काठमाडौं – सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी कमिटीको बैठक आज बस्दैछ। पार्टी मुख्यालय धुम्बाराहीमा १ बजेका लागि स्थायी कमिटीको बैठक बस्न लागेको हो।
पार्टीभित्र देखिएको समस्या समाधान गर्नका लागि स्थायी कमिटीको बैठक बस्न लागेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। शनिबार बसेको सचिवालय बैठकले पार्टीभित्रका विवादको क्रममा देखिएको सबै प्रस्तावहरू तल्लो तहमा लाने निर्णय भएको उनले बताए।
स्थायी कमिटीमा अध्यक्ष दाहालसहित वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकको माग गर्दै प्रधानमन्त्रीलाई दिइएको लिखित पत्र, प्रधानमन्त्री ओलीले दिएको त्यसको प्रतिउत्तर, अध्यक्ष दाहालले कात्तिक २८ को सचिवालयमा राखेको प्रस्ताव, त्यसको प्रतिउत्तर प्रधानमन्त्री ओलीले मंसिर १३ गते राखेको जवाफमाथि स्थायी कमिटीमा छलफल हुने स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले बताए।
‘आजको बैठकमा सचिवालयमा आएका सबै प्रस्तावहरू पेस हुन्छ। बैठकमा पेस भइसकेपछि पेस भएका प्रस्ताव अध्ययनका लागि बैठक केही दिन पर धकेल्ने तयारी भइरहेको छ’ उनले भने।
त्यो त शनिबारको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले स्थायी कमिटी राख्न असहमति जनाइसकेका छन्। ओलीको असहमतिबीच अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित बहुमतको सदस्यको दबावपछि बाध्य भएका थिए।
प्रधानमन्त्री ओलीकै कारणले पार्टीमा पटक पटक समस्या निम्तिएको भन्दै उनको एउटा पद खोस्ने रणनीति प्रचण्ड नेपाल समूहले बनाएको छ। तर, प्रधानमन्त्री ओली दुवै पदबाट टसमस हुने पक्षमा छैनन्। उनले बहुमतको निर्णय नमान्ने बताइरहेका छन्।