काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले इतिहास भइसकेको शाह वंशीय राजतन्त्र कुनै हालतमा फर्कन नसक्ने बताएका छन् । माओवादी केन्द्रको मजदुर संगठन अखिल नेपाल ट्रेड युनियन महासंघले बिहीबार ललितपुरको लगनखेलमा आयोजना गरेको कार्यक्रममा बोल्दै पुनले निरंकुशताको आडमा व्यक्तिगत फाइदा लिएका केही व्यक्ति र शक्तिले विगतमा पनि गणतन्त्रप्रति विमति राखेको र अहिले राजतन्त्रको वकालत गरिरहेको आरोप लगाएका हुन्।
सांसदसमेत रहेका पुनले भने, ‘सानो समूहमा रहेका केही पश्चगामी र निरंकुशतन्त्रका पक्षपातीहरूले हिजोका दिनमा पनि गणतन्त्रप्रति विमति राखेका थिए । तिनीहरू स्वाभाविक रुपले राजतन्त्रकै निरन्तरता चाहन्थे । वंशाणुगत राजतन्त्रबाट लाभ प्राप्त गरेका तत्कालीन दरकारका आसेपासे, ढोके, हुक्के र तिनका चम्चेहरूले राजतन्त्र चाहिन्छ भन्नुलाई विल्कूल अस्वाभाविक मान्नुपर्दैन । सधैं राजतन्त्रबाट लाभ लिएको वर्ग र समुदायले गणतन्त्र भत्काउन पाए फेरि गुमेको स्वर्ग फर्कन्थ्यो कि भन्ने ठान्नु अन्यथा होइन ।’
पुनले राजतन्त्र पुनस्थापनाको माग गरिरहेको वर्ग र शक्ति वर्तमान राजनीतिमा असान्दर्भिक भइसकेको पनि बताए । गणतन्त्र, संविधान, संघीयता र धर्मनिरपेक्षताजस्ता परिवर्तनका राजनीतिक उपलब्धी बचाउनु माओवादीसहित १२ बुँदे समझदारी, २०६२/०६३ को जनआन्दोलन, शान्ति प्रक्रिया र संविधान निर्माणको प्रक्रियामा सहभागी राजनीतिक दलहरूको दायित्व भएको उनको भनाइ थियो ।
गणतन्त्र, संघीयता र धर्मनिरपेक्षतामाथि कुनै खतरा नरहेको पुनले बताएका छन् । इतिहास भइसकेको शाह वंशीय राजतन्त्र कुनै हालतमा फर्कन नसक्ने भन्दै उनले निरंकुशताको आडमा व्यक्तिगत फाइदा लिएका केही व्यक्ति र शक्तिले विगतमा पनि गणतन्त्रप्रति विमति राखेको र अहिले राजतन्त्रको वकालत गरिरहेको बताए ।