काठमाडौं- प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले आफूले दुवै पद नछाड्ने दोहोर्याएका छन्। आइतबारको स्थायी कमिटीमा आफू उपस्थित नभए पनि कमिटीलाई सम्बोधन गरेर पठाएको पत्रमा उनले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पद नछाड्ने स्पष्ट पारेका हुन्।
‘उहाँले पठाउनुभएको पत्रमा आफूले दुवै पद नछाड्ने बताउनुभएको छ’, एक स्थायी कमिटी सदस्यले भने।
ओलीको पत्र उनी निकट नेता तथा सचिवालय सदस्य ईश्वर पोखरेलले वाचन गरेर सुनाएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।
‘उहाँले आफ्नो अनुपस्थितिको कारण देखाउँदै बैठकलाई सम्बोधन गरेर एउटा पत्र पठाउनुभएको छ। बैठकको प्रारम्भमै सचिवालयको सदस्य ईश्वर पोखरेलले उक्त पत्र वाचन गरेर स्थायी कमिटीको बैठकलाई जानकारी गराउनुभयो। ओलीले आफ्नो पूर्वमान्यता अर्थात् अध्यक्ष प्रचण्डको प्रस्तावलाई औपचारिक रुपमा बैठकमा छलफल गर्न नसकिने धारणा रहेको र त्यसकारणले आफू बैठकमा नआएको उल्लेख गर्नुभएको छ’, श्रेष्ठले भने।
बैठकमा प्रचण्डले सहमति नभए बहुमतबाट निर्णय हुने प्रष्ट पारेका छन्।