काठमाडौं । पाँचथरमा गाउँपालिका अध्यक्षले पत्रकारमाथि दुर्ववहार गरेको भन्दै नेपाल प्रेस युनियनले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । रिपोर्टिङको क्रममा अन्नपूर्ण पोष्ट दैनिकका पाँचथर संवाददाता भिम कुमार बाँस्कोटामाथि दुर्ववहार हुनु अशोभनीय भएको युनियनको ठम्याइ छ ।
महासचिव दिलीप पौडेलले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै नेपाल प्रेस युनियनका केन्द्रीय सदस्यसमेत रहेका पत्रकार बाँस्कोटालाई याङवरक गाउँपालिकाका अध्यक्ष भिमबहादुर थोड्या (सुवास) ले रिर्पोटिङको क्रममा दुर्व्यवहार गरेको घटनाप्रति नेपाल प्रेस युनियनको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
समाचार संकलनका लागि याङवरक गाउँपालिका पुगेका पत्रकार बाँस्कोटालाई अध्यक्ष योङ्याले आफ्नो कार्यकक्षमै दुर्व्यवहार गरेको र अध्यक्षले क्यामराबाट दृश्य कैद गर्न समेत अवरोध गर्दै दुर्व्यवहार गरेको पीडित पत्रकारले बताएका छन्।
विज्ञप्तिमा भनिएको छ, “सार्वजनिक पद धारण गरेका जनप्रतिनिधिले सञ्चारकर्ममा क्रियाशील पत्रकारमाथि गरिएको यो अशोभनीय व्यवहार खेदजनक छ । समाचारका विषयमा चित्त नबुझेको अवस्थामा कानुनी उपचारमा जान सकिने बाटो हुँदाहुँदै जनप्रतिनिधिले कानुन हातमा लिएर प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्दै दुर्व्यवहार गर्ने कार्यको नेपाल प्रेस युनियन घोर भर्त्सना गर्दछ ।“