काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले भौतिक विकास भन्दा पहिले मानवीय जीवन रक्षाको सवाल प्रमुख रहने बताएका छन् ।
अखिल नेपाल किसान महासङ्घले आयोजना गरेको विश्व खाद्य दिवसको सन्दर्भमा आयोजित भोकमरी विरुद्धको अभियान ,खाद्य सम्प्रभुता विषयक अन्तरकृया कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले नेपालको संविधानमा नै खाद्य सम्प्रभुता सवाल सम्बोधन भएको भन्दै नागरिकको सम्मानजनक जीवन यापन गर्ने सवालमा खाद्य सम्प्रभुताको सवाल महत्वपूर्ण रहेको बताएका हुन् ।
अध्यक्ष नेपालले पूँजीवादले कसरी मुनाफा आर्जन गने भन्ने सवाल प्राथमिकता हुन्छ भने समाजवादमा नागरिकको समृद्ध जीवन सहित सम्मानका साथ जीवनको रक्षाको सवाल प्रमुख हुने बताए । किसान महासङ्घले उठाएको महत्वपूर्ण सवाल संविधानमा समाविष्ट भएको चर्चा गर्दै नेपालले समाजको अगुवा शक्ति कम्युनिष्ट पार्टी भएकोले जसको विचार काम र व्यवहार पनि अगुवा हुनु पर्ने धारणा राख्दै जसले विकृति असमानता भेदभाव विरुद्ध जुट्नु पर्ने धारणा राखे ।
कृषि क्षेत्रको समग्र विकास विना देशको अवस्था परिवर्तन हुन कठिन हुने भन्दै अध्यक्ष नेपालले जसको लागि जग्गाको वर्गिकरण ,सिंचाईको प्रबन्ध सिँचाइ प्रणालीको व्यवस्थित सदुपयोग ,उत्पादन र उत्पादकत्व वृध्दि गर्न मल खद्य गुणस्तरीय बिउ बिजन आधुनिक खेती प्रणाली , यान्त्रीकीकरण सहित गुणस्तरीय उत्पादन महत्वपूर्ण हुने बताए ।




