काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवलाई खुकुरी प्रहार गरेको विरोधमा तरूण दलले मसाल जुलुस निकालेको छ । दलले सोमबार राति काठमाडौं चाबहिलको पशुपति कलेजबाट तरूण दलका केन्द्रीय सदस्य प्रेम शाही नेतृत्वमा मसाल जुलुस निकालेको हो ।
प्रदर्शनकारीहरुले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा समेत माग गरेका छन् । उनीहरुले ‘गृहमन्त्री तिम्रो पाराले दुःख पायो साराले’, ‘शान्ति सुरक्षा कायम गर’ लगायत नाराबाजी गरेका थिए ।
प्रहरीले प्रदर्शनकारीलाई रोक्न खोज्दा एक जना घाइते भएका छन् भने प्रदर्शनकारीले एउटा गाडीमा तोडफोड समेत गरेको छ ।