुहाङ नेम्वाङजी विजयी हुनुभएकोमा हार्दिक बधाई ज्ञापन गर्छु। हामीलाई मत दिनु हुने र मतसँगै ठूलो सन्देश दिनुहुने सबैप्रति आभारी छु । रास्वपा उमेदवार मिलन लिम्बूलगायत अहोरात्र खट्नु हुने सिंगो पार्टी पंक्तिलाई धन्यवाद! जित्न सकिएन, सिक्न सकियो। त्यसैले कुनै यदि, तरको सहारा नलिइ सहर्ष पराजय स्वीकार गर्दै जिम्मेवार ढंगले अभिव्यक्त हुन सबै सदस्यहरूमा अनुरोध छ।’
यसअघि रास्वपाबाट उम्मेदवार बनेका मिलन लिम्बुले पनि सुहाङलाई बधाई दिएका छन् । उनले भेटेरै नेम्बाङलाई बधाई दिएका हुन् ।
लिम्बुले सामाजिक संजालमा लेखेका छन्, ‘बधाई मित्र सुहाङ ! एउटा प्रक्रियामा हामी प्रतिस्पर्धी थियौँ । हाम्रो प्रतिस्पर्धा व्यक्ति-व्यक्तिबिचको नभएर इलाम र इलामेली जनताको पक्षमा काम गर्ने सन्दर्भमा थियो । तपाईँको जित तपाई अर्थात् एउटा व्यक्तिको मात्र जितको रूपमा कायम हुने छैन, समग्र इलाम र इलामेली जनताको जितमा रूपान्तरण हुने अपेक्षासहित हार्दिक बधाई तथा शुभकामना !’
वैशाख १५ गते भएको निर्वाचनमा नेकपा (एमाले)का उम्मेदवार सुहाङ नेम्बाङ फराकिलो मतान्तरसहित निर्वाचित भएका छन्। उनले २७ हजार ७७२ मत ल्याउदा उनका निकटतम प्रतिस्पर्धी डम्बरबहादुर खड्काले २१ हजार ९४२ मत ल्याए। तेस्रो स्थानमा रहेका डकेन्द्रसिंह थेगिमले ११ हजार ४५७ मत ल्याए।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बूको ५ हजार ५० मत ल्याए।