काठमाडौं । सर्वोच्च अदालतमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड विरुद्ध रिट दर्ता भएको छ । गत शुक्रबार सर्वोच्च अदालतले रिट निवेदन दर्ता गर्न आदेश दिएपछि अदालतले मंगलबार द्वन्द्वकालीन मुद्दालाई लिएर प्रधानमन्त्री दाहालविरुद्धको रिट निवेदन मंगलबार दर्ता गरेको हो । उक्त रिट निवेदनमाथि सुनुवाईको लागि बिहीबारको लागि पेशी तोकिएको छ ।
अधिवक्ता ज्ञानेन्द्र आरन र रामेछापका कल्याण बुढाथोकीले प्रधानमन्त्री दाहाललाई पक्राउ गरी आवश्यक अनुसन्धान अघि बढाउन मागसहित रिट निवेदन दर्ता गरेका हुन् । गत शुक्रबार न्यायाधीश ईश्वर खतिवडा र हरिप्रसाद फुँयालको संयुक्तको इजलासले यसअघि सर्वोच्च प्रशाशनले दरपीठ गरेको रिट निवेदन दर्ता गर्न आदेश गरेको थियो ।
इजलासले दाहालले द्वन्द्वकालमा मारिएका ५ हजार जनाको जिम्मा लिन्छु भनेर दिएको अभिव्यक्तिविरुद्ध परेको रिट दर्ता गर्न आदेश दिएको थियो । सर्वोच्चको आदेशपछि माओवादी केन्द्रले भने द्वन्द्वकालीन विषयलाई संक्रमणकालीन न्याय अन्तर्गत टुंग्याउनुपर्ने बताउँदै आएको छ ।
उक्त मुद्दाकै विषयलाई लिएर पूर्वमाओवादी आन्दोलनका नेताहरूले शान्ति सम्झौता र परिवर्तनका विरुद्ध हुने कुनै पनि गतिविधिको प्रतिवाद गर्ने निर्णय गरेका छन् ।तत्कालीन माओवादी पार्टीका विभिन्न गुटका नेताहरुको मंगलबार बिहान बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले संक्रमणकालीन न्यायसँग सम्बन्धित सबै विषय सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता पारिएका व्यक्तिहरुको छानविन आयोगमार्फत अगाडि बढाउन माग समेत गरेका छन् ।