काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसबाट पटकपटक धोका भएको बताएका छन् । माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डले आइतबार बिहान पोखरामा पार्टीका अगुवा नेता–कार्यकर्तालाई सम्बोधन गर्दै भोली पनि यस्तै धोको हुने देखिउको बताएका हुन् ।
प्रचण्डले भने, ‘कांग्रेसबाट पटकपटक धोका भयो । कांग्रेसबाट हामीलाई भोट ट्रान्सफर हुने पनि देखिएन । सबैजसो निर्वाचनमा धोका भयो । भोलि पनि यस्तै हुने देखियो । एकातिर सरकारमा गति नआउने, अर्कोतर्फ गठबन्धनप्रति इमान्दार नहुने परिस्थितिले नयाँ गठबन्धनमा गएका हौं ।’
उनले सरकारको गतिमा परिवर्तन ल्याउन र वामपन्थी शक्तिबीच सहकार्यका निम्ति नयाँ समीकरण बनाइएको बताएका छन् । केन्द्रमा नयाँ गठबन्धन बन्नुमा संविधानको रक्षा र सुदृढीकरण र वामपन्थी आन्दोलनको रक्षा नै मुख्य विषय भएको प्रधानमन्त्रीले बताए ।
प्रधानमन्त्री प्रचण्डले पार्टीलाई सुदृढ गर्न एक महिने अभियान चलाइने बताए । उनले भने, ‘राष्ट्रिय जागरण अभियान सञ्चालन गर्दैछौं । पूर्वदेखि पश्चिमसम्मको तराई–मधेसलाई समेटेर एउटा अभियान चल्नेछ । हिमाल, पहाड र तराई–मधेशलाई जोडेर उत्तर–दक्षिणका भूगोल जोडेर अभियान चलाइन्छ ।’
गण्डकी प्रदेशमा माओवादीले नेतृत्व लिने सम्भावना रहेको उनले बताए । उनले भने, ‘गण्डकी प्रदेश सरकारका बारेमा पनि हामी छलफल गर्दैछौं। प्रदेशमा सरकार गठनका लागि गृहकार्यमै छौं। त्यो टुंगाएपछि एउटा निष्कर्षमा पुग्नेछौं ।’